फेरि पनि आशा-उमङ्गकै कामना !

फेरि पनि आशा-उमङ्गकै कामना !


निराशाजनक परिवेशका साथ फेरि पनि नवीन आशा राख्दै नयाँ वर्षलाई स्वागत गर्नुको विकल्प हामीसँग छैन !

हरेक नयाँ वर्षको आरम्भ आशा, उत्साह, उमङ्ग र केही नयाँ उपलब्धि हुने अपेक्षाका साथ भएको हुन्छ । यस्तै आशा बोकेर आएको थियो वि.सं. २०७९ पनि । तर, आरम्भको आशापेक्षामाथि तुषारापात गर्दै वर्ष ०७९ ले बिदा लिँदैछ ।

राम्रो या नराम्रो जुन रूपमा चित्रण गरिए पनि राम्रा/नराम्रा, हुनुपर्ने/नहुनुपर्ने या हर्ष र विष्मातका अनेकानेक घटना-परिघटनाको समष्टिरूप नै हो एउटा सिङ्गो वर्ष । अर्थात्, राम्रो र सुखद् मात्रै या नराम्रो र दुःखद् मात्रै सन्दर्भ बोकेर कुनै पनि वर्षको आगमन भएको हुँदैन । यसै अर्थमा लिन सकिन्छ बितेको वर्षलाई पनि । तर, राजनीतिक दृष्टिबाट मुलुक कति अगाडि बढ्यो, देशले सुशासन र समृद्धिको मार्ग कति छिचोल्योे त भन्ने कोणबाट हेरियो भने तुलनात्मक रूपमा बितेको वर्ष अत्यन्त निराशाजनक तवरमा गुज्रिएको छ, प्रकारान्तरले अझ उल्टो बाटो समातेको छ भनियो भने पनि अतिरञ्जना ठहरिने छैन ।

‘निरङ्कुश एकतन्त्रीय पञ्चायती व्यवस्था’ मिल्काएको पनि लगभग साढे तीन दशक पूरा भएको छ । तर, तीसवर्षे पञ्चायती शासनलाई बिदा गर्दैगर्दाको जनाकाङ्क्षा के थियो र त्यसको परिपूर्ति के-कति भयो ? आज पनि मुलुक कुनै अँध्यारो सुरुङभित्रबाट गुज्रिरहेको अनुभूति किन हुँदैछ ? मौलिक तौरतरिकाबाट अघि बढ्ने प्रयत्न पटक्कै नगरी बाह्यप्रभावमा अनेकानेक नाम-रूपका शासन-व्यवस्थाको प्रयोगथलो नेपाल किन बनिरहेको छ ? अनि, देशकै अस्तित्वको प्रश्नले सचेत तप्कामा अत्यासको हुण्डरी मच्चिनुपर्ने परिवेश कसको कारणले पैदा भएको छ ? यी र यस्ता सङ्गीन प्रश्नरूपी झापड यस वर्षले थप जोडपूर्वक लगाएको महसूस यतिबेला गरिँदै छ ।

वर्तमान प्रचण्डनेतृत्वको सरकारले आफ्नो चार महिना अवधि गुजार्दा पनि जनस्तरमा कुनै आशा जगाउन सकेको छैन । केवल सत्ता टिकाउने प्रपञ्च गरेरै पूरै ‘हनिमुन पिरियड’ सिध्याइएको छ । फगत सत्तामा टिक्ने/टिकाउने भद्दा प्रयास जारी नै छ र, सात पटक पुनर्गठन गर्दा पनि पूर्णता दिन नसकिएको मन्त्रिमण्डललाई पूर्णाकार दिनका लागि वैशाख १० मा हुने उपनिर्वाचन पर्खन प्रधानमन्त्री विवश छन् । दलिय गठबन्धनभित्रको मोलाहिजाका कारण सत्तालोलुप प्रचण्ड आफैं सकसमा छन्, थाहा छैन आठौँ पटकको बिस्तारले पनि मन्त्रिपरिषद्लाई पूर्णता प्रदान गर्न सक्ला-नसक्ला ! सत्ताको प्रमुख साझेदार नेपाली काङ्ग्रेसको आन्तरिक किचलो तथा गठबन्धनका स-साना दलको ठुल्ठूला ‘बार्गेनिङ’का कारण पछिल्लो गठबन्धन तथा प्रचण्ड सरकारकै निरन्तरतामा आशङ्का गर्न थालिएको छ । यसरी अनिश्चयको बन्दी बन्न पुगेको गठबन्धन सरकारबाट मुलुक र मुलुकवासीले सकारात्मक कार्यको के आश राख्ने ?!

सुशासनको आशा कायम राखी वर्ष गुजार्दै गर्दा विष्मयकारी सन्दर्भहरू उजागर हुँदैछन् । पुराना दल तथा नेताहरूको अकर्मण्यता, सत्तालिप्सा र स्वार्थमुखी राजनीतिमाथि औंला उठाउँदै ‘लोकप्रियतावाद’को सहारामा अत्यन्त संदिग्धरूपले रातारात उदाएको दलले समेत पुरानालाई पछि पार्ने गरी अभीष्ट उजागर गर्दैछ । सत्तामुखी चरित्रमा बढोत्तरी भएको तथ्य रास्वपा नामक दलका शीर्ष पात्रहरूको गतिविधिले दर्शाएको छ । ‘मलाई त्यही पद चाहिन्छ’ भन्दै कहिले बालकोट त कहिले बालुवाटारको दौड लगाउने प्रवृत्तिदेखि पदमा पुग्न अग्रिम घुस माग्ने पात्रसम्मका चर्तिकला उजागर भएको छ । मन्त्री पदको लागि दुई-अढाई करोड नजराना चढाउनुपर्ने ‘निर्देशन’का कारण भ्रष्टाचारविरोधि नारा दिँदै राजनीतिमा उदाएका ‘सफेदपोस’ युवाहरूको अनुहार उदाङ्गिँदै छ । दुई-चार हजार या लाख ठगेर जीवन धान्न पल्केकाहरूको कठालो समात्दै सर्वसाधारणको आँखामा ‘भगवान्’ बन्न पुगेकाहरू भित्रभित्रै कसरी करोड वा अर्बको बार्गेनिङ/ब्ल्याकमेलिङ गरेर राजनीतिरूपी धन्दा चम्काउँदैछन् भन्ने ताजा उदाहरण बन्न पुगेको छ चैतको अन्तिम साता प्रकटमा आएको रास्वपा सांसदको ‘दुई करोड’ प्रकरण ! सफाइको करोड प्रयत्न गरिएपनि नेतृत्वको वास्तविक चरित्रकै उपजको रूपमा उक्त प्रकरणलाई लिइएको छ ।

यसरी, ‘पुराना’लाई सत्तोश्राप गर्दै राजनीतिमा उदाएका ‘नयाँ’हरूले पनि कुन दशा र दिशामा देशलाई लैजाँदै छन्- प्रष्टिएको छ । लोकतन्त्र, गणतन्त्र र समाजवादको अलाप जति नै लगाएपनि शासन र शासकीय प्रवृत्ति कसरी पतनको बाटोमा छ भन्ने बुझ्नको लागि त महा-अपराधको अभियोग लागेर जेलको हावा खाइरहेका पात्रले जेल बसी-बसी पत्नीलाई मन्त्रीको ओहदामा पुऱ्याइदिएको सन्दर्भ नै काफी छ । बिम्बको रूपमा दर्शाउन सकिने यस्ता विकृत उदाहरण बग्रेल्ती छन् ।

बितेको वर्षमा अविश्वासको वातावरणबीच सहजरूपमा स्थानीय तहदेखि राष्ट्रपतिसम्मका सबै निर्वाचन सम्पन्न भइ मुलुक नयाँ कोर्षमा अघि बढेको र यो महत्वपूर्ण उपलब्धि भएको तर्क गरिएको छ । तर, गठबन्धन-संस्कृति र अस्थिरता निम्त्याउन सघाउने यस्ता चुनावको औचित्यमाथि नै प्रश्न खडा भएको अवस्था छ । दलहरूबीच आरोप-प्रत्यारोप, नारा-जुलुस र आन्दोलन-तोडफोड अनि संसद् अवरुद्ध हुने उपक्रम जारी नै रहने सङ्केत देखिँदैछ । यस्तै-यस्तै निराशाजनक परिवेशका साथ फेरि पनि नवीन आशा राख्दै नयाँ वर्षलाई स्वागत गर्नुको विकल्प हामीसँग छैन । नयाँ वर्ष २०८० शुभदायी र सुखद् रहोस् !