हुण्डी व्यापारीसँग रकम ठगीको अभियोगमा अख्तियारले लियो एसपी पाण्डेको बयान

हुण्डी व्यापारीसँग रकम ठगीको अभियोगमा अख्तियारले लियो एसपी पाण्डेको बयान


नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेलाई अख्तियारले बयान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा रहँदा एसपी पाण्डेले हुण्डी व्यापारी उमेश साह, मुकेश गुप्ता, विकास गुप्ता, राजेश गुप्ता र विकास गुप्तासँग रकम लिएपछि पनि ६० लाख समाएर पाँच लाख मात्र राजस्वमा दाखिला गरेको आरोपमा बयान लिएको बुझिएको छ ।

एसपी पाण्डेलाई केही समयअघि बयान लिएर तारेखमा छाडिएको छ । उनलाई अख्तियारले १२ पाने सम्पति विवरण भनेर बुझाउन निर्देशन दिएको बुझिएको छ । पूर्वमहानिरीक्षक धीरजप्रताप सिंह मधेस प्रदेशको प्रमुख रहँदा पर्सा बसेका पाण्डेले सिंहलाई राम्रो नजराना बुझाएका कारण सिंह महानिरीक्षक बनेपछि कर्मचारी प्रशासन जस्तो मालदार ठाउँमा ल्याएका थिए । सरुवा बढुवामा चलखेल हुने भएकाले रकम असुल्न सक्ने व्यक्तिका रुपमा पाण्डेलाई कर्मचारी प्रशासनमा ल्याइएको थियो । सिंह अवकास जानुअघि गरिएको ठूलो मात्राको प्रहरी निरीक्षक सरुवामा व्यापक पैसा उठाएको चर्चा चलेको थियो । न्यूरोडका व्यापारी तत्कालिन महानिरीक्षकका विश्वास पात्र अमर किशोर सिंह र एसपी पाण्डेको चलखेलमा राम्रो पैसा लिएर सरुवा गरिएको बताइन्छ ।

यसरी पैसा बुझाएर मालदार ठाउँमा जाने प्रहरी निरीक्षकमा मनोज कुमार यादव पर्साबाट इलाका प्रहरी कार्यालय महोत्तरीको गौशाला पठाइएको छ । त्यसैगरी शंकर चौधरीलाई खोटाङबाट जिल्ला प्रहरी कार्यालय सप्तरीको मुद्दा फाँटमा राखिएको छ । उमाशंकर साह ताप्लेजुङबाट मधेस प्रदेशको घुमुवा, प्रकाश रेग्मी जनसेवाबाट इलाका प्रहरी कार्यालय रानी मोरङ, अरविन्द साह इलाका प्रहरी कार्यालय चपुरबाट विजयपुर रौतहट पठाइएको छ । एकै जिल्लाबाट एकै जिल्लामा सरुवा गर्न नपाइने नितीको ठाडो उलंघन गर्दै उनलाई पठाइएको छ ।

त्यसैगरी जितेन्द्र साहलाई मधेश प्रदेशबाट बाराको सिम्रौनगढ, शिवराम थापालाई कर्मचारी प्रशासनबाट इलाका प्रहरी कार्यालय हरिवन, चन्द्र अधिकारी कर्मचारी प्रशासनबाट इलाका प्रहरी कार्यालय करबोना सप्तरी, बिनोद बोहरा जिप्रका पर्सा मुद्दा शाखाबाट इलाका प्रहरी कार्यालय पर्वानिपुर बारा, ढुण्डी गिरी कोसी प्रदेशबाट रंगोली पुगेका छन् । यसरी मालदार ठाउँ पाएका सबै निरीक्षकले राम्रै माल खुवाएर गएको स्रोतको दाबी छ । पाण्डेलाई बढुवा नहुँदासम्म कर्मचारी प्रशासनमै राख्न पूर्व महानिरीक्षक धिरजप्रताप सिंह र पूर्व प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले दबाब दिएको समेत समाचार स्रोतको दाबी छ ।