लिबियाबाट २.५ टन युरेनियम हराएको आईएईएद्वारा पुष्टि

लिबियाबाट २.५ टन युरेनियम हराएको आईएईएद्वारा पुष्टि


संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले लिबियाको एक स्थानबाट साढे दुई टन प्राकृतिक युरेनियम हराएको र यसले रेडियोलोजिसम्बन्धी खतरा निम्त्याउन सक्ने बताएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)का निरीक्षकहरूले भनेको छ, “पहिले उपलब्ध करिब २।५ टन प्राकृतिक युरेनियम भएको १० ड्रमहरू त्यहाँ भेटिएका छैनन् ।”

उक्त स्थलबाट आणविक पदार्थ हटाउने परिस्थिति स्पष्ट गर्न र उक्त सामग्रीको ‘हालको स्थान’ बारे अनुसन्धान गर्न पनि प्रतिवेदनमा भनिएको छ । आईएईएले यसको खोजीका लागि थप गतिविधिहरू सञ्चालन गर्नेछ ।

आईएईएले भनेको छ, “आणविक पदार्थको वर्तमान स्थानको बारेमा ज्ञान गुम्नुले ‘रेडियोलोजिकल’ जोखिमका साथै आणविक सुरक्षासम्बन्धी चिन्तापनि निम्त्याउन सक्छ ।”

प्रतिवेदनमा उक्त स्थानको पहिचान गरिएको छैन र लिबियाले किन उक्त सामग्री कब्जामा लिएको हो भन्ने बारे केही बताइएको छैन ।

लिबियाका पूर्व तानाशाह मोआमेर कद्दाफीको नेतृत्वमा सन् २००३ मा आणविक हतियार कार्यक्रम रद्द गरिएको थियो ।

तर सन् २०११ मा कद्दाफीको पतनपछि उत्तर अफ्रिकी देश सङ्कटमा फसेको छ र असङ्ख्य लडाकूहरूले विदेशी शक्तिहरूको समर्थनमा विरोधी गठबन्धन बनाएका छन् ।

लिबियाको पश्चिममा रहेको राजधानी त्रिपोलीमा नाम मात्रको अन्तरिम सरकार र पूर्वमा सैन्य शक्तिशाली खलिफा हफ्तारको समर्थनमा रहेको अर्को सरकारबीच विभाजित छ ।

सुरुमा सन् २०२२ का लागि स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय गरिएको थियो तर यस क्षेत्रको सुरक्षा अवस्थाका कारण स्थगित गर्नुपरेको आईएईएको प्रतिवेदनमा उल्लेख छ ।

दस्तावेजमा भनिएको छ,“आईएईएले व्यावसायिक उपग्रह र अन्य खुला स्रोतबाट प्रतीकात्मक जानकारीको माध्यमबाट स्थानको नियमित निगरानी गरेको थियो ।

यी तस्बिरहरूको विश्लेषण गरेर नै एजेन्सीले सुरक्षा जोखिम र व्यवस्थापकीय चुनौतीको बावजुद भौतिक निरीक्षण गर्ने निर्णय गरेको थियो ।