नयाँ राष्ट्रपतिले गर्नैपर्ने कुरा
अस्वाभाविक झैँ लाग्ने कतिपय कुरामा राष्ट्रपतिले ‘नो’ भन्न सक्नुपर्छ । जतिसुकै गरेपनि राष्ट्रपति राजा हुन सम्भव छैन । खुकुलोसँग जनतासँग नजिक हुन दिएर राष्ट्रपतिलाई राजा बनाउने अभ्यासबाट सुरक्षा संयन्त्र पछि हट्नुपर्छ ।
✍ बबिता बस्नेत
राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो समय आफूले नगरेको र त्यस्तो हुनुमा आफ्नो कुनै हात नरहेको दुई वटा कुराले आलोचित हुनुभएको छ । एउटा राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई सम्बोधन गर्न संसद् भवन जाँदै गर्दा सर्वसाधारणले बाटोमा पाएको सास्तीलाई लिएर उहाँको आलोचना गरिएको छ भने अर्को, महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा गर्दा घण्टौँदेखि लागेको लाइनलाई तितरवितर बनाएकोमा उहाँप्रति आक्रोश पोखिएको छ । जबकि, यी दुवै काममा राष्ट्रपतिको हात भने हुँदैन, थिएन ।
राष्ट्रपतिको यात्रालाई लिएर सुरुदेखि नै विभिन्न आलोचना भएका हुन् । प्रमुख अतिथि रहेका कार्यक्रमहरूदेखि विभिन्न देशको राजकीय भ्रमणसम्ममा राष्ट्रपतिको ‘सवारी’का कारण जनताले पाएको दुःख-कष्ट विद्यादेवी भण्डारीको पालामा मात्रै नभएर डा. रामवरण यादवको पालामा पनि करिव उस्तै-उस्तै थियो । हामीले बिर्सिएको मात्रै हो तर सुरुदेखि नै सर्वसाधारणले बाटोमा दुःख झेल्दै आएका हुन् । डा. यादव राष्ट्रपति भएको बेला उहाँको ‘सवारी’का कारण आफ्नो प्लेन छुट्न लागेपछि उहाँका प्रेस सल्लाहकार राजेन्द्र दाहाललाई फोन गरेर मैले ‘बाटो रोकिएको एक घण्टा भन्दा बढी भयो, मेरो प्लेन त छुट्छ नै होला, सर्वसाधारणलाई धेरै दुःख भयो, सडकको आक्रोश सुनिसक्नु छैन, यो अति भयो, लौन… सुरक्षा संयन्त्रसँग संयोजन गरेर के-के गर्नुपर्छ- यो सास्तीबाट जनतालाई मुक्ति दिनुपऱ्यो’ भनेकी थिएँ । भैरहवा जाने प्लेन डिले भएकाले मेरो प्लेन छुटेन तर सडकमा दुःख पाएका मानिसको ‘फ्रष्ट्रेसन’ जसरी पोखिइरहेको थियो त्यो सुन्नै नसक्ने खालको थियो । त्यतिबेला अहिले जस्तो जसले जे बोले पनि रेकर्ड गरेर सामाजिक संजालमा हाल्ने चलन त्यति थिएन, त्यसैले त्यस्ता कुराहरू सकडमै सीमित भए । धेरैतिरबाट यस प्रकारका गुनासो आएपछि राष्ट्रपति हिँड्दा जाम कम गर्नको लागि सुरक्षा निकायहरूसँग पहल गरिएको थियो जस्तो लाग्छ । पछिल्लो समयमा सास्ती कम भएको थियो ।
त्यतिबेला ‘उपराष्ट्रपतिको सवारी’ भन्दै गौशालामा घण्टौँ रोकिएकाले घ्यार..घ्यार पारेर गाडी चलाउँदा गाडीको इन्जिनमा आगो लागेको मैले देखेकी छु । यो मामिलामा तात्कालिन उपराष्ट्रपति परमानन्द झाको पनि निकै आलोचना भएको थियो । उपराष्ट्रपति झाका कारण मानिसले पटक-पटक सडकमा धेरै सास्ती पाएका थिए, तर अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुनको बारेमा भने उहाँका कारण सर्वसाधारणले दुःख पाएको सुनिएको छैन । परमानन्द झा हिँड्दा किन सडक अवरुद्ध गरिन्थ्यो र नन्दकिशोर पुन हिँड्दा किन गरिएन ? यसमा सुरक्षा संयन्त्रको भूमिका छ कि स्वयं उपराष्ट्रपतिको ? यो विषयमा स्पष्ट हुन पाए समस्याको समाधान सहज हुन्छ । जनताका राष्ट्रपति/उपराष्ट्रपति सडकमा हिँड्दा या अकाशमा उड्दा सर्वसाधारणको यात्रा र नियमित काममा असर पर्नु हुँदैन । हामीकहाँ राष्ट्रपति अकाशमार्गबाट यात्रा गर्दा पनि एयरपोर्टमा सर्वसाधारणको यात्रा घण्टौँ रोकिने गरेको छ ।
राष्ट्रपतिको सुरक्षा ब्यवस्था नेपाली सेनाले गर्छ । राष्ट्रपति नेपाली सेनाका परमाधिपति पनि हुनुहुन्छ । आफ्ना परमाधिपतिको सुरक्षाप्रति नेपाली सेना र राष्ट्रप्रमुखको सुरक्षाप्रति नेपाल प्रहरी सचेत हुनु स्वभाविक हो । तर यो सचेततासँगै सुरक्षा संयन्त्र जनताप्रति संवेदनशील पनि हुन जरुरी छ । आफूले गरेको सुरक्षा ब्यवस्थाका कारण सर्वसाधारणलाई के असर पर्छ भन्ने कुरा सुरक्षा संयन्त्रले नबुझी आफ्नै नियममा सवारी चलाउँदा राष्ट्रपतिको छविमा ठुलो धक्का पुगेको छ भने सर्वसाधारणले नेपालमा जन्मिनुको सास्ती भोग्नु परेको छ । यसका कारण राष्ट्रपतिले गरेका राम्रा काम सबै छायामा परेका छन् । त्यसैले अब हुने राष्ट्रपतिले सबैभन्दा पहिला सुरक्षा संयन्त्रको बैठक गरेर आफू बाटोमा हिँड्दा या आकाशमा उड्दा अरुलाई दुःख नहुने उपायका बारेमा छलफल गरी निर्क्यौलमा पुग्नु राम्रो हुन्छ । सुरक्षा संयन्त्रले पनि ब्यवहारिक अभ्यासका लागि पहल गर्नुपर्छ । सुरक्षा प्रोटोकल निश्चय नै महत्वपूर्ण कुरा हो तर त्यो प्रोटोकलका कारण अरुले दुःख पाउन भने हुँदैन ।
कुनै कार्यक्रममा जाँदा कसैसँग बोल्नै नहुने, फोटो खिच्न खोज्दा परैबाट रोक्नुपर्ने आवश्यकता राष्ट्रपतिको सवालमा देखिँदैन । आज विद्या भण्डारी राष्ट्रपति हुनुहुन्छ अब केही दिनमै अर्को राष्ट्रपति आउँदै हुनुहुन्छ जो आएपनि जनतामाझबाटै आउने हो । प्रत्यक्ष निर्वाचनबाट नआएपनि निर्वाचित भएर आएकाहरूले चुन्ने हो । राजा र राष्ट्रपतिको सबैभन्दा ठुलो फरक भनेको राष्ट्रपति जोसुकै भएपनि कहिल्यै राजा बन्न सक्दैनन् तर समय परिस्थितिले राजालाई राष्ट्रपति बनाइदिन पनि सक्छ ।
केही दिनअघि राष्ट्रपतिको सवारीका कारण डाक्टर कुटिएको घटना बाहिर आयो, स्वभाविक रूपमा निकै विरोध पनि भयो । तर विगतमा बाटोमा हिँड्ने सर्वसाधारणहरू धेरै पटक धकेलिएका छन्, अपमान भोगेका छन् । सम्मानित ब्यक्तित्वका कारण कसैले पनि अपमानित हुनु सम्मानित ब्यक्तित्वको सम्मान घट्नु हो । जनस्तरबाट उक्त पद र ब्यक्ति अपमानित हुनु हो । त्यसैले नेपाली सेनाले आफ्ना परमाधिपतिको अपमान हुने काम गर्न हुँदैन । सुरक्षा संयन्त्रको उद्देश्य निश्चय नै अपमानित तुल्याऔँ भन्ने होइन तर यस्ता कार्यले सम्मानमा आँच आउछ, आएको छ । बिनागल्ती मान्छेका तथानाम गाली खाने अवस्थाबाट राष्ट्रपतिलाई मुक्त गर्नुपर्छ ।
हिजो राजा नेपाली सेनाका परमाधिपति हुनुहुन्थ्यो । राजालाई जसरी सुरक्षा घेरामा राखिन्थ्यो त्यसैगरी अहिले राष्ट्रपतिलाई राख्ने गरिएको छ । तर राष्ट्रपति र राजा पृष्ठभूमिदेखि निर्वाचित हुने प्रक्रिया हुँदै धेरै कुरामा फरक हुन् । राजाको हुर्काइ राजा नै हुनका लागि हुन्छ । राष्ट्रपति नै बन्छु भनेर कोही हुर्किएको हुँदैन । जनतामा भिजेर काम गर्दै जाँदा जनताकै माझबाट राष्ट्रपति हुने हो र फर्कने पनि जनतामाझ नै हो । खाने, बोल्ने, हिँड्नेदेखि अदवसम्मका आफ्नै तौरतरिकाहरू सबै राजाका उस्तै-उस्तै हुन्छन् । बाल्यकालदेखि नै वरिपरि सुरक्षा घेरामा हुर्किएकाले सुरक्षाको तामझाम राजाको सवालमा जति स्वभाविक लाग्छ राष्ट्रपतिको सवालमा लाग्दैन । जनतामाझबाट आएका जनताका सन्तानका लागि त्यति धेरै गरिरहनु पनि पर्दैन । कुनै कार्यक्रममा जाँदा कसैसँग बोल्नै नहुने, फोटो खिच्न खोज्दा परैबाट रोक्नुपर्ने आवश्यकता राष्ट्रपतिको सवालमा देखिँदैन । आज विद्या भण्डारी राष्ट्रपति हुनुहुन्छ अब केही दिनमै अर्को राष्ट्रपति आउँदै हुनुहुन्छ जो आएपनि जनतामाझबाटै आउने हो । प्रत्यक्ष निर्वाचनबाट नआएपनि निर्वाचित भएर आएकाहरूले चुन्ने हो । राजा र राष्ट्रपतिको सबैभन्दा ठुलो फरक भनेको राष्ट्रपति जोसुकै भएपनि कहिल्यै राजा बन्न सक्दैनन् तर समय परिस्थितिले राजालाई राष्ट्रपति बनाइदिन पनि सक्छ ।
राजा जन्मको आधारमा हुने र राष्ट्रपति मतको आधारमा हुने भएकाले पनि राष्ट्रपतिले आफूप्रति जनमत सकरात्मक बनाइ राख्नु आवश्यक हुन्छ । राजा र राष्ट्रपति दुवैको समानताचाहिँ के हो भने दुवै राष्ट्रप्रमुख हुन् । राष्ट्रप्रमुखको सुरक्षा सबैको चासोको विषय हो तर सुरक्षाका नाममा अहिले जसरी राष्ट्रपतिलाई राजालाई झैँ ब्यवहार गर्ने गरिएको छ त्यसबाट सर्वसाधारणमा चिडचिडाहट पैदा भएको छ । तथापि, यसप्रकारको तामझाम गर भनेर राष्ट्रपति स्वयम्ले अह्राएको नभइ सुरक्षा संयन्त्रको तजबिजमा यस्तो भइरहेको छ । छिन्नमस्तामा जुत्ता बोक्नेदेखि शितलनिवासमा कुर्सी हटाउनेसम्ममा सुरक्षा संयन्त्रकै हात छ । तर आलोचना भने राष्ट्रपतिले खानुपरेको छ । राष्ट्रपतिलाई राजालाई जस्तै ब्यवहार गरिदिँदाको परिणाम सुरक्षा संयन्त्रले नभएर राष्ट्रपतिले भोग्नु परिरहेको छ ।
जनतालाई दुःख हुने खालका ब्यवहारबाट टाढा रहेर सामान्य रूपले हिँड्दा वातावरण स्वतः सहज हुन्छ । हिजो चुनाव लडेका ब्यक्तिले आज राष्ट्रपतिको रूपमा सर्वसाधारणसँग देखभेट गर्दा, बोल्दा के बिग्रिन्छ ? भारतमा विगतमा चुनाव नलडेका नितान्त ब्यवसायिक ब्यक्ति अब्दुल कलामले सधैं सर्वसाधारणसँग नजिक भएर कार्यकाल बिताए । प्रतिभा पाटिलले कुनै कार्यक्रममा कसैसँग बोल्न खोज्दा त्यहाँका सुरक्षाकर्मीले रोकेको देखिएन । हामीकहाँ चाहिँ राष्ट्रपतिलाई अर्कै ग्रहबाट आएका झैँ किन गर्ने ? अस्वाभाविक झैँ लाग्ने कतिपय कुरामा राष्ट्रपतिले ‘नो’ भन्न सक्नुपर्छ । जतिसुकै गरेपनि राष्ट्रपति राजा हुन सम्भव छैन । खुकुलोसँग जनतासँग नजिक हुन दिएर राष्ट्रपतिलाई राजा बनाउने अभ्यासबाट सुरक्षा संयन्त्र पछि हट्नुपर्छ ।
प्रतिक्रिया