प्राचिन कपिलवस्तुको विकास गुरुयोजना बनाएर गरिने

प्राचिन कपिलवस्तुको विकास गुरुयोजना बनाएर गरिने


  • नारद कोहार, कपिलवस्तु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गुरुयोजना बनाएर प्राचिन कपिलवस्तुको विकास गरिने बताएका छन् ।

बृहत्तर लुम्बिनी विकासअन्तर्गत बुद्धसँग सम्बन्धित स्थलहरुको एकीकृत विकास गरिने उनले बताए । २५६७औँ बुद्धजयन्तीका लागि लुम्बिनी आएका मन्त्री सुदनले प्राचिन कपिलवस्तुको निग्रोधराम कुदान, गोटहीवा र तिलौराकोटको अवलोन पछि सो कुरा बताएका हुन् ।

बुहत्तर लुम्बिनी विकासकालागि गुरु योजना निर्माण भइरहेको छ, अब बुद्ध स्थलहरुको चौतर्फी विकास हुन्छ’, उनले भने, ‘यसको विकास अब तीव्र गतिमा जान्छ ।’ सधै लुम्बिनीका कारण आझेलमा पर्ने गरेको प्राचिन कपिलवस्तुका बुद्ध स्थलहरुको विकासमा आफू लागिपरेको उनले बताए । आउने वर्षदेखि प्राचिन कपिलवस्तुमा भब्यरुपमा बुद्धजयन्ती मनाइने बताए। ‘ म भर्खर मन्त्री भएर आएको हो, यहाँको स्थिति र अवस्थाबारे बुझ्दैछु’ उनले भने । मन्त्री किरातीले अब बुद्धस्थलको विकासमा ढिलाइ गर्न नहुने बताए।

उनले तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउन मन्त्रालयले प्राथमिकतामा राखेको बताए । मन्त्री किरातीलाई लुम्बिनी विकास कोषका सूचना अधिकरी हरिद्धवज राई र ज्ञानीन राईले बुद्धस्थलको ऐतिहासिक पृष्ठभूमि, अवस्था, उत्खनन् आगामी योजनालगायतका विषयमा जानकारी गराएका थिए । राजकुमार सिद्धार्थ ज्ञान प्राप्त गरेपछि बैशालीबाट राजधानी प्राचीन कपिलवस्तु पहिलो पटक आएको स्थलकारुपमा निग्रोधरामलाई मानिन्छ।

यस्तै, चिनियाँ यात्री फायहन र ह्बेयसानका अनुसार बुद्धले ज्ञान प्राप्त गरेपछि यही ठाउँमा राजा शुद्धोधनलाई दर्शन दिइ यशोधरा, प्रजापति र राहुललगायत करिब ५ सयलाई बौद्ध संघमा सामेल गराइएको पुस्तकहरुमा उल्लेख गरेको पाइन्छ । यहाँ बुद्धकालीन सो विहारका भग्नाअवशेषहरु रहेका छन् । यसै स्थानमा गौतम बुद्धका छोरा राहुललाई पनि उनले भिक्षु बनाएका थिए ।

यो क्षेत्रलाई बुद्ध धर्मग्रन्थ अनुसार निग्रोधारामको नामले समेत चिनिएको छ। यसलाई राजा शुद्धोधनको न्यायालय पनि भन्ने गरिन्छ । २०औँ राज्यभिषेकका अवसरमा सम्राट अशोकले गाटीहवामा क्रकुछन्द बुद्धको जन्म स्थल भएका भन्दै स्तम्भ खडा गरेका थिए। १ हजार ७ सय ८० वर्षअघि गोटिहवा अस्तित्वमा थियो। तिलौराकोट राजा सुद्धोधनको राज प्रसाद तथा सिद्धार्थ गौतम बुद्धको क्रिडा स्थलकारुपमा रहेको छ । तिलौराकोट विश्व संपदा सुचीमा सुचीकृत गर्न प्रस्तावित स्थल हो।