‘माओवादी केन्द्र पहिचानकै पक्षमा’ : कृष्णबहादुर महरा

‘माओवादी केन्द्र पहिचानकै पक्षमा’ : कृष्णबहादुर महरा


  • तस्बिर : रासस

नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं १ को नाम कोशी राखिएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बुधबार भएको पदाधिकारी बैठकले प्रदेश नं १ को नामकरण पहिचानबाटै राख्नुपर्ने निर्णय गरेको छ ।

प्रदेशसभामा कोशीको पक्षमा भोट हालेको माओवादीको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

कोशीमा माओवादीका १५ प्रदेशसभा सदस्य छन् । माओवादीबाटै एक जना सभामुख भएकाले बाँकी १४ जनाले कोशीको पक्षमा मतदान गरेका थिए । प्रवक्ता महराले भनेका छन्- ‘१ नम्बर प्रदेशको नामकरण कोशी भएको विषयमा उठिरहेको प्रश्नको बारेमा हाम्रो पार्टी धारणा के भन्ने पनि प्रश्न उठिरहेको पाइयो, त्यस विषयमा हाम्रो पार्टी स्पष्टरूपमा परिचानकै पक्षमा छ ।’

जातीय पहिचानसहितको प्रदेशको माग गर्दै पहिचान पक्षधर जातीय समूहले कोशी प्रदेशमा विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् । कोशी प्रदेश नामकरणको निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्वका जातीय समूह सङ्गठित भएर आन्दोलन गर्दै आएका हुन् ।