बुझ्यो झन् कठिन… गर्नुपर्ने कुरा धेरै छन्

बुझ्यो झन् कठिन… गर्नुपर्ने कुरा धेरै छन्


खाने, लाउने, घर-परिवार र कार्यालयमा आवश्यक कुराहरूसम्मका पसल डिजिटल, किन्ने र पैसा तिर्ने प्रक्रिया डिजिटल, मार्केटिङ डिजिटल, शिक्षा, स्वास्थ, सम्बन्ध, मित्रता, शत्रुता सबै कुरा प्रविधिमार्फत हुन थालेपछि सूचना-प्रविधिमा सोहीअनुरुपको ज्ञान, सीप, जानकारी, नीति र कानूनहरू पनि हुन जरुरी छ ।

✍ बबिता बस्नेत

आर्टिफिसियल इन्टेलिजेन्सले विश्वमा तहल्का मच्चाइरहेको बेला हामी मान्छेलाई कसरी नीति/कानूनले बाँध्ने भनेर नीति, तथा कानूनहरू निर्माण गरिरहेका छौँ । मान्छेको यही ‘माइण्ड’ हो जसले प्रविधिको माध्यमबाट विश्वलाई एउटा मोबाइल फोनमा कैद गर्न सफल भयो । मान्छेकै माइण्ड हो जसले आफैले सहज बनाएको विश्वलाई प्रविधिकै माध्यमबाट कसरी ध्वस्त बनाउन सकिन्छ भनेर काम गरिरहेको छ । सूचना प्रविधिले विश्वमा अनेकौँ अवसरसँगै चुनौतीहरू पनि त्यत्तिकै लिएर आइरहेको छ । विगतमा हामीले भौतिक रूपमा गर्दै आएका धेरै कुराहरू डिजिटल भए । हिजो ‘गुमार्ने, कालो बना बना…’ भन्दै तमसुक गरेर दिइने ऋणदेखि खर्च हुँदै आम्दानीसम्मको हिसाबकिताब अहिले डिजिटल रूपमा हुन थाल्यो । डिजिटल इकोनोमी विश्वब्यापी हुँदै गर्दा हामीकहाँ यसका पूर्वाधारदेखि अनुगमनसम्मका लागि धेरै कुरा गर्न बाँकी छन् । डिजिटल इकोनोमी प्रविधिकेन्द्रित अर्थब्यवस्था हो । प्रविधिको प्रयोग गरेर गरिने ब्यापार, ब्यवसाय हामीकहाँ बढिरहेको छ तर त्यसका लागि आवश्यक नीति, कानूनहरू छैनन् । यसका लागि चाहिने आधारभुत कुरा वेबसाइटको निर्माण, वेभ सर्भर मेन्टेनेन्स, डाटाबेसको ब्यवस्थापन, सुरक्षालगायतका कुराहरूको बारेमा जानकारी धेरै छैन ।

यही सन् २०२३ फ्रेब्रुअरीको तेश्रो हप्ता बंगलादेशको राजधानी ढाकामा बंगलादेश स्कुल अफ इन्टरनेट गभरनेन्सले आयोजना गरेको कार्यक्रममा इन्टरनेटको दुनियाँसँग सम्बन्धित धेरै कुरा सिक्ने अवसर मिल्यो । प्रविधिको क्षेत्रमा बंगलादेशले तीव्र गतिमा फड्को मारिरहेको रहेछ । प्रविधिका कारण महिलाहरूलाई पनि ब्यापार ब्यवसाय गर्न सहज भएको रहेछ । विमेन इन इ-कमर्स बंगलादेशका अनुसार ४ लाख महिला उद्यमीहरू अनलाइनमार्फत ब्यापार ब्यवसायमा संलग्न छन् र यो सङ्ख्या बढ्ने क्रममा छ । ब्यवसायका लागि फेसबुक प्रचारको प्रमुख माध्यम बनेको छ, ४ लाखमा ७० प्रतिशतले आफ्नो ब्यवसाय अघिबढाउन प्रचारका लागि फेसबुकको प्रयोग गर्ने गरिएको बताएका थिए । हामी भने ब्यापार/ब्यवसायभन्दा आफ्नो तस्बिर हालेरै दङ्ग परिरहेका छौँ । ‘यसो गरौँ न’ भनेर सिकाउने या जानकारी दिने कोही छैन, ब्यापार सुरु गरेर ठगीमा परियो या पारियो भने जाने ठाउँ र प्रयोग गर्ने कानून पनि छैन । अनलाइनमार्फत सामान बेच्ने र किन्ने दुवैलाई सम्बन्धित विषयमा जानकारीको अभाव छ, सिकाउने ठाउँ, समूह र मानिसहरूको सङ्ख्या पनि न्यून छ । सामान किन्ने, बेच्ने, पैसा तिर्ने सबै अनलाइनबाट हुने भएपनि यसका लागि नीति, कानून र योजनाहरू बन्न जरुरी छ । हामी कहाँ सूचना प्रविधिसँग सम्बन्धित मात्रै पनि धेरै नीति र कानूनहरू बनाउनुपर्नेछ । बंगलादेशमा आर्टिफिसियल इन्टेलिजेन्सदेखि सूचना सुरक्षासम्मका नीतिहरू बन्ने क्रममा रहेछन् । साइबर सुरक्षालाई लिएर पहिल्यै कानून बनिसकेको छ । पूर्व सञ्चारमन्त्री हसानुल हकका अनुसार साइबर सुरक्षालाई लिएर बंगलादेशका राजनीतिकर्मीहरू निकै सचेत छन् । साइबर अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि अहिलेको आवश्यकता हो ।

सरकारी नीतिका कारण विभिन्न क्षेत्रले कसरी फष्टाउन पाउँछन् र देशको आर्थिक उन्नति हुन्छ भन्ने उदाहरण बंगलादेशले स्थापित गर्दैछ । शिक्षा क्षेत्रमा निकै अगाडि बंगलादेशमा मेडिकल कलेज र फार्मेसीबाट ठुलो आम्दानी हुन्छ । नेपालमा गतिलो मेडिकल नीति नहुँदा विद्यार्थीमार्फत ठुलो धनराशि बंगलादेशलगायत अन्य मुलुकमा गइरहेको छ । औषधि कम्पनी, कपडा उद्योगहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो बर्चश्व बढाउँदैछन् । विश्वविद्ययालयहरू अध्यापन मात्रै गराउँदैनन् प्राज्ञिक उत्तरदायित्व (एकेडमिक रेस्पोन्सिबिलिटी) अन्तर्गत सामाजिक काममा पनि त्यतिकै संलग्न छन् । डेफोडिल इन्टरनेशनल युनिभर्सिटीका भाइस चान्सलर प्राध्यापक डा. एम लट्भर रहमानले आफूहरू प्राज्ञिक उत्तरदायित्वमा निकै अगाडि रहेको बताउँदै क्यान्सर रोगसँग लडिरहेका महिलाहरूको उपचारमा युनिभर्सिटीले सहयोग गरिरहेको बताएका थिए । हामीकहाँ शिक्षा क्षेत्रमा लगानी गर्नेहरूले ब्यापार गरिरहेका छन् तर सामाजिक उत्तरदायित्वतर्फ खासै मतलब छैन । नेपालमा शिक्षा र स्वास्थको ब्यापार मौलाए पनि प्राज्ञिक या सामाजिक उत्तरदायित्वको बारेमा भने न कुनै निश्चित नीति छ न त ब्यवहारमै देखिएको छ । यी सबै क्षेत्रमा प्रविधिको भूमिका ठुलो छ ।

साइबर अपराध बढ्दै जाँदा त्यसको निगरानीका लागि साइबर प्रहरीको आवश्यकता पर्छ । साइबर प्रहरीहरू प्राविधिक रूपमा सक्षम हुन जरुरी हुन्छ । शरीरको उचाई, चौडाइ नापेर मात्रै साइबर प्रहरी बन्न सकिँदैन । यसैगरी नेपाली सेना र सशस्त्र प्रहरीमा पनि प्रविधिमा दक्ष मानव श्रोतको आवश्यकता छ । राष्ट्रिय सुरक्षा र अखण्डताको अर्थ अब देशको सीमानामा सशस्त्र उपस्थिति मात्रै रहेन ।

सूचना प्रविधिले विश्वलाई धेरै कुरा दियो, दिइरहेको छ तर सँगसँगै चुर्नौतीहरू पनि त्यत्तिकै छन् । विगतमा ढाल, तरबारले लडिँदै आएको युद्ध, बन्दुक र अत्याधुनिक हतियार हुँदै अब साइबर युद्धसम्म आइपुगेको छ । विगतमा टोल-टोलमा ग्याङ फाइटहरू हुन्थे अहिले सामाजिक संजालमा समूह-समूह बनाएर सामूहिक र एकल लडाइँ हुन थालेका छन् । अहिले आफ्नै देशभित्र सीमित यस्ता साना, ठुला फाइटहरू भविष्यमा ठुला युद्धमा परिणत नहोलान् भन्न सक्ने अवस्था छैन । पहिलो र दोश्रो विश्वयुद्ध ‘इन पर्सन’ भएका थिए, अबका युद्धहरूमा साइबर सेना लड्ने छन् । प्रविधिले हामीलाई छोटो समयमा छुट्टै संसारमा पुऱ्याएको छ, पुऱ्याउँदैछ । साइबर अपराध बढ्दै जाँदा त्यसको निगरानीका लागि साइबर प्रहरीको आवश्यकता पर्छ । साइबर प्रहरीहरू प्राविधिक रूपमा सक्षम हुन जरुरी हुन्छ । शरीरको उचाई, चौडाइ नापेर मात्रै साइबर प्रहरी बन्न सकिँदैन । यसैगरी नेपाली सेना र सशस्त्र प्रहरीमा पनि प्रविधिमा दक्ष मानव श्रोतको आवश्यकता छ । राष्ट्रिय सुरक्षा र अखण्डताको अर्थ अब देशको सीमानामा सशस्त्र उपस्थिति मात्रै रहेन । सूचना प्रविधि मन्त्रालयको काम विगतमा भन्दा कैंयौँ गुणा फराकिलो बन्दैछ । अहिले ब्यक्ति ब्यक्तिमा साइबर हिंसा हुँदा पीडितलाई न्याय दिन नसकिरहेका बेला भोलि मुलुकको राष्ट्रिय सुरक्षामै आँच आउने खालको साइबर हमला भयो भने ‘इमरर्जेन्सी रेस्पोन्स’का लागि हामीसँग कुनै तयारी छैन । कुनै पनि प्रकारका साइबर जोखिमसँग सामना गर्नका लागि राज्यसँग नीति, कानून र कार्य योजनाहरू हुनुपर्छ ।

आर्टिफिसियल इन्टेलिजेन्सदेखि मेसिनले कसरी सूचना, तथ्याङ्क र तस्बिरहरू पढ्न सक्छ भन्ने मेसिन लर्निङ, डिजिटल इको सिस्टम हुँदै सूचना प्रविधि अडिट जान्नु र सिक्नुपर्ने कुराहरू धेरै छन् । खाने, लाउने, घर-परिवार र कार्यालयमा आवश्यक कुराहरूसम्मका पसल डिजिटल, किन्ने र पैसा तिर्ने प्रक्रिया डिजिटल, मार्केटिङ डिजिटल, शिक्षा, स्वास्थ, सम्बन्ध, मित्रता, शत्रुता सबै कुरा प्रविधिमार्फत हुन थालेपछि सूचना-प्रविधिमा सोहीअनुरुपको ज्ञान, सीप, जानकारी, नीति र कानूनहरू पनि हुन जरुरी छ । वडा तहबाटै इन्टरनेट साक्षरता शिक्षाका लागि सरकारले नीति बनाउनु पर्छ । बुझ्यो कठिन, झन् बुझ्यो झन् कठिन, इन्टरनेटको दुनियाँमा बुझ्नु र गर्नुपर्ने कुरा धेरै छन् ।