पौडेल नै राष्ट्रिय ‘सहमति’को उम्मेदवार

पौडेल नै राष्ट्रिय ‘सहमति’को उम्मेदवार


ठूला दलहरू ठूला नेताका परिवारले भरिएका दृष्टान्त हाम्रै वरपर छन् । आर्दशका कुरा गरेर नथाक्ने नेताहरूले पनि आफ्ना छोरा/छोरीलाई उत्तराधीकारीका रूपमा अघि सारिरहेका छन्, तर पौडेलले यसमा पनि लोभ देखाउनुभएन ।

✍ त्रिभुवनचन्द्र वाग्ले

देश अहिले राष्ट्रपति चुनावको तयारीमा छ । निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपतीय निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम तोकेकाले ठूला पार्टी र गठबन्धन नेता आफ्ना उम्मेदवार टुङ्गो लगाउन निरन्तर बैठकमा छन् । सामूहिक छलफलदेखि ‘वान टु वान’ वार्ता चलिरहेका छन् ।

एकातिर एमाले-माओवादी-राप्रपा-रास्वपा सत्ता गठबन्धन छ भने अर्कातिर गत निर्वाचनको काङ्ग्रेस-माओवादी-समाजवादीको गठबन्धन ब्युँत्याउने प्रयास पनि भइरहेको छ । पुस १० गतेको सहमतिअनुसार एमालेले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गरेकाले त्यसै दिनको सहमतिअनुसार एमालेको उम्मेदवारलाई माओवादीले राष्ट्रपतिमा स्वीकार गर्नुपर्ने एमालेको माग छ । तर, पुस २६ गते आफ्नो सरकारलाई काङ्ग्रेसले पनि विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले काङ्ग्रेसलाई राष्ट्रपति दिनुपर्ने आशय व्यक्त गर्नुभएको छ । तर, प्रष्टरूपमा निर्णय नगरेकाले यसबारे अझै केही अन्यौलहरू देखिन्छन् । जहाँ अन्यौल हुन्छ, त्यहाँ अनेकखाले सम्भावनाका टुसा उम्रिन्छन् । धमिलो पानीमा माछा मार्न सजिलो हुन्छ भनेझैं, अनेकथरी विचारधारा, शक्तिकेन्द्र र लबिइस्टहरूका समूह यस्तो बेला सक्रिय हुन्छन् ।

छिमेकी भारत र चीनका राजदूत तथा त्यसभन्दा माथिल्लो तहका व्यक्तिहरूले राजनीतिक भेटघाट बढाइरहेका छन् भने अमेरिकाबाट पनि पहिलेभन्दा निकै धेरै सङ्ख्यामा राजनीतिक भ्रमण भएका छन् । अखबारहरूमा प्रकाशित समाचारका अनुसार यी सबै भेटघाटमा भावि राष्ट्रपतिबारे चासो व्यक्त हुने गरेका छन् । केहीले त आफूहरूका लागि उपयुक्त हुने भनेर केही नाम राष्ट्रपतिका उम्मेद्वारका रूपमा दिएका भनेर चर्चा छ । साथै, ठूला दलबाट सम्भावित राष्ट्रपति भनेर चर्चामा रहेका नामहरूबारे सोधपुछ भएको पनि समाचार छ । यसका साथै भारतीय प्राध्यापक एसडी मुनीले केही नाम नै तोकेर राष्ट्रपतिका लागि उपयुक्त पात्रका रूपमा अघिसारेका समाचार आए । यसरी नाम तोक्नु कुटनीतिक तथा राजनीतिक मर्यादाका उपयुक्त हुँदैन, तर यो भारतको नभएर व्यक्तिको दृष्टिकोण हो ।

यस सन्दर्भमा उठाउनुपर्ने केही प्रश्न छन् । त्यसोभए राष्ट्रपतिमा सहमतिको उम्मेदवार को हो त ? नेपालमा सबैलाई मान्य हुने मानिस हामी आफैंले खोज्ने हो कि बाहिरियाले कसैलाई तोकिदिने हो ? यदि बाहिरियाले ताकिदिएकै व्यक्तिलाई राष्ट्रप्रमुख बनाउने हो भने हामीले किन निर्वाचनको नाटक गरिरहने ? सिधै उनीहरूलाई तोक्न लगाउँ । होइन भने, केही मापदण्डका आधारमा राष्ट्रिय सहमतिका लागि उपयुक्त व्यक्तिको खोजी गरौँ । हाल चर्चामा गरैराजनीतिक/गैरदलीय पृष्ठभूमिका व्यक्तिहरूका नाम आए पनि मुख्य दलका नेताहरूले यो सम्भावनालाई इन्कार गरिसकेकाले ती व्यक्तिबारे धेरै चर्चा गरिरहनुको अर्थ हुँदैन । किनभने, राष्ट्रपति निर्वाचनमा सङ्घ तथा प्रदेशका सांसदले मतदान गर्ने भएकाले सबै मतदाता दलीय ह्विपको नियन्त्रणमा छन् । यस्तोमा दलले नचाहेका व्यक्तिको कुनै सम्भावना रहँदैन ।

दलका नेताबाट उम्मेदवार बनाउने सन्दर्भमा केही मापदण्ड बनाउन सकिन्छ । सबभन्दा पहिलो मापदण्ड हो- लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता र धर्मरिनपेक्षता- जो यस संविधानका मुख्य चरित्र हुन्, यी प्रतिबद्धतालाई जसले राजनीतिलाई आदर्श बनायो, जीवनमा न सत्तासँग झुक्यो न पद र पैसामा चुक्यो त्यस्ता व्यक्तिलाई राष्ट्रिय सहमतिको उम्मेद्वार बनाउनुपर्छ । सत्ता र अन्य स्वार्थसिद्ध गर्न यी सिद्धान्तमा सम्झौता गर्नसक्ने व्यक्ति राष्ट्रप्रमुख हुन सक्दैन ।

नेपालका प्रजातन्त्रवादी र कम्युनिष्ट, सबैखाले दल र आमरूपमा नेपाली समाजले स्वीकार गरेको विचार भनेको लोकतन्त्र हो । यसका लागि नेपालमा धेरै आन्दोलन भए । पञ्चायतविरुद्ध ३० वर्ष आन्दोलन भयो । माओवादी आन्दोलन र राजा ज्ञानेन्द्रको कु (कदम)ले नेपालको लोकतन्त्र खतरामा पऱ्यो । ज्ञानेन्द्रको कदमविरुद्धको आन्दोलनमा माओवादी पनि मिसिएपछि लोकतान्त्रिक धु्रवीकरण हुनगई पुनः लोकतन्त्र कायम हुनपुग्यो । यी सबै आन्दोलनको नेतृत्व गरेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम राष्ट्रपतिको उम्मेदवारका रूपमा अग्रस्थान र चर्चामा आएको छ । पञ्चायतकालमा पटकटक गरी १४ वर्ष जेल जीवन बिताएका पौडेल राजाको कदमविरुद्धको आन्दोलनमा सडकमा लाठी खाएका नेता हुनुहुन्छ । केपी ओलीको अधिनायकवादी शासन सञ्चालनविरुद्ध खबरदारी गर्दै उनको स्वेच्छाचारिताको विरोधमा सडकमा उत्रिने पहिलो नेता पनि पौडेल नै हुनुहुन्छ । लोकतन्त्र र लोकतान्त्रिक समाजवादप्रति उहाँको निष्ठामा आजसम्म कसैले प्रश्न उठाउने ठाउँ पाएका छैनन् । यस्तो सत्य अगाडि पौडेल नै राष्ट्रिय सहमतिको विन्दु बन्नुभएको छ ।

दलभित्रका मानिसमा राष्ट्रिय सहमति बन्न सक्दैन भनियो भने दलीय व्यवस्था नै कमजोर हुन्छ । दलबाहिर सहमतिको पात्र खोज्नेहरूले जागिर खाएकाहरू कति निष्कलङ्क र प्रजातन्त्रप्रति कति प्रतिवद्ध छन् भनेर हेर्नुपर्छ । दलभित्रको व्यक्ति जो योगदान, आचरण, प्रतिवद्धताको राष्ट्रिय परीक्षामा उत्तीर्ण छ उसैलाई राष्ट्रिय सहमतिको उम्मेद्वार बनाउनु पर्छ । अनुहार र पात्रभन्दा पनि आदत र प्रवृत्ति हेरेर राष्ट्रिय सहमति खोज्नुपर्छ ।

नेता भनेका विदेशी र व्यापारीका खल्तीमा हुन्छन् भन्ने भाष्य समाजमा स्थापित भएको समयमा पौडेल यस्तो नेता हुन् जो समाजवाद, कृषि क्रान्ति र लोकतान्त्रिक जीवन पद्दतिको कुरा गर्नुहुन्छ । यसमा बहस गर्नुहुन्छ, पुस्तक लेख्नुहुन्छ । समाज विश्लेषक प्रा. कृष्ण खनालले पौडेललाई मायाले होइन पौडेलको क्षमता र योगदानको आधारमा काङ्ग्रेसका ‘एक्ला वैचारिक नेता’ भन्नुको अन्तर्यः समकालीन नेता तथा आमनेपालीले स्वीकार गर्नैपर्छ । लेखक तथा राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ‘पञ्चायतसँग नझुकेका, प्रलोभन तथा अवाञ्छित कमाइमा नचुकेका पौडेल’ जो भन्नुहुन्छ छ यसको सत्यापन नाप्ने साहस नेताहरूले गर्नुपर्छ ।

पौडेल केवल पञ्चायतविरुद्ध मात्रै लड्नुभएन, बहुदल र लोकतान्त्रिक कालमा सत्तामा रहँदा पनि उहाँले पदका लागि झुक्ने र पैसाका लागि चुक्ने काम गर्नुभएको छैन । नेपालको निकट इतिहासमा यति ठूल्ठूला भ्रष्टाचार, शासकीय शक्ति दुरूपयोगका काण्डहरू भए । ठूला-ठूला नेताहरू यसमा मुछिएका छन् तर, पौडेल निष्कलङ्क हुनुहुन्छ । शक्तिको टाढा रहेर जोगिनु र सत्तामा रहेर भ्रष्टाचार नगर्नु एकदमै फरक कुरा हुन् । सत्तामा नपुग्दा कसैले पनि भ्रष्टाचार गर्दैन । गर्न सक्दैन । तर सत्तामा रहेर पनि पौडेल आर्थिक अनुशासनको पालक मात्र होइन प्रवर्द्धक बन्नुभएको सादगी इतिहासको सम्मान गर्नेपर्छ । अन्यथा सदाचारको कठिन यात्रामा को हिँड्ने ? कसले कसलाई डोऱ्याउने ? पौडेललाई सम्मान गर्नु आगामी पुस्तालाई सदाचारको मार्गमा हिड्न प्रेरित गर्नु पनि हो ।

वि.सं.२०५२ पछि सांसदलाई भन्सार छुटमा गाडी किन्ने सुविधा दिइँदा त्यो सुविधा प्रयोग नगर्ने नेतामा पौडेल पर्नुहुन्छ । राज्यलाई आर्थिक भार पार्नेगरी औषधोपचारका नाममा करोडौँ बुझ्ने नेताको लस्करमा पौडेलको नाम पाउनु हुन्न । उहाँको स्वच्छ छविको यो अर्को उदाहरण हो ।

तर, राष्ट्रपति, प्रधानमन्त्रीको उम्मेदवारको कुरा चल्दा जनतामा लोकप्रिय पौडेलजस्ता नेताको नाम मिडिया तथा नेताहरूले कम प्राथमिकताका साथ लिने गरिएको देखिन्छ । यसका पछाडि विविध कारण होलान् । नेपालको ग्रामीण पहाडको मध्यमवर्गीय परिवारको छोरो भएका कारण पनि ‘एलिट वर्ग’ले उहाँलाई अस्वीकार गरेको हुनसक्छ । अथवा, विदेशी शक्ति केन्द्र र लबीको पछाडि नलागेकाले पनि उहाँलाई एक्लो देखिएको हुनसक्छ । तर, विवेकशील नेपाली जनताले उहाँबारे सत्य जाने, बुझेका छन् । पौडेलले न आजसम्म चुनावमा धाँधली, बुथ कब्जाजस्ता काम गर्नुभएको छ । न धन वा बाहुबलको प्रयोग गरेर चुनाव जित्ने नीति अख्तियार गर्नुभएको छ । गत निर्वाचनमा पौडेलका छोरा र छोरीलाई लमजुङ र कास्की जिल्ला कमिटीले प्रदेशसभा उम्मेदवारमा सिफारिस गरेका थिए तर, पौडेल आफैंले फोन गरेर उनीहरूको नाम हटाउन लगाएका समाचार स्थानीय अखबारहरूमा प्रकाशित थिए । झट्ट हेर्दा यी साना कुरा भए पनि यसले व्यक्तिको चरित्रलाई प्रदर्शन गर्छ । ठूला दलहरू ठूला नेताका परिवारले भरिएका दृष्टान्त हाम्रै वरपर छन् । आर्दशका कुरा गरेर नथाक्ने नेताहरूले पनि आफ्ना छोरा/छोरीलाई उत्तराधीकारीका रूपमा अघि सारिरहेका छन्, तर पौडेलले यसमा पनि लोभ देखाउनुभएन । सादगीपूर्ण जीवन र सदाचारलाई व्यवहार बनाएका नेता राष्ट्रप्रमुख हुनुपर्छ । सुशासनका लागि सदाचार अति आवश्यक छ । आफैं अनेकखाले भ्रष्टाचार, घोटाला र शक्तिको दुरूपयोगमा संलग्न व्यक्तिले सुशासन कसरी दिन सक्छ ? यसबारे पनि विचार गरौं । शिक्षा, स्वास्थ्य, व्यापार, सम्पत्ति शुद्धीकरणजस्ता माफियामा पौडेल कतै जोडिनु हुन्न । सादा जीवनका साधकलाई सम्मान गर्नुले सादगी जीवनलाई जनताले अनुमोदन गरेको ठहर्छ ।

लोकतन्त्रप्रतिको निष्ठा, लोकतान्त्रिक आन्दोलनहरूमा योगदान, स्वच्छ छवि, सुशासनप्रतिको प्रतिवद्धता, लोकतान्त्रिक समाजवादप्रतिको लगाव र नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राख्ने सवालमा पौडेल नै राष्ट्रिय सहमतिको केन्द्रविन्दु हुन सक्नुहुन्छ ।