नेपाल टेलिकममा संगीता पहाडीको पुनर्बहाली

नेपाल टेलिकममा संगीता पहाडीको पुनर्बहाली


नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालको पुनर्बहाली भएको छ । प्रबन्ध निर्देशक अर्यालमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्णरूपमा सफाई मिलेपश्चात नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार उनको निलम्बन फुकुवा भइ टेलिकममा पहाडीको पुनर्बहाली भएको नेपाल टेलिकमले जनाएको छ ।

पदबहाली कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले कम्पनीका कर्मचारीहरूलाई विशेष सम्बोधन गर्दै संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउन नपर्ने धारणा राखिन् । विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको उल्लेख गर्दै उनले आफ्नो अनुपस्थितिमा संस्थालाई कुशल नेतृत्व र सहयोग प्रदान गर्ने सम्पूर्ण टिमप्रति धन्यवाद दिइन् ।

सम्बोधनकै क्रममा उनले कम्पनीमा प्रक्रियागत सुधारको आवश्यकता औंल्याउँदै आगामी दिनमा आन्तरिक मात्र नभइ बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने अनि सत्यनिष्ठ भइ नेपाल टेलिकमको जनविश्वास र बजारको साखलाई अझ सुदृढ बनाइ कम्पनीको सेवालाई थप ग्राहकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

यसैक्रममा नेपाल टेलिकम आफ्ना ग्राहकवर्ग, सरोकारवाला तथा आम नागरिकप्रति गुणस्तरीय सेवा प्रवाह गर्न र कानुनी राज्यको मर्यादालाई आत्मसात गर्दै देशको दूरसञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सदैव प्रतिबद्ध रहेको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जनाएका छन् ।