एक विदेशी र उनको नेपाली आमा

एक विदेशी र उनको नेपाली आमा


इतिहास
✍ सुनिल उलक

२०३० सालको तिहारतिर अमेरिकाबाट पिसकोर भोलेन्टियरको रूपमा नेपाल आइपुगेका ब्राँटन कोबर्न स्याङ्जाको डाँडागाउँ कोल्मामा बस्नुपर्ने भयो । त्यहाँ उनले एउटी विधवी आमा विष्णुमाया गुरुङको घरमा कोठा लिए । आमाले पालिराखेको भैंसीगोठको माथिल्लो तलामा उनको कोठा थियो । नेपाल आएपछि नेपाल सरकारका तर्फबाट उनलाई नजिकैको हाइस्कुलमा विज्ञान विषय पढाउन लगाइएको थियो । आधा घण्टा टाढा रहेको स्कुलमा बिहान पढाउन जान्थे, साँझ फर्केन्थे । आमा विष्णुमायाले कोबर्नलाई आफ्नै छोरा झैँ माया गर्न थालेको थियो । छोरा नजन्माएकी आमाका लागि धर्मछोरा भेटेजस्तै भएको थियो ।

गाउँमा रहँदा कोबर्नले आमालाई निकै सघाउने गर्दथे । आमालाई पनि साँच्चै छोरा भेटेजस्तै हुन थालेको थियो । गाउँमा अरु बुढाबुढीले फोटो खिच्दा आयु घट्छ भन्दै फोटो खिच्न दिन्नथे । तर आमाले कोबर्नलाई जति फोटो खिच्न पनि छुट दिएका थिए । वि.सं. १९६० को नयाँ सालतिर आमा विष्णुमायाको जन्म स्याङ्जाकै सिम्लेमा भएको थियो ।

सिम्लेमा विष्णुमाया दिनभर घरको काम गर्दथिन । साँझ परेपछि गाउँका सबै बिहे नभएका केटाकेटी रोदीघरमा जम्मा हुन्थे र गाउन-नाच्न थाल्दथे । विष्णुमायाले पछि घाटु पनि नाच्न थालेकी थिइन् । गाउँमा बिस्तारै सबैको बिहे हँुदै गयो । विष्णुमायालाई गाउँका केटाहरूले गिज्याउन थाले । लाहुरे खोज्या होलान् देश-विदेश घुम्न पाइन्छ भनेर ।

एक दिन खेतमा काम गरिरहँदा साथीहरूले विष्णुमायालाई उनको बिहे हुन लागेको समाचार सुनाए । घरमा बाबाबाट थाहा नपाएको कुरा साथीहरूले सुनाउँदा उनलाई विश्वास नै लागेन । विष्णुमायाको आमाको बहिनी पाएको केही समयमा नै मृत्यु भएको थियो । १५ वर्ष पुगिसकेकी विष्णुमायालाई बिहे गर्ने रहर नै थिएन । साथीहरूले उनको बिहे भनेको दिन बिहानै उनी घरबाट सुटुक्क निस्केर मकैबारीमा दिनभर लुकेर बसिन् । यता केटा र उनको परिवार केटी लिन आएका थिए । गाउँभरि विष्णुमायालाई खोजे, कतै फेला नपरेपछि केटापक्षले रित्तो नफर्कने जिद्दी गर्न थाले । केटाहरूले विष्णुमायाको ७-८ वर्षकी बहिनी भए पनि लान्छु भन्न थाले । विष्णुमायाको बाबालाई अर्को सुर्ता थपियो । सानी छोरी सानै भएको हुँदा जिद्दी नगर्न अनुरोध गर्दा पनि मान्दै मानेनन् । यस्तैमा मकैबारीमा लुकेकी विष्णुमाया फेला परिन् । केटा पक्षले दुलही बनाएर लगे । बाटोभरि विष्णुमाया रोइरहिन् । त्यतिबेला डोली भनेको लामो बाँसमा दुईतर्फ बाँधिएको पछ्यौराभित्र गुटमुटिनु हुन्थ्यो । डोली बोक्ने जिम्मा गाउँकै तल्लो जातका दुई जनालाई दिइएको थियो ।

नयाँ घरमा नयाँ रहनसहनमा उनी रमाउन थालिन् । १८ वर्षको हुँदा श्रीमानसँग भारत गएका उनी कलकत्ता पुग्दा नराम्रोसँग विमार भइन् । फर्केर गाउँ आइ धामीझाँक्री देखाउन थालियो । सबैले विष्णुमाया अब बाँच्दिनन् भन्न थालिसकेका थिए । तर लामा झाँक्रीको उपचारले बाँचिन् । श्रीमान लालप्रसादसँगै उनी फेरि गोर्खा पल्टनतर्फ लागिन् । १४ वर्षसम्म श्रीमान् जहाँ-जहाँ ड्युटीमा लागे त्यतै आमा पनि सँगै नै भएर बसिन् । महाभूकम्प गएकै साल अर्थात् ९० सालमा आमाले छोरी सुनमायालाई जन्माएकी थिइन् ।

२०१५ सालतिर श्रीमान् लाहुरबाट छुट्टी आएको समय बिमार परे । त्यही बिमारीले उनलाई विष्णुमायाबाट सधैंका लागि टाढा लग्यो । श्रीमानको देहान्तपछि गाउँमा उनी सुवेदार्नी कहलिन थालिन् । साथै राम्रो पेन्सनका कारण बाँकी जीवनका लागि कठिनाइ खासै भएन ।

कोबर्नले आमालाई भेट्दा आमा करिव ७० वर्षकी थिइन् । एउटा आमाले छोरा भेटेकी थिइन् भने एक छोराका लागि आमासँग भेट भएको सरह थियो । नेपाली पनि बोल्न नआउने आमा विष्णुमायाले एक अमेरिकी नजन्माएको छोरा भेटेकी थिइन् । आमाप्रति शायद जन्माएको छोराले त्यति माया गर्दैनन् होला जति कोबर्नले गाउँकी आमालाई गर्दथे । आमालाई आफ्नो मोटरसाइकलमा राखेर कोबर्नले काठमाडौंका सडकहरू घुमाए । पशुपतिनाथ लगे । मुक्तिनाथ दर्शन गराउन पनि लगे ।

पण्डितले १००८ पूर्णचन्द्र दर्शन गरेको उपलक्ष्यमा चौरासी वर्ष पूरा हुँदा चौरासीपूजा गराइदिए ।

यसको केही वर्षपछि आमाको अमेरिका यात्राको तैयारी शुरु भयो । आमा अमेरिका जान तैयार हुन्छन् वा हुन्नन् भन्ने एकातर्फ समस्या थियो भने बुढ्यौली उमेरमा अमेरिका लग्दा केही हुन्छ वा हुँदैन भन्ने अन्यौल पनि थियो । अन्ततः आमाको विदेशयात्राका लागि आवश्यक कागजपत्र तैयार गर्नेतर्फ कोबर्न लागे । साँच्चै भन्ने हो भने कोबर्न आमाको पूर्वजन्मको छोरा नै थियो । जसले आमाको लागि सबथोक गर्न तैयार थियो । आमाको अमेरिका उड्ने दिन नजिकिँदै गएपछि पण्डितसँग साइत हेर्न लगाइयो । यता लामासँग पनि सोधियो ।

आमाले काठमाडौंबाट जहाज चढ्ने दिन कोबर्नलाई अलिकति पानी सुनमा छर्कन लगाइन् । अनि त्यही पानीले आमाले मुख धोएर चोखो बनिन् । त्यसपछि कोबर्नले आमालाई लिएर पशुपति गए । बागमतीमा नजिक पुगेर आमाले कोबर्नलाई हातमा केही चामल राखिदिइन्, साथै निधारमा टीका लगाइदिइन् । त्यसपछि आमाले त्यहाँ रहेका बाबालाई दक्षिणाहरू दिन थाले । आमाले मनमनै शायद सोच्न थालिन्, यदि नेपाल फर्केर आउन पाइनँ भने पनि मेरो आत्माले शान्ति पाउनेछ । अन्तिम क्षण भगवानलाई सम्झेर नै जानेछु ।

आमा आखिर अमेरिका जाने भइन् । समयमै एयरपोर्ट गएर थाइ एयरवेजको जहाजको सिँढी उक्लिने बेला आमा एकैछिन भन्दै रोकिइन् । सिँढीमा सबै चढ्न हतारोमा थिए । आमाले जहाजको भुइँमा हात लगेर ढोगिन् । दुई पटक दोहोऱ्याइन् । मनमनै मन्त्र पढिन् । यो जहाजमा बैंककसम्म मात्र उड्ने थियो । त्यहाँ एक दिन बसेपछि भोलिपल्ट जापान हुँदै अमेरिकाको सिएटलका लागि उड्नु थियो ।

आमा जहाजमा बसेपछि भगवानलाई सम्झन थालिन्, ‘हरि ओम, हे भगवान्… मलाई र मेरो धर्मपुत्रलाई, बुहारी तथा जहाजको ड्राइभरलाई साथै मेरो लामो यात्रामा साथ दिने सबै यात्रीहरूलाई आशीर्वाद दिनुहोला, किनकि म अनविज्ञ छु मेरो साथ के हुनेछ ! यदि म परदेशमा मरेँ भने मेरो शरीर र मेरो आत्माका लागि उचित मुक्तिको ब्यवस्था मिलाइदिनुहोला । मेरा सबै आफन्त तथा चिनजानका सबैले मेरा पुर्खाका नाममा शान्ति पाओस् । हरि ओम् !’ यति भनेपछि बल्ल आमा जहाज भित्र पसिन् ।

कोबर्न आमालाई लिएर अमेरिका पुगे । उनले आमाको बारेमा दुई पुस्तक ‘Aama in America’ र ‘Nepali Aama’ लेखे । आमाको अमेरिकाघुमाइ निकै रमाइलो भयो । आमाले अमेरिका पूरै छिचोलिन् । २५ वटा स्टेटसहित कोष्ट टु कोष्ट भ्रमण गरिन् ।

२०४८ सालमा आमाको देहावसान भयो । तर कोबर्नलाई त्यो गाउँको मायाले छोडेन, साथै आमाको यादले पनि छोडेन । उनले आमाको सम्झनामा एउटा फिल्म पनि बनाएका छन् । उनको यो फिल्मको ट्रेलर हेर्दा यस्तो लाग्यो- नेपाली छोराले आफ्नो आमालाई त्यति माया गर्दैन होला तर एक विदेशीले एउटै नेपाली आमालाई माया गरेको देखिन्छ । साँच्चै कोबर्न विष्णुमायाको पूर्वजन्मको छोरा थियो ।

कोबर्नले आमाको विषयमा लेखेका दुवै पुस्तक पङ्क्तिकारसँग छ । मलाई खुशी लाग्छ, मेरो संग्रहालय निर्माणका लागि पनि कोबर्नले पनि आर्थिक सहयोग गरेका छन् । धन्यवाद कोबर्न ! छोरा हुनु भनेको कोबर्न जस्तो हुनु हो ।