आरजु देउवा र देवजीलाई मेरा केही प्रश्न

आरजु देउवा र देवजीलाई मेरा केही प्रश्न


अहिलेको जल्दोबल्दो नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा र केही विविध विषयमा जिज्ञासा राखेको छु ।

मुलुकको कार्यकारी प्रमुख भइ राज्य चलाउने ओली र देउवाले यत्रो अपराध हुँदा पनि थाहा नपाएजस्तो गर्नु समयमै रोगथाम गर्न नसक्नुले के नैतिक जिम्मेवारी लिनु पर्दैन र ?

आरजु देउवा मन्जु खाण जस्ता उच्चस्तरीय राजनीतिक पात्रहरूको नाम पनि यो प्रकरणमा मुछिएको छ, तर उहाँहरूलाई बयानको परिधिमा किन ल्याइएन ? नक्कली शरणार्थी प्रकरणमा उच्च नेताहरूको भूमिका शंकास्पद किन देखियो ? उनीहरूबाट यो प्रकरण अन्तर्राष्ट्रिय योजना र दबाबमा भएको प्रचार किन गरियो ?

गृहमन्त्री श्रेष्ठको भूमिका र साहसको अवमूल्यन गराउने काम किन भयो ? उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रहरी महानिरीक्षकलाई बोलाएर आफ्ना मान्छेलाई पक्राउ गर्नुअघि जानकारी गराउनु भन्ने आदेश किन दिए ? गठबन्धन घटकका एक मुख्य नेता देउवाकै दबाबमा सरकारले अनुसन्धानलाई सीमित दायरामा राखेको भन्नेकुरा के हो ? कांग्रेस सभापति देउवा नक्कली भुटानी शरणार्थी काण्डमा चुपचाप किन ? के आरजू देउवाको नाम मुछिएकोले हो ? कसरी बच्ने र बचाउने भन्नेमा देउवाको ध्यान किन गयो ? मानव बेचबिखन जस्तो जघन्य अपराधमा पक्राउ परेका बालकृष्ण खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन किन गरिएन ? के देउवाको सरकारमा बालकृष्ण खाण गृहमन्त्री भएपनि हालिमुहाली आरजुको भएर हो ?

पञ्चायती व्यवस्थाकी पम्फादेवीलाई भ्रष्टाचार मामिलामा वर्तमान पम्फादेवीले माथ गरिन् । अहिलेकी पम्फा देवीलाई भ्रष्टाचार मामलामा लक्ष्मी/महालक्ष्मीको उपनामले पनि चिन्ने गरिन्छ भन्न त भन्छन्, सुजाता हिसिला गंगा आदिको पनि नाम लिन्छन्, तर सुजाता कोइरालाको केही न केही रूपमा काङ्ग्रेसमा योगदान छ यस्तै माओवादी जनयुद्धमा हिसिला र गंगाको योगदान पनि केही न केही रुपमा छ, उहाँहरू आरजु देउवाको तुलनामा धेरै स्वच्छ हुन् ।

आरजु राणा आफु ठुलो राणा खानदानकी छोरी हुँ भन्दै प्रस्तुत भइरहेकी देखिन्छन् । यसमा उनको आडम्बरीपन झल्किन्छ । वास्तवमा पत्रकार मित्रहरूले आरजु देउवा ठुलो राणा खानदानकी छोरी भनि प्रस्तुत भइदिँदा उनमा यस्तो अहम् र घमण्ड देखिएको त हैन ? आरजुको यस्तै घमण्डीपनले गर्दा उनको हजुरआमासम्मको नालीबेली उजागर गर्ने काम पनि भइरहेको छ, त्यसमा कसलाई दोष दिने पत्रकार महोदय ?

सुन्नमा आएको कुरा, जुन समयमा आरजु एनजीओमा जागिरे थिइन् त्यो समयमा उनी सेकेण्ड ह्याण्ड स्कूटीमा अफिस जान्थिन् रे, उनका बुबा विनोद शमसेर सोल्टीमा जागिरे थिए, लाजकाज जोगाउन कोचाकोच गरी सात जनासम्म मुस्किलले अटाउन सक्ने एउटा थोत्रो मोटरको व्यवस्था थियो, कतै जाँदा धकेल्नुपर्ने कण्डिसनको । माइतीको आर्थिक अवस्था बलियो भएको भए के आरजूको हजुरआमाले छोरा पढाउँदा गहना बेच्नुपर्थ्यो र पत्रकार महोदय ?

बुढानीलकण्ठ दरबारको जग्गा दाइजोमा आएको र उक्त जग्गामा चर्चित दरबार पनि माइतीकै सहयोगमा निर्माण भएको भन्ने कुरा निर्धक्कसाथ बताइन् आरजुले, जनताले यो कुरालाई कसरी पत्याउने पत्रकार महोदय ?

आरजु र शेरबहादुर देउवाको बालुवाटार प्रवेशपछि उनकी बहिनीको विवाहको खर्चको जोहो बालुवाटारबाट नै भएको थियो भन्ने कुरा सुन्नमा आएको थियो । अब यो कुरालाई पनि उहाँले अस्वीकार गर्नुहुन्छ भने त्यो पनि ठिकै छ । यदि त्यस्तो हो भने आरजु देउवालाइ बुढानीलकण्ठको जग्गा दाइजो दिने र उक्त जग्गामा निर्मित दरबार निर्माण गर्दा सहयोग गर्ने माइतीले कान्छीछोरीलाई कहाँको जग्गा र दरबार दाइजो दियो ?

अहिले आरजुका भाइ अर्बपति छन् भन्ने सुनिन्छ । उनी आरजुको विवाहपश्चात पनि सेकेण्ड ह्याण्ड मोटरसाइकलमा चढ्थे । यसलाई कुन कालखण्डको उपलब्धि मान्नुपर्ला ? जुद्धशमशेर सन्यासी जीवन बिताउने उद्देश्यले पाल्पाको रिडीतर्फ प्रस्थान गर्ने बेला नावालक विनोद शमशेरलाई काखमा बोकेर उनकी आमाले जुद्धशमशेरसँग रोइकराइ गर्दा ललितपुरतिरको केही जग्गा कमाइ खानु भनी दिएकाले केही राहत पुग्यो होला, अनि के आधारमा मान्ने उहाँ खानदानी परिवारकी भनेर ?

स्मरण रहोस्, २०१४ सालमा आरजु राणाका बुबा विनोद शमशेरले सर्वोच्च अदालतमा एउटा मुद्दा दर्ता गराए, त्यसमा उनको दाबी थियो- जुद्धशमशेर राणाको छोरा प्रमाणित गरी पाउँ र अंशमा हकदाबी कायम गरिपाउँ । २०२७ सालमा तत्कालीन सर्वोच्च अदालतका दुई जना माननीय न्यायाधीश वासुदेव शर्मा र झपट सिं रावलको संयुक्त इजलासबाट विनोद शमशेर जुद्धशमशेरका छोरा नै हुन् भन्ने नाता कायम गरी केही अंश पनि दिलाउने फैसला भएको थियो भन्ने कुरा जानकारीमा आएको थियो, यसबाट केही राहतको महसूस भएको थियो होला । (यो समाचार केही वर्षअघिको नेपाल म्यागजिनमा प्रकाशित भएको थियो )

यो नक्कली भुटानी शरणार्थी प्रकरण कहाँ गएर टुंगिएला ? भ्रष्टाचारको दलदलमा देश यस्तैगरी भासिँदै जाने हो भने देश रहला कि नरहला ? अब यस्ता भ्रष्टाचारीहरूलाई नङ्ग्याउनको लागि वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीजी, राजेन्द्र बानियाँजी, युवराज घिमिरेजी जस्ता बौद्धिक पत्रकारहरूले भ्रष्टाचारीलाई बहिष्कार गर्ने अभियान किन नचलाउने ?

यो प्रकरणलाई कमजोर पार्न शीर्ष नेतृत्वको बारम्बारको भेटघाटले शंका उब्जाएको छ । अब आमनागरिकले सुशासन र समृद्धिको अपेक्षा कसरी गर्ने ? यदि साँच्चै शीर्ष नेतृत्वले कुनै छलकपट नराखेर निष्पक्ष रुपमा भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन खोजेका हुन् भने कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाभित्रका भ्रष्टाचारको जालो उजागर गर्न संसद्बाट अनुमोदित एक उच्चस्तरीय आयोगको गठन होस् जसमा स्वच्छ र निर्भिक पूर्वन्यायमूर्तिहरू रामप्रसाद श्रेष्ठ, कृष्णजंग रायमाझी, टोपबहादुर सिंह र गौरीबहादुर कार्की जस्ता ब्यक्तित्वहरूबाट अध्यक्ष नियुक्ति गरियोस् र नागरिक समाजका बौद्धिक व्यक्तित्वहरू सम्मिलित आयोग बनाइयोस् भनी पत्रकार मित्रमार्फत आग्रह गरेको छु । यस्तो हुन सकेमात्र जनमानसमा केही आशा पलाला र, नेताहरूप्रति केही विश्वास गर्न सकिएला, होइन भने देशको दुर्गति पर्खिनुसिवाय के छ र ?

✍ दीप केसी, शंखमुल, काठमाडौं