‘अन्तिम प्रलयको रात’

‘अन्तिम प्रलयको रात’


✍ पुरुषोत्तम ढकाल

मेरो देश मौन छ
अन्त्यहीन व्यभिचारले
श्रृङ्खलावद्ध भ्रष्टाचारले
विभाजित मनहरू एक्लो-एक्लो
आँखाहरू धमिलो-धमिलो दिउँसै रात परेजस्तो
पाउहरू थाकेका हिँड्नै नसकेर, कुद्ने साहस मरेजस्तो ।

स्कुल हिँडेका केटाकेटीहरू
हाँस्न छोडेको वर्षौं भयो नदेखेको
मन बहलाउने गुराँस नफुलेर हो कि
वन र मनहरू मुर्झाएको हो कि थाकेर लाचारीमा
गर्मी बढेको छ, असिनपसिन छ निधार निथ्रुक्क
बादलुको सपनीमा निदाउन नसकेर मेरो देश रात-बिरात ।

मन र मस्तिष्क भत्भति पोल्नु नि गर्मीले
अलिकति बाँकी भए लाजले र शरमले
पेट भर्नकै लागि बदलिरहने थरि-थरि रूप
बाँच्नकै लागि रंग फेरिरहने कुटिल आँखा
कस्तो सुख खोजेको हो कुन्नि धिक्कारमा पनि बाँच्न सक्ने ।

थरि-थरि रंगमा पहिचान हराएको मेरो जात
किस्तीमा बेइमानी बोकेर इमानको लिलामीमा छ
मान्छे हुनुको सृजना र शक्ति जिउँदै एक गाँस भतेरमा बेचेर
हिउँलाई दुषित बनाउँदै एक झप्को बास र गाँसको खोजीमा
जीवन ज्योति हराएर होला साँझ मात्र जाग्छ अँध्यारोको तानाबानामा
र परदेशमा देश रुन्छ, झर्छ आँसु, अन्तिम प्रलयको दिनभर, रातभर ।

  • लस-एन्जलस, संयुक्तराज्य अमेरिका