बङ्गलादेशमा विपक्षी दलको पत्रिका बन्द

बङ्गलादेशमा विपक्षी दलको पत्रिका बन्द


बङ्गालदेशले प्रमुख प्रतिपक्षी दलको पत्रिका बन्द गरेको छ । बङ्गाली भाषामा छापिने ठूलो आकारको दैनिक दिनकल पत्रिकामाथि सरकारले निलम्बनको आदेश दिएपछि प्रकाशन बन्द भएको हो । सरकारको यो कदमबाट बङ्गालदेशमा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लागेको छ ।

प्रधानमन्त्री शेख हसिनाको सरकारले आलोचनालाई दबाउन गरेको उक्त निर्णयको विरोध भएको छ । अमेरिकालगायत पश्चिमा देशले सरकारी कदमप्रति चिन्ता व्यक्त गरेका छन् । तीन दशकभन्दा लामो समयदेखि बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) नजिक मानिने उक्त पत्रिका बन्द हुँदा सयौँ पत्रकार एवम् प्रेस कर्मचारी बेरोजगार भएका छन् ।

गत डिसेम्बर २६ मा ढाका जिल्ला अधिकारीले अखबार बन्द गर्न दिएको आदेशविरुद्ध उच्च अदालतका न्यायाधीश नेतृत्वको प्रेस काउन्सिलमा अपील गरिएपछि पत्रिका प्रकाशन जारी थियो । जिल्ला अधिकारीको आदेशलाई काउन्सिलले आइतबार अनुमोदन गरेपछि बाध्य भइ प्रकाशन बन्द गर्नुपरेको अखबारका प्रबन्ध सम्पादक शमसुर रहमान शिमुल विश्वासले बताएका एएफपीले जनाएको छ । पत्रिकाले देशको मुद्रण तथा प्रकाशन ऐन उल्लङ्घन गरेकाले पत्रिकाको प्रकाशन अनुमति खारेज गरिएको बङ्गलादेश प्रेस काउन्सिलले बताएको छ ।