नयाँ दशकको आरम्भमा…

नयाँ दशकको आरम्भमा…


राजनीतिक रूपले नेपाल थिल्थिलिएको अवस्थामा प्रधानमन्त्री प्रचण्डले गर्ने भारत भ्रमणको उपलब्धि के-कस्तो रहने भन्ने सवाल सचेत तहमा चर्चा र चासोको विषय बनेको छ ।

वि.सं. २०८० आरम्भ भएको छ र, नयाँ वर्षारम्भसँगै असीको नयाँ दशकसमेत सुरु भएको छ । बितेको दशक देशको समय मूलतः संविधान निर्माण एवम् त्यसलाई लागू गर्ने प्रयत्नमा गुज्रियो । स्थानीयदेखि सङ्घीय संसद्सम्मको विभिन्न तहका निर्वाचन सम्पन्न गर्ने कार्य पनि बितेकै दशकमा भए पनि समष्टिमा भन्नुपर्दा राजनीतिक रूपले दशक अवधि गञ्जागोलमै गुज्रिएको छ । राजनीतिक छिनाझपटी, दलीय जुट-फुट, गठबन्धन र भागबण्डाको पराकाष्टा, सरकार फेरबदल तथा अस्थिर शासन-व्यवस्थाको उत्कर्ष जारी नै छ । राजनीतिले नै कुनैपनि मुलुकका यावत क्षेत्रलाई व्यवस्थित तथा सञ्चालन गर्ने हुँदा स्पष्ट नै छ- अस्थिर एवम् अस्वस्थ राजनीतिका कारण देशको दशा झन् बिग्रिएको छ । बिग्रिएको परिवेशसहित नै नयाँ दशकको यात्रामा नेपाल प्रवेश गरेको छ र, नयाँ वर्ष या नयाँ दशकको शुरुवात पनि संयोगवश निर्वाचनकै चासो-चटारोसँगै हुन पुगेको छ ।

गत मङ्सिरमा भएको निर्वाचनले मुलुकलाई स्थिरताको दिशातर्फ लैजानुको साटो ठिक उल्टो बाटो घचेट्दै छ । अनेक अभीष्ट बोकेका दलहरूको उदयले एकछत्र दबदबा कायम गर्दै आएका ठूला भनिने केही दलको वर्चश्वमाथि धावा बोलेको अवस्था छ भने टापनटिपन बटुलेर सरकार निर्माण गर्नुपर्ने बाध्यताका कारण राजनीतिक स्थायित्व कल्पनाको विषयमात्र बन्न पुगेको छ । भ्रष्टाचारका नयाँ-नयाँ नमूना प्रकट हुनुका साथै ‘गठबन्धन संस्कृति’को विकृत अभ्यासले जरो गाडेको छ र पनि स्थिरता अनि सुशासनको भाषणबाजीमा राजनीतिजीवीहरू ‘अब्बल’ देखिएका छन् । नेपाल र नेपालीको सुखद् भविष्यको सवालमा यो परिवेश कुनै कोणबाट रत्तिभर पनि आशा जगाउने प्रकारको छैन । तथापि, नेपालीजनले सुख-समृद्धि र प्रगतिका शुभकामना आदानप्रदान गरेका छन् ।

निर्वाचनबाट जेनतेन तेस्रो स्थानमा खुम्चिएको माओवादी नामक दलका सुप्रिमोले घुर्की-धम्की र अनेक तिगडम प्रयोग गरेर प्रधानमन्त्रीको कुर्ची हत्याएका छन् । प्रचण्डनेतृत्वको सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्ण आकार लिन सकेको छैन । आठ पटक मन्त्रिमण्डल बिस्तार गर्दा पनि अझै पूर्णरूप दिन नसकेबाट नै प्रष्टिन्छ कि नेपाल कस्तो राजनीतिक दूर्दशाबाट गुज्रिरहेको छ ! यस्तो ‘ऐतिहासिक असफलता’का बाबजुद ‘मुलुकका लागि कहिल्यै कसैले गर्न नसकेको कार्य गरेर इतिहास रच्ने’ दाबी गर्दैगरेका प्रधानमन्त्री नेपालीले पाएका छन् । यो जस्तो विडम्बना अरु के हुन सक्छ ?

राजनीतिक विसङ्गति र सुशासनको अभावका कारण नगरीनहुने काम पनि उपेक्षामा परेका छन् । गर्नुपर्ने काम कति हो कति, वर्णन गरिसाध्य छैन । विगत १४ महिनादेखि सर्वोच्च न्यायालय कामु प्रधानन्यायाधीशको भरमा छ । न्यायक्षेत्रमा राजनीतिक हस्तक्षेप बढाइनु र सो निकायलाई अत्यन्त विभत्स ढङ्गले गिजोल्नुको परिणति आज न्यायपालिका ‘निकम्मा’ नै बन्न पुगेको छ । यतिबेला सर्वोच्च अदालतमा पाँच, उच्चमा बयालिस र जिल्ला अदालतमा चालिस न्यायाधीश रिक्त रहेको तथ्याङ्क छ । प्रधानन्यायाधीशको परिपूर्ति गर्नुपर्ने निकाय न्यायपरिषद्को फजिति छ । विपक्षी दल हाबी हुने त्रासमा प्रधानन्यायाधीशसमेत महिनौँदेखि सिफारिस नगरी सरकारले निर्लज्जता प्रदर्शन गरेको छ । प्रधानन्यायाधीशको रिक्तताले अन्य न्यायाधीशहरूको परिपूर्तिमा बाधा पुगेको छ । मुद्दाका चाङले न्यायालय थिचिँदा र, न्यायको पर्खाइमा लाखौँ जनता विरक्तिँदा पनि आँखा बन्द गरेर बस्न सक्ने सरकार सायद नेपालको इतिहासमै थिएन ! बेथितिको एक उदाहरण मात्र हो न्यायालयको सन्दर्भ, यस्ता ज्वलन्त समस्या कति छन् कति ।

यस्तोमा विदेश भ्रमणको एकसूत्रिय अभियानमा छन् प्रधानमन्त्री प्रचण्ड । दक्षिण छिमेकीको आशीर्वादबिना चल्न-चट्पटाउन नसकिने मनोविज्ञानबाट ग्रस्त प्रधानमन्त्रीले गत महिना चीनमा आयोजना भएको ‘बोआओ फोरम फर एसिया’ सम्मेलनलाई समेत तिरस्कार गरिदिए । ‘पहिलो विदेश भ्रमण भारतबाटै गरिनुपर्छ’ भन्ने मान्यतामा पछिल्लो चरणमा मानसिक तवरले अडिग रहँदै आएका प्रचण्डलाई चार महिना पुग्न लाग्दा पनि छिमेकी मित्रराष्ट्र भारतले भ्रमणको निम्तो नदिनु साँच्चै कौतुहलकै विषय पनि बनेको हो । यस्तैमा छिट्टै प्रधानमन्त्रीको भारत भ्रमण हुने गरी तयारी सुरु गरिएको प्रसङ्ग चर्चामा छ । आठौँ पटकको मन्त्रिमण्डल बिस्तारमा क्याबिनेट स्तरमा परराष्ट्रमन्त्रीको मात्र नियुक्ति गरिनुलाई यसैको एक पाटोको रूपमा लिन सकिन्छ । राजनीतिक रूपले नेपाल थिल्थिलिएको अवस्थामा प्रधानमन्त्री प्रचण्डले गर्ने भारत भ्रमणको उपलब्धि के-कस्तो रहने भन्ने सवाल सचेत तहमा बेग्लै चर्चा र चासोको विषय बनेको छ । जे भएपनि मुलुकको प्रगति र उन्नतिको मार्ग विगतमुखी भएर नभइ भविष्यमुखी भएर मात्र पहिल्याउन सम्भव छ भन्ने धारणालाई ठिकै मान्नुपर्छ । यसर्थ, नयाँ वर्ष र नयाँ दशकको प्रारम्भमा आदानप्रदान भएका शुभकामनाहरूले सकारात्मक परिणाम प्रदान गरुन्, यही छ कामना !