साठीवर्षे जीवनलाई मेरो पनि सलाम !

साठीवर्षे जीवनलाई मेरो पनि सलाम !


उमेर बढ्दै जाँदा एक्लो बसेर जीवनबारे मन्थन गर्ने, योगा ध्यान गर्ने, घुम्ने, अलिक फरक काम गर्ने केही जोखिम उठाउँदै खुशी रहने शैली अपनाउनुपर्ने रहेछ । हामीले ‘अब जीवन सिद्धिदैँछ’ भन्ने नेरेटिभलाई ‘जिन्दगी अब फरक ढङ्गले शुरु हुँदैछ’ भन्ने बनाउनुपर्छ ।
✍ शरु जोशी

केही प्रयास नगर्दा पनि उमेरचाहिँ बढिरहँदो रहेछ, खुरुखुरु । यो वर्ष म ६० टेक्दैैछु । सानु छँदा उमेरका बारे मैले सुनेको र स्वयमको अनुभव गरेका कुरामा अत्यन्तै फरक महसूस गरेको छु । उमेर उकालो लाग्दै गर्दा विभिन्न शारीरिक लक्षणहरु- थाक्ने, खाना नपच्ने, केही गर्न मन नलाग्ने, चिन्ता लाग्ने देखिन्छन् । तर ती लक्षण बढी मानसिकताबाट सृजित हुने रहेछन् । यस्तो मनोविज्ञान निर्माण गर्ने हाम्रो सोच अत्यन्त कल्याणकारी छ । यसमा कमजोरी, एक्लोपन, रोग, अशक्तता र भय जस्ता नकारात्मक तत्वहरू भरपुर देखिन्छन् । जरो गाढेर बसेको यी सोच र मुल्य-मान्यतालाई समयसापेक्ष बनाउन सकिन्छ । हामीले कुन उमेर समुहले के गर्नु राम्रो हुन्छ वा के गर्नु शोभा दिँदैन भन्ने धारणा बनाएकाले उमेर समूहका बीच विभिन्न लक्ष्मणरेखाहरू कोरिदिँदारहेछौँ । त्यसलाई सच्याउनु या समयसापेक्ष बनाउनुको साटो ती चलनहरूलाई नै सत्य मानी खुरु-खुरु अपनाउँदारहेछौँ । फलस्वरुप बढ्दो उमेर छिट्टै ओइलाउने, निराशाको बाटोमा हिँड्ने र मृत्युको भयमा पटक-पटक ज्युँदै मरेतुल्य बन्ने गरेको छ । यसले सकारात्मक सोचाइ, उर्जा र गतिशीलतामा प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पारेको छ ।

यस्तो अवस्थामा केको खुशी, केको रमाइलो, भन्ने म स्वयम्को पनि सोचाइ थियो, तर जब मैले ६७ वर्षकी महिला अमेरिकाको हवाइस्थित फाइव स्टार होटलमा नाचेको र ७२ वर्षका सेताम्मे कपाल भएका पुरुषले गाएको देखेँ, उनीहरूको ब्यवहारप्रति निकै घोत्लिएँ । आफ्नो जीवनको निर्णय गर्न सफल यी ‘नवयुवा’ देखेर दङ्गै परेँ । वास्तवमा युवा हुनु भनेको जाँगर हुनु रहेछ, त्यो २० वर्षका या ८० वर्षका जो-कोही हुन सक्छन् । यसैले उमेर भनेको नम्बर मात्रै रहेछ । नेपालमा भए के रहर लाग्या होला बुढेसकालमा, कठै ! छोराछोेरीले हेरेनछन् भनिनेथिए होलान् । सक्रिय जीवन जीउने वहाँहरूको निर्णयलाई र त्यसलाइ स्थान दिने समावेशी होटलका प्रयास प्रशंसनीय लाग्यो । ६९ वर्षकी ओपेरा वीन्फ्री उमेरको सिकाइले आफू झनै परिपक्क भएको सेयर गरिरहन्छिन् । दक्षिण एशियामा ४० वर्ष पुगेपछि महिला मनोबवज्ञानिक रूपमा कमजोर हुने र ‘आजकल त छिटो थाक्छु, कत्तिको नामै बिर्सन्छु, कपाल त सेतै भइसक्यो, अब त उमेर पनि भएछ’ भन्ने सोच्दछन् । यसैले होला महिला उमेरमा क्रमशः प्रवेश गर्नुभन्दा पनि मानसिक रूपमा बुढ्यौलीका सिँढी छिटो चढ्छन् । यसलाई सम्बोधन गर्न भारतका प्रसिद्ध लेखक शोभा डेले आफू ६० वर्ष पुग्दा फोटो शुट गरेर शरीर, लुगा, कपालको रोमाञ्चक फोटो शुट गरेर जिन्दगी आकर्षक र सुन्दर बनिरहन सक्छ भन्ने सन्देश दिएकी थिइन् ।

हामी उमेरबारे कि कटाक्ष प्रतिक्रिया जनाउँदारहेछौँ या एक निश्चित लक्ष्मणरेखामा बसेर संङ्कुचित विचार ब्यक्त गर्दारहेछौँ । कस्तो बुढो देखिएको, छोरीभन्दा आमा तरुणी, चाउरीपरेछ आदि उमेरसम्बन्धी सुनिने आम प्रतिक्रिया हुन् । धेरै उमेर नपुग्नु राम्रो कुरा हो भन्ने हाम्रो बुझाइ सम्वेदनहीन जस्तो लाग्छ । शायद यस्तै धेरै कुराको मिश्रित प्रतिक्रिया होला धेरैलाई आफ्नो उमेर लुकाउनुपर्ने, घटाएर भन्नुपर्ने कारण जस्तो लाग्छ । यद्यपि राजनीतिमा भने यी उमेर समूहले शक्ति-सम्बन्धको भरपूर गलत फाइदा उठाइरहेका छन् । उमेरको भयलाइ सतर्कता, इच्छा, सिकाइ, कोशिसमार्फत युवावस्थाजस्तै नभएता पनि फरक ढङ्गबाट रोचक बनाउन सकिन्छ । नयाँ कुरा खाने, सम्बन्धहरू बलियो बनाउने, नयाँ ठाउँ घुम्ने, पढ्ने, सिक्ने, नयाँ लुगा लगाउने, खुशी रहने, नाच्ने, रमाउने, सहयोग गर्ने आदि विभिन्न कुरामा अलिक बढी ध्यान दियो भने जिन्दगी रमाइलो बन्न सक्छ । हामी दैनिक जिन्दगीको भीडको चाँजोपाँजो मिलाउदामिलाउँदै कतिबेला उमेर कता पुगेको डिप्रेसन, अल्जाइमर जस्ता रोगले च्याप्पिसकेको थाहै नपाउने रहेछौँ । यसैले उमेरका बारेमा बेलैमा सोचेर योजना बनाउनु राम्रो हुन्छ ।

उमेर बढ्दै जाँदा एक्लो बसेर जीवनबारे मन्थन गर्ने, योगा ध्यान गर्ने, घुम्ने, अलिक फरक काम गर्ने केही जोखिम उठाउँदै खुशी रहने शैली अपनाउनुपर्ने रहेछ । हामीले ‘अब जीवन सिद्धिदैँछ’ भन्ने नेरेटिभलाई ‘जिन्दगी अब फरक ढङ्गले शुरु हुँदैछ’ भन्ने बनाउनुपर्छ । किनकि, नेपालमा ५० वर्षमाथिका उमेरसमूहको सङ्ख्या बढिरहेको छ । ढिलोचाँडो हामी प्रत्येक सजग हुन जरुरी छ ।

म अक्सर छलफल, तालीममा आफ्नो उमेर बताउँछु । मलाई सहभागीहरूले उमेरका बारे सुनेका कुरा, उखान, मूल्य-मान्यता र मेरो हाउभाउ उर्जा गतिविधि हेरुन् र आफै उमेरका बारे सोच बनाउन् भन्ने लाग्छ । छलफलका क्रममा मैले आमा, दिदी भनेर सम्बोधन गरेका महिलाहरू उमेरको हिसाबकिताब गर्दा १० वर्ष कान्छो पनि पाएकी छु । ती महिलामा पोषणयुक्त खाना र खुशीको अत्यन्त कमी हुन्छ । मलाई लाग्छ- उमेरलाई ‘ग्रेसफुल’ बनाउनु अत्यन्त महत्वपुर्ण रहेछ ।

मैले ६० वर्षको उमेरलाई स्वागत गर्दै यसलाइ उत्सवको रूपमा स्वीकार गरेकी छु । कहिलेकाहीँ आफ्नै कर्मसँग खुशी भएर गर्वका साथ पिठ्युँमा धाप हान्नुपर्ने पनि रहेछ । शर्त यत्ति हो कि हरेक दिन ऐना हेर्दा आफ्नो अनुहारमा मर्यादा सम्मान झल्कियोस् । तर महत्वपुर्ण कुराचाहिँ चाहेको जस्तो मर्यादित जीवन बाँच्न, खुशी, सेवा खरिद गर्ने आर्थिक थैली पनि चाहिन्छ ।

५० वर्ष पुगेयता यो एक दशकमा हिम्मतका साथ मैले युएनको जागिर छाडेँ र धेरैभन्दा धेरै नेपाली महिला र बहिष्करणमा परेकाहरूसँग भेट्न, वहाँहरूका कुरा सुन्ने, जानेको कुरा सिकाउने काममा लागेको छु । राजनीतिमा लाग्नुपर्ने केही प्रस्ताव आए पनि मैले कुनै ओहदा नलिइ पनि नेतृत्व गर्न सकिन्छ भन्ने निर्णय गरेर सातै प्रदेशका हजारौँ महिलासमक्ष सिक्ने/सिकाउने काममा हिँडिरहेको छु । भर्खरै ७८ वर्षीया डाक्टर बीना प्रधान र ७२ वर्षीया रीता थापासँग ११० जना जुम्ली दिदी-बहिनीलाई प्रशिक्षण दिने काम भयो, हाम्रो आफ्नै सिकाइ पनि भयो । तुलनात्मकरूपमा काठमाडौंमा बसेकाले हामी अन्य महिला भन्दा सजिलो जीवन ब्यतीत गर्छौं र अब समुदायका दिदी-बहिनीको जीवनलाइ केही समय खर्चिन लागिपरेका छौँ । आफूलाइ मन परेका २-४ संस्थाको बोर्डमा भोलेन्टियर सहयोग गररिहेको छु । यसै क्रममा प्रशस्त जिल्ला घुम्ने, आफ्नो देशमा भएका पर्यटनका सम्भावना, खानपिनबारे सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेको छु । जुम्लाको ओखर, राढी, सिमी, दैलेखको सुन्तला, धरानको साग, नेपालगन्जको रावडी, सुर्खेतको मटका चिया, वीरगञ्जको हाँडी बिर्यानीबारे पोष्ट गर्ने गरेको छु । जान मन लागेका ठाउँहरू रोल्पा, रारा, जुम्ला, कालापत्थर, मुगु, कालीकोट, जुम्ला, दैलेख, सोलुखुम्बु पुगेँ । उल्लेख गर्नै मन लागेको चाहिँ अन्तर्राष्ट्रिय महिला दिवसमा खुम्जुङक्षेत्र जाँदा पदयात्रा गयौँ, बाटामा एकैजना पदयात्री नेपाली भेटिएनन् तर ७८ वर्षका इटालियन, ६७ वर्षकी भारतीय महिला छोरासँग हिँडेको र ६५ वर्षका अष्ट्रेलियन बाबुले २१ वर्षका छोरासँग हिँडेको भेटेँ । यी उमेर-समूह देख्दा नेपालीले पनि यस्तो रोचक यात्रा गर्नुपर्ने भन्ने लागेको छ । ‘साथसाथै’ संस्थाले जलवायु परीवर्तनले महिलामाथि पारेको असरका विषयमा छलफल गर्न गएको हाम्रो समूहमा ७२ वर्षीय डा. माधव कार्की पनि हुनुहुन्थ्यो, लुक्लाबाट हिँडेपछि वहाँ कुनै पनि गन्तब्यमा सबैभन्दा पहिले पुग्नुहुन्थ्यो । हाम्रो टीममा अन्य युवा थिए, तर युवाको उर्जाभन्दा डाक्टर माधव कार्कीको परिपक्कताले होला वहाँ पहिला पुग्नुहुन्थ्यो ।

वास्तवमा सक्ने छोटो पदयात्रा, गएर, मसाज गरेर, परिवार साथीसँग भेटेर, सहयोग गरेर, किताब पढेर, भोलेन्टियर गरेर, राजनैतिक विषयमा स्वतन्त्र विचार राखेर, वृक्षरोपण गरेर या एक्लै रमाएर जीवन सक्रिय र आकर्षक बनाउन सकिने विभिन्न उपाय छन् । उमेरको चुनौतीलाई स्वीकार गरी शरीरलाई बढी ध्यान दिने, खानपिनमा होसियार रहने, नयाँ किताब पढ्ने र नयाँ लुगा लगाउने, आफूलाई स्वस्थ र आकर्षक महसूस गर्ने योजनासहित साठीवर्षे जीवनलाइ मेरो पनि सलाम छ !

[email protected]