केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ भने कोशी र बागमती प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज (३ कात्तिक) दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीलगायत पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।