धर्म र अध्यात्म

धर्म र अध्यात्म


समाजमा जरो गाडेर बसेको अन्धविश्वासलाई हटाउन हातेमालो गर्नु जरुरी छ । नयाँ पुस्तालाई ज्ञान, विज्ञान, धर्मसंस्कृति र अध्यात्मलाई एकापसमा जोडी सार्थक जीवन जिउने कला सिकाउन आवश्यक छ । सबैमा आदर, सम्मान र प्रेमभावले अपनत्व जनाउँदै सद्ब्यवहार गर्न नयाँ पुस्तालाई हौसला दिनु आवश्यक छ ।
✍ सुन्दर शर्मा

जुनसुकै सम्प्रदायको किन नहोस्, ब्यक्ति कुनै न कुनै धर्मसँग जोडिएकै हुन्छ । धर्मकर्म, पुजाआजा र ध्यान–जप जस्ता कुराहरू एकापसमा जोडिएर आउने गर्छन् । यसै सिलसिलामा म केही कुरा थोरै केलाउन जाँदैछु । मेरो विचार सबैसँग नमिल्न पनि सक्छ ।

धर्म :

धर्म त्यही हो जसले तपाईं-हामीलाई सामाजिक बन्धनमा बाँधेर एकत्रित पार्दछ । खुशी र शान्तिको अनुभूति दिलाउँछ । धर्म भनेको यस लोक र परलोकको शान्तिका लागि सबैले प्रयोग गर्ने मार्ग हो । सबै धर्म आ-आफ्ना ठाउँमा समान र पुजनीय मानिन्छन् । धर्मको जरो सत्य हो । धार्मिक मानिस सत्यलाई परम धर्म सम्झन्छन् । घर बनाउनको लागि जति जगको आवश्यकता पर्दछ त्यति नै जीवनका लागि धर्मको आवश्यकता पर्दछ । हामी विभिन्न धार्मिक सम्प्रदायमार्फत राम, कृष्ण, बुद्ध, अल्लाह, परमेश्वर, शिव, दुर्गा आदि नाममा प्रार्थना गर्दछौँ । यही भावना र कार्यबाट मुक्ति प्राप्त हुने कुरा जुनसुकै धर्म अवलम्बन गर्नेहरूले पनि विश्वास गर्दछन् । यिनै स्वच्छ भावना र चाहनालाई केन्द्रित गरेर दिइएका महानवाणीहरूलाई नै हामी ईश्वर वचन भनी बुझ्दछौँ ।

ईश्वरको आकारप्रकारलाई लिएर विवाद गर्नु मुर्खता मात्र हो । ईश्वरको जुन स्वरुपलाई मान्न आफूलाई सजिलो हुन्छ त्यही स्वरुप मान्ने हो । किनकि ईश्वर एउटै हुन्, जुन रूपमा पुजे पनि हुन्छ । मान्ने वा पुज्ने तरिका भिन्न भए पनि ईश्वरभक्ति, सत्कर्म, सद्विचार, समभाव आदि कुरा असल हृदयदेखि आउनुपर्छ ।

ब्रह्माण्डको उत्पत्ति, मानव उत्पत्ति, सभ्यताको विकासक्रम, धार्मिक ग्रन्थ (वेद, पुराण) आदि कुराहरू धार्मिक मात्र नभएर वैज्ञानिक पनि हुन् भन्ने कुरा सिद्ध हुँदै गएको छ ।

नेपालीमा भगवान् अङ्ग्रेजीमा ‘गड’ शब्दलाई विश्वभरिका मानिसले पछ्याउँदै छन् । अमेरिकी पैसामा नै लेखिएको छ– ‘वि ट्रष्ट इन गड’ (हामी ईश्वरमा विश्वास गर्छौं) । त्यहाँ पनि राष्ट्रप्रमुखले ईश्वरको नाममा सपथ लिन्छन् । कट्टर इस्लामिक मुलुकहरूले पनि कुरानलाई साक्षी राखी ‘आई स्वेर बाइ अल्लाह’ भन्दै ईश्वर पुकार्छन् । विश्वमा यति धेरै मन्दिर, मस्जिद, चर्च, गुम्बा निर्माण भएका छन् । यी सबै धर्मका अनुयायीहरू ईश्वर आत्मासँग सम्बन्धित भएकाले जुनसुकै धर्मावलम्बीले ईश्वर पुकार्दा आत्मैबाट शान्तिको अनुभुति गर्छन् ।

ईश्वरको अस्तित्व धर्मसँग जोडिएको हुन्छ । हाम्रो समाजमा पनि केही निर्णय लिनुपर्दा वा केही नयाँ कार्यको थालनी गर्दा ईश्वर पुकारिन्छ । समाजमा न्याय–अन्याय छुट्याउनु पर्दा ‘ईश्वर पनि छन् भनी ख्याल राख्नु है, एकदिन मर्नुपर्छ’ भन्ने गरिन्छ । यसको मतलब ‘अनैतिक काम नगर, ईश्वरले दण्ड दिन्छन्’ भनेको हो ।

सत्य र धर्म एकापसमा जोडिएर आउँछन् । जुनसुकै धार्मिक सम्प्रदायका मानिस हुन् यदि उनिहरू इमान्दार र सत्यवादी छन् भने कहिल्यै पनि धर्मसँग टाढिनु पर्दैन ।

प्राचीन सभ्यतामा धर्मलाई नै कानुनको रूपमा स्विकारिन्थ्यो । कसैलाई राम्रो गर्नु धर्म हुन्थ्यो भने नराम्रो गर्नु अधर्म । कसैलाई न्याय दिनु धर्म हुन्थ्यो भने अन्याय गर्नु अधर्म ।

जतिबेला संसारमा कानुन बनेकै थिएन, मानिसहरू धर्ममा आवद्ध भएर त्यसैलाई कानुन मान्थे । जुन कर्म गर्दा पनि पाप र पुण्यको ख्याल गरिन्थ्यो । धर्म विभिन्न हुन सक्छन् । ती धर्मअनुसारका देवीदेवता पनि फरक-फरक छन् । जस्तै हिन्दू धर्मका देवतालाई प्रसाद, धुप-दीपद्वारा पूजा गरिन्छ । इसाइ धर्मका ईश्वर जिसस क्राइष्टलाई बाइबल पढ्दै प्रार्थना गरिन्छ । इस्लामअन्तर्गत पैगम्बर मोहमदलाई ईश्वर मानिन्छ भने कुरानअन्तर्गत नमाज पढ्दै प्रार्थना गरिन्छ ।

तपाईं जुनसुकै धर्म मान्नुस् । सबै धर्मले सत्कर्म सिकाउँछन् । सबैमा समभाव र अपनत्व जगाउन सिकाउँछन् । मात्र अनुशरण गर्ने प्रक्रिया र धार्मिक समुदाय फरक हो । उद्देश्य जुनसुकै धर्मको पनि उही हो- ईश्वर प्राप्ति र शान्ति ।

धर्मले चेतना बढाउँछ । ज्ञान र विवेक उजागर गर्न मद्दत गरि अन्धविश्वास हटाउँछ । धर्मले अन्धविश्वासलाई कहिले पनि बढावा दिँदैन । विभिन्न ढोँगी ब्यक्ति तथा समुदायले आफ्नो स्वार्थपूर्तिका लागि चलाएको अस्त्र मात्र हो अन्धविश्वास ।

अध्यात्म :

हामीले सर्सर्ती हेर्दा ध्यान कुनै शान्त प्राकृतिक वातावरणमा मनलाई एकत्रित पारेर गर्ने योग साधना हो । तर हिजोआज ध्यान अर्थात मेडिटेसन फेसन बनेको छ । यसको अर्थ र महत्त्व बुझेर हो वा नबुझी ठुलो जमात यसमा आवद्ध हुँदैछन् । मेडिटेसन स्वस्थ रहनको लागि जो–कोहीले पनि अपनाउन सक्छन् । तर अहिले धनीमानीहरूको मात्र अखडा बनेको छ ध्यानकेन्द्र ।

हाल यो ध्यान (मेडिटेसन)को गाम्भिर्यता र औचित्य हराउँदै गएको भान हुँदैछ । कुनै जङ्गल, नदीको किनार, हिमालको काख, शान्त वातावरण र परिवेशमा ध्यान गर्ने कुराको अब कल्पना पनि गर्न सकिँदैन । जब अध्यात्मवादलाई बजारमा बिक्रीमा राखिएको बस्तुको रूपमा बुझाइन्छ, घण्टाको हिसाबले त्यसको मूल्य तोकिन्छ र आममानिसको पहुँचभन्दा बाहिरको बनाइन्छ भने त्यहाँ ध्यान र साधनाको कुरै आउँदैन, मात्र व्यापार देखिन्छ । शक्ति र सत्ताको आडमा आध्यात्मिक क्रियाकलापको बेचबिखन गरिन्छ भने त्यो ध्यान साधना हुनै सक्दैन, त्यो त मात्र व्यापार हो ।

यो पङ्क्तिकारले कुनै समयमा माओको भनाइ पढेकी थिएँ- ‘पुँजीवादीहरूले भगवान्लाई पनि किन्न सक्छन् ।’ त्यसैले होला हिजोआज पुँजीपतिहरूले अध्यात्मवादलाई पनि किनिरहेका छन्, बेचिरहेका छन् ।

यो पङ्क्तिकारलाई अध्यात्मको बारेमा त्यति धेरै जानकारी त छैन । यति चाहिँ ठोकुवा गरेर भन्न सक्छु कि मानव सभ्यता र यसको विकास कैयौँ वर्षको सङ्घर्षको सीमा पार गरेर यहाँसम्म आइपुगेको हो । कसैले ध्यान गरेका कारण, कुनै गुरु महाराजले आशीर्वाद दिएका कारण, पुनर्जन्म वा पुजापाठ, दान दक्षिणाका कारण मानव सभ्यता यहाँसम्म आइपुगेको हुँदैहोइन ।

त्यसैले हामी ईश्वरको रूपमा पञ्चतत्व अर्थात् सुर्य (तेज), जल (पानी), पृथ्वी (जमिन), वायु (हावा), अग्नि (आगो) जस्ता प्राकृतिक तत्वलाई असली देवता मानेर पूजा गर्दा मात्र मानव सभ्यताको अस्तित्व रहिरहने छ ।

हिजोआज काठमाडौंमा रहेको ओशो तपोवन धनीमानी, भ्रष्टाचारी, घुसखोरी, हत्यारा आममानिसको नजरमा गिरेका तुच्छ नेता आदिले खचाखच भरिएको देखिन्छ । अध्यात्मको कुनै प्यास नै नभएका यस्ता व्यक्तिहरू अध्यात्मको खोजीमा तपोवन पुगेका होलान् कि मनोरञ्जनको लागि मात्र ?

ओशोले राजनीतिकर्मीलाई पटक्कै मनपराउँदैनथे । उनै ओशोका अनुयायीको ट्याग भिर्न सफल ब्यक्ति जो तपोवनका सञ्चालक छन्- उनको सङ्गत सबैभन्दा धेरै राजनीतिकर्मीसँग छ । जङ्गल विनाश गरेर बनाइएको तपोवनमा तिनै ठुलाबडाका लागि सुविधासम्पन्न स्टार होटेलका जस्ता लक्जरी रुम निर्माण गरिएको छ । अध्यात्ममा लाग्न चाहनेको लागि किन त्यस्ता सुविधायुक्त रुम चाहियो ?

अध्यात्मले त सामान्य जीवन जिउन सिकाउँछ । अध्यात्मले मानिसलाई सद्भाव र समभावमा बाँच्न सिकाउँछ । जीवनको लक्ष्य र उपादेयता नबुझेर दिशाविहीन भइ अल्मलिएका मानिसलाई चेतना, विवेक र बुद्धिको आलोकद्वारा जीवन जिउने सही कला सिकाउँछ ।

ओशोले आफ्नो कैयौँ प्रवचनमा मानिसलाई स्वाभाविक रूपमा बाँच्न प्रेरित गरेका छन् । तर हाम्रो ओशो तपोवन धनीलाई मनोरञ्जन दिने नाट्यशाला बनिरहेको छ । यसो विचार गर्दा ‘मेडिटेसन इज नट नेसेसरी, मेडिटेसन इज लक्जरी’ जस्तो भान हुन्छ । अध्यात्ममा कुनै चाख नै नभएका ब्यक्तिहरू पनि केहीबेरको रमाइलोको लागि तपोवन धाउन थालेका छन् ।

हिजोआज ‘आर्ट अफ लिभिङ’को चर्चा यत्रतत्र सर्वत्र सुन्न पाइन्छ । ‘आर्ट अफ लिभिङ’सम्बन्धी कैयौँ पुस्तक लेखिएका छन् । यस्ता पुस्तक पढ्ने पाठक पनि दिन–प्रतिदिन बढिरहेका छन् । ओशो, विवेकानन्द, परमहंस योगानन्द, रविशङ्कर, सद्गुरु आदि सबै आध्यात्मिक गुरुहरूले आर्ट अफ लिभिङकै विविध विधामा धाराप्रबवहमा बोलिरहेको देखिन्छ । आजकल नेपालमा हिन्दू धर्मका नाममा विभिन्न रूप र आवरणमा गुरु महात्मा, सन्त, तपस्वी आदि उपनाम धारणा गरेका ब्यक्तिहरूको अध्यात्मवादका नाममा व्यापार फस्टाउँदै गएको छ । यी महाशयहरूले विभिन्न रूपमा, विभिन्न शीर्षकमा अध्यात्मकताको नाटक मञ्चन गरेको आभास हुन्छ ।

आज म एक चिरपरिचित सद्गुरु (जगदीश बासुदेव) को प्रसङ्ग उठाउँदैछु । भारतको मैसुरमा जन्मेका सद्गुरुलाई म विगत पाँच वर्षदेखि जान्दछु । एक आध्यात्मिक पथप्रदर्शकका रूपमा उनले चलाएका माटो जोगाउ, बोटबिरुवा बचाउ भन्ने अभियान र सेवाकार्य, प्रवचन मलाई निकै मनपर्छ । उनको प्रवचन शास्त्रीय आधारित नभएर आफ्नै तर्क र विचारमा आधारित हुन्छ । सद्गुरुको प्रवचनमा जीवन बाँच्न चाहने कलालाई विभिन्न घटना र उदाहरणसहित सरल भाषामा प्रस्तुत गरिएको हुन्छ । त्यसैले पछिल्लो समय नयाँ पुस्तामा यी गुरुप्रतिको आम रुचि बढिरहेको छ ।

एक महिनाअघि सद्गुरुले काठमाडौंको वसुन्धरामा ‘लिङ्ग भैरवी’ नामक देवीको स्थापना गरे भन्ने सुनेपछि उनीप्रतिको मेरो पोजेटिभ धारणा फेरिएको छ । यस्तो नामकी देवी हाम्रो धर्मशास्त्रमा कहीँकतै पढिएको थिएन र, सुनिएको पनि थिएन । हिन्दू धर्ममा तीन देवी छन् भन्ने कुरा जगत्लाई थाहा छ । फेरि यी लिङ्ग भैरवी भन्ने देवी कहाँबाट आइन् ? आश्चर्यको कुरा के भने, कुनै ब्यक्तिविशेषले कल्पना गर्दैमा नयाँ-नयाँ देवी-देवताको आविष्कार गर्न मिल्छ ? यी र यस्ता कार्यले त समाजमा अन्धविश्वास, रुढीवाद र अज्ञानतालाई मात्र बल पुऱ्याउँछ । त्यसैले यस्ता कुराको पछि लाग्नु मुर्खता हो भन्छु म ।

अन्तमा, यो समयमा हामी सबै मिलेर समाजमा जरो गाडेर बसेको अन्धविश्वासलाई हटाउन हातेमालो गर्नु जरुरी छ । नयाँ पुस्तालाई ज्ञान, विज्ञान, धर्मसंस्कृति र अध्यात्मलाई एकापसमा जोडी सार्थक जीवन जिउने कला सिकाउन आवश्यक छ । सबैमा आदर, सम्मान र प्रेमभावले अपनत्व जनाउँदै सद्ब्यवहार गर्न नयाँ पुस्तालाई हौसला दिनु आवश्यक छ । नयाँ वर्ष शुभ रहोस् ।