नयाँ सत्ता समीकरणको ढोका खुलेको कांग्रेस प्रवक्ता महतको उद्घोष

नयाँ सत्ता समीकरणको ढोका खुलेको कांग्रेस प्रवक्ता महतको उद्घोष


नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. महतले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको बताए ।

‘सत्ता समीकरणको विषय अहिलेसम्म प्रवेश नगरे पनि राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको छ’, प्रवक्ता महतले भने, ‘अहिले नयाँ सत्ता समीकरणका बारेमा छलफल भएको छैन, तर, निश्चित लक्ष्यका साथ अघि बढ्नुपर्ने भएकाले सरकार सञ्चालनमा नयाँ समीकरण बन्नसक्छ, त्यस विषयमा विस्तृत छलफल हुन्छ ।’

आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार मनोनयन गरिएको र अन्य दलको पनि समर्थन आउने सम्भावना रहेको भन्दै उनले पौडेल राष्ट्रपति भएपछि संविधान र कानुनी शासनको संवर्द्धन हुने विश्वास व्यक्त गरे । उनले भने, ‘संवैधानिक व्यवस्थामाथि क्षति पुऱ्याउने काम हुन्छ कि भन्ने आशङ्का थियो, त्यो अब निवारण भएको छ । उहाँ (राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल) राष्ट्रपति भएर आएपछि संविधान र कानुनी शासनको पक्षमा प्रतिबद्ध रहनुहुनेछ ।’

यस्तै, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको रक्षा र विधिको शासन सुदृढ तुल्याउन पौडेलको उम्मेदवारी स्वाभाविक भएको उल्लेख गरे । संसदीय प्रणालीमा सरकार फेरबदल भइरहनु सामान्य कुरा हो भन्दै उनले राजनीतिक स्थिरता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेता कोइरालाले राष्ट्रपति निर्वाचनमा सङ्घमा बनेको नयाँ गठबन्धन अटोमेटिक रुपमा प्रदेशसम्म जाने विश्वास व्यक्त गरे ।