राम्रा कुरा पनि छन्

राम्रा कुरा पनि छन्


माओवादी द्वन्द्वका बेला निकै ‘खतरा’को सूचीमा परेको जिल्ला दाङ अहिले कुनै बेला त्यति धेरै प्रभावित ठाउँ हो र ? झैं लाग्छ । दाङको सदरमुकाम घोराही शायद नेपालकै सबैभन्दा महँगो स्थान हो जहाँ हातले नापेर जग्गा बिक्री गरिन्छ । त्यसो त हातले नापेर जग्गाको किनबेच हुने ठाउँ धेरै छन्, धेरैजसो सदरमुकामहरूमा हातले नापेरै जग्गाको कारोबार गरिन्छ तर तुलनात्मक रूपमा घोराही, तुलसीपुर र आसपासको जग्गा निकै महँगो छ । महँगो घरजग्गालाई मात्र विकासको मापकका रूपमा अवश्य लिन सकिँदैन, महँगो जग्गासँगसँगै दाङको घोराहीमा धेरै कुरा छ जुन अरू जिल्लामा छैन । बाटोमा थुक्न नमिल्ने (मन नलाग्ने) गरी सफा घोराहीका घरहरूले जोकोहीको मन खिच्न सक्छन् । चटक्क बान्की मिलाएर बनाएका घरका बार्दली (बरण्डा) आकर्षणका केन्द्रबिन्दु नै हुन् भने पनि हुन्छ । घरैपिच्छे विभिन्न डिजाइनका बरण्डा हेरौँ-हेरौँ लाग्ने खालका छन् । घरवरिपरि मात्र नभएर बाटाहरूलाई पनि त्यत्तिकै सफा राखिएको छ, फोहोर कतै पनि देखिँदैन । विभिन्न नामका चोक र बाटाहरूका बीचमा झपक्क अशोकाका बोटहरू शोभायमान देखिन्छन् । फराकिला सफा बाटा र बीचबीचमा हरिया रूखहरू, थरीथरीका बरण्डासहितका घरहरू हेर्दा लाग्छ आखिर गरे के हुँदैन र ? धार्मिक पर्यटकीय सहर भएर पनि फोहोरको नालीमा डुबेकाले नाक थुन्दै हिँड्नुपर्ने जनकपुर र घोराहीबीच तुलनै गर्न सकिँदैन न त घोराहीबाट करिब साढे तीन घण्टाको मोटरबाटो दूरीमा रहेको नेपालगञ्जसँगै यसको तुलना गर्न मिल्छ । धुलोले भरिएको सहर नेपालगञ्ज नगरपालिकाले घोराहीबाट सहर सफा कसरी राख्ने भन्नेबारेमा जानकारी लिएर त्यसको अनुशरण गरे त्यहाँ निकै ठूलो परिवर्तन आउने थियो । वर्षौंअघि बनाइएका नेपालगञ्जका बाटाहरू भत्किएर धुलैधुलो हुँदा त्यहाँ कसैले वास्तै गरेको छैन, सहर र सडकको दुर्दशा भएको निकै भयो तर कुनै राजनीतिकर्मीको ध्यान तिनको पुनर्निर्माणतर्फ लागेको देखिँदैन । तर, घोराहीको अवस्था फरक छ, सो नगरपालिकामा बस्ने स्थानीय जनता आफैं सचेत छन्, नगरपालिकाले पनि सोहीअनुरूपको काम गरेको छ । जिल्ला विकास समिति र नगरपालिकाका लागि आएको बजेट विकासमै खर्च गर्ने परिपाटी बसालिएको छ । तराई र कतिपय पहाडी जिल्लामा झैं स्थानीय राजनीतिक संयन्त्रका नाममा विकास बजेट राजनीतिक दलहरूले बाँडफाँड गरेर लिने चलन घोराहीमा छैन । फलतः यो नगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ ।
पहिला-पहिला दाङ आसपासका जिल्लाका बूढापाकाहरू दंगालीसँग सबै व्यवहार गर्नू छोरी नदिनू भन्ने गर्थे रे । बुहारीलाई बढी दुःख दिने गरेका कारण छोरीहरूले बुहार्तन खप्नु नपरोस् भनेर छोरी नदिनु भनिएको त्यो अवस्था अब दाङमा छैन । त्यसो त मानवीय प्रवृत्ति हो सबैले उस्तै व्यवहार गर्छन् भन्ने छैन तर दाङमा कामकाजी बुहारीको सङ्ख्या बढ्दो छ । सासूससुरा र घरपरिवारको प्रेरणाले काममा अघि बढिरहेको बताउने बुहारीहरू निर्धक्क घरबाहिर निस्किएर कामकाजमा छन् । विभिन्न सरकारी र गैरसरकारी तहमा काम गर्ने महिलाको सङ्ख्या बढिरहेको छ, एफएम तथा अन्य मिडियामा काम गर्ने महिला आफ्नै नाम र पहिचानका लागि अग्रसर भइरहेका छन् । जसमा छोरी र बुहारीको सङ्ख्या उस्तै-उस्तै छ । एकल महिलाका लागि रातो पहिरनका सवालमा पनि दाङको अग्रसरता उल्लेखनीय छ । द्वन्द्वका क्रममा पति मारिएपछि एक्लै भएका र अन्य विधवा महिलालाई रातो पहिरन लगाउनका लागि कतिपय सासूहरू स्वयम्ले यो जिल्लामा पहल गरेका थिए र अहिले पनि एकल महिलाको आत्मविश्वास जगाउने कार्यमा उनीहरू सक्रिय छन् ।
आसपासका सल्यान, प्युठान, रोल्पा, रुकुमलगायतका जिल्लामा दाङबाटै नुन-तेललगायत खाने र लाउने कुराहरू जाने हुँदा आर्थिक गतिविधिको केन्द्रबिन्दु पनि हो घोराही । लुगाकपडा, जुत्ता, खाद्यान्न, शृङ्गारका सामग्रीदेखि लिएर अन्य आवश्यक विभिन्न सामग्रीका पसल असाध्यै मजाले सजाएर राखिएका, सफा र एकपल्ट पसलभित्र छिरेर हेरिहालुँ न त भन्न मन लाग्ने प्रकारका देखिन्छन् । त्यहाँका पसलमा ६० हजारसम्मका सारी पाइन्छन् भनेको सुन्दा अचम्म लाग्यो । चुरापसले हुन् या कपडा, जुत्ता या औषधि व्यवसायी ग्राहकलाई हाँसेर गर्ने व्यवहार पनि अन्य स्थानका व्यापारी/व्यवसायीहरूले सिक्नैपर्ने खालका लाग्छन् । मिजासिलो व्यवहारसहित ग्राहकलाई फेरि पनि आउनुस् है भन्दै नमस्कार या धन्यवाद भनिँदोरहेछ । नत्र हामी कहाँ त (काठमाडौंमै र अन्य धेरैजसो स्थानमा) टन्न सामान किनेर आफैंले ‘धन्यवाद’ भनेर हिँड्नुपर्द, पसलेले ग्राहकलाई धन्यवादसम्म पनि भन्ने चलन छैन । होटलहरूमा सेवा पनि असाध्यै छिटो र व्यवहार पनि त्यत्तिकै राम्रो, पहिला भए उत्कृष्ट सेवाबापत गोरखा दक्षिण बाहु नै दिलाउन पाए हुन्थ्यो झैं लाग्ने । केही समय अगाडि विराटनगर जाँदा एउटा होटलको र्सर्भिसलाई लिएर विरक्त लागेको थियो । एक कप चियाका लागि करिब एक घण्टा लगाउने उक्त होटेलका कर्मचारीहरू देखेर अचम्म मात्रै लागेको थिएन यस्तो सेवाले यिनीहरूले के व्यवसाय चलाउलान् भनेर बाहिरी देशका होटल र तिनले ग्राहकलाई गर्ने व्यवहारको सम्झना पनि गराएको थियो । कतिपय ठाउँमा जाँदा चिया खानेसम्मको मुड पनि नबनिरहेको बेला खाजै खाइदिउन् न त झैं गरी होटलका मानिसहरूले गर्ने व्यवहार झल्भली सम्झिँदै हाम्रो मुलुकमा कहिले त्यस्तो होला जस्तो लागेको थियो । करिबकरिब त्यस्तै व्यवहार घोराहीका होटलमा पाउँदा हरेक कुरामा व्यावसायिकतातर्फ उन्मुख यो सहर अन्य सहरभन्दा धेरै कुरामा फरक छ भन्ने अनुभूति भयो । पहाडबाट झरेका हुन् या राजमार्गमा हिँड्दा-हिँड्दै खान पसेका या टाढाबाट आएका ग्राहकप्रतिको व्यवहार र सेवा अन्य जिल्लाहरूमा रहेका होटेलले अनुशरण गर्नुपर्ने प्रकारको छ ।
यी र यस्तै प्रकारका अनेक राम्रा कुरा हुँदाहुँदै पनि मान्छे बसेको ठाउँ हो, त्यहाँ पनि केही विकृति/विसङ्गतिहरू अवश्य छन् । मान्छे भन्ने जात नै यस्तो हो जसलाई एउटै परिभाषामा समेट्न सकिँदैन । फरक प्रवृत्ति र आचरणबीच मानिसहरू उस्तैउस्तै झैं देखिने कोसिसमा रहन्छन् । मान्छेको बसोबास भएको ठाउँ हुनाले त्यहाँ पनि बलात्कारका घटना प्रसस्तै हुने गर्छन्, चेलिबेटी बेचबिखन, घरेलु हिंसा, लागूऔषधको प्रयोग, विभिन्न आपराधिक घटनाहरू भइरहेका हुन्छन् र अन्य विभिन्न जिल्लामा झैं ती घटनामा राजनीतीकरण पनि त्यत्तिकै हुने गर्छ । यी तमाम कुराहरूका बाबजुद केही वर्षअघिसम्म सानो बजारका रूपमा रहेको र अहिले व्यवस्थित सहर बनेको घोराहीबाट अन्य नगरपालिकाहरूले सिक्नुपर्ने कुरा धेरै छन् । राम्रा कुराको सिको गर्न अप्ठ्यारो मान्नुपर्ने या हिच्किचाउनुपर्ने कारण हँुदैन ।