आजको पञ्चाङ्ग एवम् राशिफल (२८ चैत २०७९ मंगलबार, ११ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ चैत २०७९ मंगलबार, ११ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४नेपाल सं.११४३नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ चैत्र २८ गते तद्अनुसार सन् २०२३ अप्रिल ११ तारिख मंगलबार बैशाख कृष्ण पक्षको पञ्चमी तिथि ६ः४७ पर षष्ठी तिथि ज्येष्ठा नक्षत्र वरियान योग गर करण आनन्दादिमा मुद्गर योग चन्द्रमा वृश्चिक राशिमा १२ः३६ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ मा र सूर्यास्त साँझ १८ः२६ बजे हुनेछ ।

आजको राशिफल

मेष – दिन शुभदायी छ । धन आर्जनको अवसर मिल्ला । बोली र व्यवहारले अरुको मन जित्न सक्नुहुनेछ । तथापि, मनमा अनावश्यक रूपमा उत्पन्न भएका खराब विचारहरूले विचलित गराउन सक्ने योग पनि रहेकोले सचेत रहनु हितकर होला । साहसिक काममा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । व्यस्तता बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आजको दिन तपाईंको कामको उच्च मूल्याङ्कन हुनाले मन प्रफुल्लित रहला । कुनै विशेष खुशीको समाचार सुन्न पाइने योग छ । बोलीको कदर हुनेछ । रोकिएको काम बन्न सक्छ । प्रेमभाव वृद्धि हुने र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण र उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । पुराना इष्टमित्र एवम् प्रेमीप्रेमिकाको मिलन हुने सम्भावनाका साथै सहयोगीहरूले साथ दिनेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ । बिग्रिएका कामहरु बन्नेछन् । ऐश्वर्य बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – आज बोली र व्यवहारमा विशेष सचेतना अपनाउनु हितकर होला । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग भएकोले बोलीलाई नियन्त्रणमा राख्नुहोला । व्यापारमा आज थप लगानी नगरेकै राम्रो । यात्राको योजना छ भने स्थगित गर्नु हितकर हुनेछ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । यसका बाबजुद रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्ला ।

सिंह – पारिवारिक समस्या आइपर्न सक्ने समय छ । विश्वास गरेका व्यक्तिबाटै विश्वासघात हुन सक्छ, सावधान रहनुहोला । स्वास्थ्य सामान्य कमजोर हुने र चोटपटकको भय पनि छ । तथापि, साहस बढ्नेछ । यात्राको योग छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा भने सफलता मिल्नेछ ।

कन्या – सफलतादायी समय छ । पठनपाठनमा प्रगति हुने र नसोचेका कामहरु बन्ला । आत्मविश्वास बढ्नुका साथै शीघ्र निर्णय गर्ने क्षमता देखापर्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट सहयोग मिल्ला । धन आर्जन गर्ने मौका छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

तुला – पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । समय मनोरञ्जनपूर्ण रहला । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – शुभ काममा आकर्षण बढ्ने समय छ, तर सोचेअनुसार कर्म गर्ने सवालमा त्यति अनुकुल नरहन सक्छ । सानातिना काममा समय व्यतीत होला । महत्वपूर्ण कार्यमा बाधा–अडचन आउने योग छ । विवादमा फस्नुबाट बच्ने विशेष प्रयत्न गर्नु हितकर हुनेछ । तथापि, आत्मविश्वास कायम रहला । योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी बढ्नेछ । पारिवारिक सुख मिल्नेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मिठो भोजन मिल्ला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आयबल र आरोग्यबल बढ्नेछ । समय उत्साहप्रद देखिन्छ । व्यापारमा लाभ हुने समय छ । तपाईंको प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुचि बढ्ला । आयस्रोत बढ्ला । पारिवारिक सुख बढ्नेछ । सन्तानको सुख प्राप्त होला । मनोकूलको काममा सफलता मिल्नेछ ।

कुम्भ – कर्मबल बढ्ने समय छ । आजको दिन यात्राको योग छ, तर यात्रा फलदायी नरहला । आर्थिक विषयले चिन्ता जगाउन सक्छ । आलोचना गर्नेहरू सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आजको दिन त्यति शुभदायी नरहने देखिन्छ । आलस्यता जाग्ला । स्वास्थ्य पनि सबल नरहला । आफ्नै विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला । आफन्तको साथ कमै मिल्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ ।