व्यवसायीद्वारा गोदावरी नगरपालिका घेराउ

व्यवसायीद्वारा गोदावरी नगरपालिका घेराउ


कैलालीको अत्तरिया बजारका व्यवसायीले गोदावरी नगरपालिका घेराउ गरेका छन् । अत्तरिया बजार क्षेत्रका व्यवसायीले पसलअगाडि निर्माण गरेका टिनका पाली नगरपालिकाले हटाउन थालेको भन्दै नगरपालिका घेराउ गरेका हुन् ।

शुक्रबार बिहान अत्तरिया चोकमा सडक क्षेत्रमा पर्ने पसलका पाली हटाउन नगरपालिकाले जेसीवी चलाउन सुरु गरेको थियो । व्यवसायीले भने नगरपालिकाले अन्य क्षेत्रको अतिक्रम नहटाएर बिनाकारण चोकमा रहेका व्यवसायीलाई दुःख दिन थालेको भन्दै अवरोध गरेका थिए ।

व्यवसायी दुर्गा कडायतले पसलअगाडि पाली नबनाएर वर्षातको पानी पसलभित्र जाने गरेको बताइन् । उनले नगरपालिकाले खोलानालाको अतिक्रमण नहटाउने तर, व्यवसायीले पसलअगाडि निर्माण गरेका पाली मात्रै हटाउने कार्य गलत भएको बताइन् । व्यवसायीले तत्काल पाली नहटाइदिन माग गरेका छन् ।

यता, नगरपालिकाले भने सडक अतिक्रमण हटाउने काम नरोकिने बताएको छ । नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले कार्यपालिकाबाट निर्णय गरेर सडक किनाराका अतिक्रमण हटाउने निणय भएको बताए ।

उनले सातदिने सूचना जारी गरिएपनि अतिक्रमण हटाउन अटेर गरिएपछि नगरपालिकाले जेसीवी चलाउन बाध्य भएको बताए । यसअघि अतिक्रमण हटाइएका ठाउँमा पुनः अतिक्रमण हुन थालेको प्रवक्ता भट्टले बताएका छन् ।