भागदौडमा च्यापिएर न्यूयोर्कमा दुई जनाको मृत्यु, आठ घाइते

भागदौडमा च्यापिएर न्यूयोर्कमा दुई जनाको मृत्यु, आठ घाइते


न्युयोर्कको रोचेस्टरमा एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ । सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो । सो भागदौडमा परेर अरु आठ जना घाइते भएका यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रहरीले आइतबार राति भागदौडमा परेका तीन जना महिला गम्भीर रुपमा घाइते भएको अवस्थामा उद्धार गरेको थियो । ती घाइतेमध्ये दुई जना महिलाको सोमबार अबेर राति मृत्यु भएको घोषणा गरिएको थियो । अर्का एकजना महिला गम्भीर अवस्थामा अस्पतालमा उपचाररत रहेको स्थानीय प्रहरीललाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

प्रहरीले थप आठ जना घाइते रहेका र उनीहरुलाई घटनास्थलबाटै अस्पताल लगिएको बताएको छ ।

कन्सर्ट हेरिरहेका मानिस कन्सर्ट सकिएपछि बाहिर निस्किने क्रममा भागदौड भएको थियो । गोली चल्न सक्ने भन्दै मानिसले हल्ला गरेपछि बन्दुकको डरले कन्सर्ट गर्नेहरू बाहिर निस्कने क्रममा आतङ्क मच्चिएको थियो ।

स्थानीय पुलिसले गोली चलाएको वा कसैलाई गोली हानेको वा छुरा प्रहार गरेको कुनै प्रमाण फेला नपरेको रोचेस्टर पुलिस विभागले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रहरीले गरेको अनुसन्धानमा गोली चल्नसक्ने भन्ने होहल्ला भएकाले मानिस भागाभाग गरेको हुनसक्ने र त्यहाँ गोली भने नचलेको पाइएको छ । कन्सर्ट भएको हलबाट निस्किने क्रममा सानो ढोकाका कारण मानिस च्यापिएर र पेलिएर घाइते भएका पाइएको प्रहरीले जनाएको छ ।