आजको पञ्चाङ्ग एवम् राशिफल (८ वैशाख २०८० शुक्रबार, २१ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ वैशाख २०८० शुक्रबार, २१ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०८० वैशाख ८ गते तद्अनुसार सन् २०२३ अप्रिल २१ तारिख शुक्रबार बैशाख शुक्ल पक्षको प्रतिपदा तिथि भरणी नक्षत्र प्रीति योग बालब करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा र सूर्यास्त साँझ १८ः३१ बजे हुनेछ । चन्द्रोदय, छन्ददिवस, ललितपुरमा मत्स्येन्द्रनाथ, रथारोहण ।

आजको राशिफल

मेष – आरोग्यबल बढ्नेछ र थप दायित्व प्राप्त गर्ने समय छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त होला । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । अन्य व्यवहार सामान्य रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – समय उत्तम छ । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रापरक काम बन्नेछ । परिवारिक सुख बढ्नेछ । उत्साह बढ्ने र आफन्तको साथ मिल्ने समय छ ।

मिथुन – आज अनावश्यक भ्रमण हुन सक्छ, सकभर त्यसलाई टार्नु हितकर होला । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – कर्मबल वृद्धि हुने समय भए पनि सामान्य उपलब्धिका लागि ज्यादा मिहेनत पर्ला । परिवारजनबाट टाढिनुपर्ने योग छ । आफ्नै कमजोरीले विवादमा परिएला । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छ, सचेत रहनुहोस् । खर्च बढे पनि उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पहिलेको सफलताले थप हौसला जगाउने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । तर, विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । सानातिना काम र घरेलु समस्या देखापर्न सक्छ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – दौडधुप वृद्धि हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मनोरञ्जनमा रुचि बढ्नेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । दाम्पत्य सुख वृद्धि हुनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आरोग्यबल बढ्नेछ । दीगो योजना प्रारम्भ हुन सक्छ । आम्दानी तथा आयआर्जनका स्रोत बढ्लान् । तथापि, अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्ने योग छ ।

धनु – सुझबुझको कमीले बन्न लागेको काम रोकिन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – व्यस्तता वृद्धि हुने र आरोग्यबल बढ्ने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । परिवारिक सुख बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – पराक्रम बढ्नेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्य भने कमजोर अनुभव हुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – धनबल वृद्धि हुने समय छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । समस्याको समाधान मिल्नेछ ।