राजा त्रिभुवनको शव र ‘काट्टो’ खाने चलन

राजा त्रिभुवनको शव र ‘काट्टो’ खाने चलन


राजाको काट्टो खाने प्रचलन कहिलेबाट भयो भन्ने कुनै जानकारी नभए पनि पृथ्वीनारायण शाहको काट्टो भने खनाल थरका नेपाली ब्राम्हणले खाएका थिए भन्ने लिखौट भेटिएको छ । पछि कुन समयदेखि काशीका भट्टलाई ल्याइयो कुनै उल्लेख भेटिँदैन । तर राजा त्रिभुवनको काट्टो भने काशीबाट ल्याइएका श्रीकृष्ण भट्टलाई खुलाइयो ।
इतिहास
✍ सुनिल उलक

६८ वर्षअगाडि २०११ सालको चैत्र ४ गते दिउँसोको १२ बजेर २५ मिनेट भएको थियो, गौचरमा भारतीय वायु सेवाको जहाज आइपुग्यो । चारैतिर रुवावासी र कोलाहलको आवाज सुनिन थाल्यो । जहाजको इञ्जिनको आवाज बन्द पनि भइसकेको थिएन, सेनाको ४० तोपको सलामीको पहिलो तोप पड्कियो । जहाजको ठूलो ढोका खुल्नासाथ चाँदीको ठूलो पालकीमा राजाको शव बाहिर निकालियो । यो पालकी त्यही थियो, जसमा यिनै राजा बाल्यकालमा राजा हुँदा तथा शुभराज्याभिषेकमा बसेका थिए ।

मानिसहरूको रुवाइ टाढा-टाढासम्म सुनिन्थ्यो । महिलाहरू पनि ‘हाय जुजु !’ गर्दै रोइरहेका थिए । गौचरदेखि पशुपतिसम्म हजारौँ महिला पुरुष लामबद्ध आफ्नो प्रिय राजाको अन्तिम पटक दर्शन गर्न लालायित थिए । यो दुःखद घडीमा उपत्यकाका बिसौँ हजार जनता यहाँ आइपुगेका थिए । राजालाई विष्णुको अवतार मान्ने देशमा आफ्नो जीवनको बाजी थापेर देशमा राणाहरू एकतन्त्रिय शासन समाप्त पार्न सफल हुनुभएको हुँदा पनि यी राजा अझ बढी प्यारो भएका थिए ।

सबै नेपाली शोकमा डुबेका थिए । कतिपयले आफ्नो कपाल मुण्डन गरेका थिए । आफ्नो अभिभावकको मृत्युको शोकमा सबैको आँखामा आँसु थियो । छालाको जुत्ता कसैले पनि लगाएनन् । कतिपयले सेतो वस्त्र नै लगाएर बसे । तेह्र दिनसम्म नुन बारे । राजाप्रति सबैको गहन आस्था यही समय देखिएको थियो । यता युवराज महेन्द्र कालो चस्मामा चुपचाप देखिन्थे । उनको आँखामा आँसु कसैले पनि देखेनन् । केही समयमा नै उनलाई नयाँ राजा बनाइयो । उनि पारिवारिक कर्तव्य भन्दा पनि देशको कर्तव्यको लागि शोकमा डुब्न सक्दैनथे ।

शव पशुपतिनाथ मन्दिरको बागमतीको घाटमा पुऱ्याइयो । बागमती किनारको सबै सिँढी फूलका मालाले ढाकिएका थिए । बिस्तारै शवलाई बागमती किनारमा राखिएको साँपको आकृति कुँदिएको ढुङ्गाामा सुताइयो । खुट्टालाई बागमतीमा छुवाइयो, ता कि मृत आत्मा स्वर्ग पुगोस् । यसपछि ब्राम्हणले नाभीनिरको सानो टुक्रा मासु काटेर निकाल्यो । यही तौलबराबरको सुनको सिक्का तौलिएर मासुको टुक्रालाई बागमतीको बीचमा रहेको सानो ढिस्कोमा गाडियो । त्यसमाथि दियो बालियो, यसर्थ कि मृत आत्माले हेर्न सकुन् ।

त्यसपछि निधारको हड्डीको सानो दुई टुक्रा निकालियो । एक टुक्रालाई सुनको भाँडामा राखियो । यो हड्डीको टुक्रा बोकेर ब्राम्हण त्यहाँबाट रिडी जान हिँड्यो । ८ दिनको पैदल यात्रा हिँडेर गण्डकी नदीको बीचमा यो हड्ीलाई गाड्नुपर्नेछ । अर्को टुक्रा अर्को सुनको भाडामा राखियो र यसलाई अलग्गै राखियो । यसपछि यता ब्राम्हणबाट शव जलाउने कर्मकाण्ड गर्न थालियो ।

मुख्य ब्राम्हणको रूपमा काशीबाट ल्याइएका श्रीकृष्ण भट्ट नै प्रमुख ब्राम्हणको रूपमा थिए । विगत एघार दिनदेखि उनको विशेष सत्कार दरबारमा गरिएको थियो । राजाको पलङमा सुत्ने राजाको कपडा लगाउने राजालाई मनपर्ने खाना भान्सामा विशेष रूपले पाक्थ्यो । यो सबै श्रीकृष्ण ब्राम्हणको अहोभाग्य झैँ लाग्थ्यो । तर कमैलाई थाहा हुन्थ्यो कि उनको भोजनमा स्वर्गारोहण भएका राजाको जल्दै गरेको शवको निधारबाट निकालिएको सानो हड्डीको टुक्रालाई पिसेर मिसाइन्थ्यो !

यो कर्म राजाको स्वर्गारोहणपछि किन गर्नुपर्छ भन्ने कुनै शास्त्रमा उल्लेख गरेको भेटिँदैन, तर काट्टो खाने नाममा राजाको शवबाट निकालिएको हड्डीको थोरै धुलोलाई खानामा मिसाएर खुलाउने गर्दा मृत आत्माले दरबारमा दुःख दिँदैन भन्ने विश्वास थियो । यसरी मृतराजाले झैँ दरबारमा रहँदा मृतात्मा ब्राम्हणमा सर्ने र पुण्य प्राप्त हुने मान्यता थियो ।

तेह्र दिन बितेपछि काट्टो खाने ब्राम्हणलाई यथासक्य खुशी बनाएर २० हजार नगद तथा २ लाखको जिन्सी, दुईवटा हात्ती र एक सजाइएको घोडा उपहार दिएर बिदा गरियो । अन्तिम दिन ब्राम्हण राजाको पोशाक लगाएर हात्तीमा चढेर थानकोट कटाइएको थियो । यसरी राजाको ‘काट्टो’ खाने ब्राम्हणलाई राज्यबाट र जातबाट निकालिने गरिन्थ्यो । यस्ता ब्राम्हणले पछि कर्मकाण्ड गर्न पाउँदैनथे ।

हात्तीमा चढेर थानकोट जाने क्रममा बाटोभरि केटाकेटीहरू गिज्याउँथे । काट्टो खाने ब्राम्हण भनेर गिज्याएका थिए । साथै नेवाः बच्चाहरू ढुङ्गाले हान्ने पनि गर्दथे । विदेशी पत्रकारहरू पनि यो अनौठो प्रक्रिया हेरेर बसेका थिए ।

राजाको काट्टो खाने प्रचलन कहिलेबाट भयो भन्ने कुनै जानकारी नभए पनि पृथ्वीनारायण शाहको काट्टो भने खनाल थरका नेपाली ब्राम्हणले खाएका थिए भन्ने लिखौट भेटिएको छ । पछि कुन समयदेखि काशीका भट्टलाई ल्याइयो कुनै उल्लेख भेटिँदैन । तर राजा त्रिभुवनको काट्टो भने काशीबाट ल्याइएका श्रीकृष्ण भट्टलाई खुलाइयो । त्यसपछि राजा महेन्द्रको समयमा पनि काट्टो खाने ब्राम्हण काशीबाट नै ल्याइयो । राजा महेन्द्रको काट्टो श्रीगणेश भट्टलाई खुवाइएको थियो । तर राजा वीरेन्द्रको समयमा भने काठमाडौ गौशाला बस्ने दुर्गाप्रसाद सापकोटालाई र दीपेन्द्रको समय देवीप्रसाद आचार्यलाई काट्टो खुवाइयो । तर अब सायद ब्राम्हणले कहिल्यै राजाको काट्टो खानुपर्ने छैन !