जे.पी.को राजनीति सकिएकै हो ?

जे.पी.को राजनीति सकिएकै हो ?


सूचना तथा सञ्चारमन्त्रीको पदमा रहेकै बेला भ्रष्टाचारको अभियोगमा जेल परेपछि नेता जयप्रकाशप्रसाद गुप्ताबारे अनेक टिप्पणीहरू आए, आइरहेका छन् । कोठे गफदेखि सडकसम्म, पत्रपत्रिकादेखि रेडियो, टेलिभिजन हुँदै फेसबुकसम्म चर्चा व्यापक रह्यो । कतिले सर्वोच्चको फैसलालाई संसारमा कहिल्यै कहीँ नभएको फैसलाझैं गरे, कतिले एउटालाई गरेर के गर्नु खै त अरूलाई जेल हालेको ? भनी प्रश्न गरे । अखबारमा आएकामध्ये ‘अब जेपीको राजनीति सकियो’ भन्ने टिप्पणीले निकै स्थान ओगटेको देखियो । सर्वोच्चले गरेको फैसलालाई अटेर गर्नेहरूबारे कहिल्यै कुनै प्रश्न नगर्नेहरूले अदालतले फैसला गर्नासाथ त्यसको सम्मान गर्दै आफैं जेल जान अग्रसर जेपीलाई खेदिरहे, खेदिरहेकै छन् । बलेको आगो ताप्ने नेपाली समाजले जेल गएका जेपीलाई खेद्नु कुनै अनौठो र नौलो कुरा पनि होइन । उनीविरुद्ध भ्रष्टाचारको मुद्दा राजाको प्रत्यक्ष शासनका बेला परेको थियो, लडाकुसहितको ठूलो दलबलको पार्टीका नेता भएका भए उनले राजाले कुदृष्टि राखेर आरोप लगाएको भन्दै राजतन्त्रको समाप्तिसँगै उक्त आरोप पनि सकिएको भन्ने तर्क अघि सारेर मुक्ति पाइसकेका हुने थिए । मान्छे मारेको अपराधमा फैसला हुँदा त जेल जानु नपर्ने नेपालको राजनीतिमा तोडफोडको दुनियाँमा अलिकति मात्रै अगाडि भएका भए जेपीको मुद्दा त्यत्तिकै छायामा पर्न सक्ने सम्भावना थियो । सर्वोच्चले फैसला गर्दैमा जेल जानैपर्छ भन्ने छैन भन्ने नजिर त राजनीतिकर्मीसँगै जोडिएका अन्य केही मुद्दाले स्थापित गरेकै छ । जेपीको मुद्दामा जे-जस्ता तर्क र प्रमाणहरू अघि सारियो तिनलाई हेर्दा गलत भयो भन्न सकिन्न तर सोही अनुपातमा सम्पत्ति जम्मा गर्नेहरू सबै माथि उस्तै खालको व्यवहार किन गरिएन ? या गरिएको छैन ? भन्नेचाहिँ मूल प्रश्न हो ।
जयप्रकाशप्रसाद गुप्ता अर्थात् जेपी आनन्द नेपालका थोरै चिन्तक नेतामध्येका एक हुन् । विभिन्न समयमा पटकपटक मन्त्री बनेका उनी पछिल्लो समय सर्वसाधारणले सहज पहुँच राख्न सक्ने नेताको रूपमा परिचित थिए । फेसबुकमार्फत उनी सर्वसाधारणको जिज्ञासाको जवाफ दिइरहेका भेटिन्थे । मधेस र काठमाडौंको सम्बन्ध टुट्न सक्ने अभिव्यक्तिले पछिल्लो समयमा उनलाई ‘कम्युनियल’झैं देखाएको थियो । तर, उक्त अभिव्यक्तिमा पहाडी समुदायलाई गाली-गलौज भने थिएन । किताबसँग गहिरो सम्बन्ध भएका जेपी काङ्ग्रेसमै रहेका भए हुन्थ्यो भनी चाहना गर्नेहरू धेरै थिए, महन्त ठाकुरले पराई भूमिमा वार्ता गरेर र्फकनासाथ मधेसी पार्टी गठन गरेपछि त्यसमा जेपीको संलग्नता त्यति सुहाउँदो लागेको थिएन । समयक्रममा मधेसी दलहरू टुट्दै-फुट्दै जाँदा जेपी आफैं अध्यक्ष बनेको पार्टी खडा भएको थियो, जुन दलबाट उनी पछिल्लो समय सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।
भ्रष्टाचार प्रमाणित भएपछि चुनावमा उठ्न नपाउने र कुनै पद लिन नपाउने भएका कारण जेपीको राजनीति समाप्त भएको ठान्नेहरू अहिले धेरै छन् । राजनीतिलाई ‘पेसा’ देख्ने र बनाउनेहरूका लागि यो कुरा ठिकै पनि हो, राजनीतिको अन्तिम लक्ष्य पदलाई मान्ने हो भने जेपीको राजनीति सकिएको मान्न सकिएला तर राजनीति पदभन्दा बढी जनताको सेवा र मुलुकप्रतिको उत्तरदायित्व हो भनेर मान्ने हो भने जेपीको राजनीति सकिएको छैन । अहिले उनी भ्रष्टाचारको आरोपमा जेलमा भएका कारण यस्ता भ्रष्टाचारी कसरी मुलुकप्रति उत्तरदायी हुन सक्छन् भन्ने तर्क गरिएला या यस्ताले जनताको सेवा के गर्छन् ? भन्ने भनाइ अगाडि सारिएला तर कतिपय अवस्थामा अनेक परिबन्दमा पर्ने पनि मानिस नै हो अरू प्राणी परिबन्द या परिस्थितिको दास कमै हुने गर्छन् । यदि गल्ती भएकै रहेछ भने पनि सो गल्तीबाट सिकेको पाठले जीवनमा सही बाटो पहिल्याउन झनै मद्दत गर्दछ । उनी कानुनी शासनलाई अपहेलना गर्ने राजनीतिकर्मी होइनन् भन्ने कुरा आफैंले आफ्नो गिरफ्तारी दिएर प्रमाणित गरिसकेका छन्, राजनीति त त्यस्ता मान्छेको समाप्त हुनुपर्ने हो जसले कानुनी राज्यको उपहास गर्दै आएका छन् ।
वास्तवमा भन्ने हो भने अहिले यो मुलुकमा पदबिनाको राजनीति गर्नेहरूको खाँचो छ, पदलाई महत्त्व नदिईकन मुलुकप्रति मात्रै उत्तरदायी नेताको आवश्यकता छ । जेपीले क्षेत्रीय भावनालाई त्यागेर सिङ्गो मुलुकलाई समट्नेगरी राजनीति गर्ने हो भने जेलबाहिर आएपछि उनका सम्भावनाहरू अनेक छन् । मानिस हो जीवनमा खोट र चोटहरू लाग्न सक्छन्, यसको अर्थ ती कहिल्यै मेटिँदैनन् भन्ने होइन । सेक्सपियर पनि मानिस, ओसामा बिन लादेन पनि मानिस, जीवनलाई सिर्जनशील बनाउने कि ध्वंसात्मक भन्ने कुरा मानिस आफ्नै हातमा हुन्छ । जेपीका लागि आउने करिब एक वर्षको समय बाँकी जीवनको मार्गदर्शन तयार गर्ने समय पनि हो । र, सबैभन्दा महत्त्वपूर्ण त मान्छे चिन्ने समयको रूपमा यसलाई लिन सकिन्छ । मान्छे चिन्नका लागि दु:खको समय सबैभन्दा उपयुक्त मौका हो । को आफ्ना मान्छे, को पराइ, को कस्ता, कसले कस्तो व्यवहार गर्छन् सबै कुरा आफूलाई आपत-विपत परेका बेला थाहा पाउने मौका पाइन्छ । कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने झैं जे हुन्छ राम्रैका लागि हुन्छ भनेर वर्तमान परिस्थितिलाई सकारात्मक रूपमा लिने हो भने यो उनका लागि मान्छे चिन्ने सबैभन्दा उपर्युक्त समय पनि हो । यस्तो बेलामा कति आफ्नै ठानिरहेकाहरूले छुरी हान्न खोज्छन्, कतिले बल्ल मैले ठाउँ पाएँ भनेर मौका छोप्न खोज्छन् । आफूले सोच्दै-नसोचेका अनेक घटनाहरू यस्तो बेलामा सुन्न र भोग्न पाइन्छ । मानवीय प्रवृत्तिहरूलाई नजिकबाट बुझ्न सकिन्छ, जुन मौका जीवनमा पटक-पटक नआउन सक्छ । यस्तो बेलामा आफैंले सङ्गठनमा ल्याएका व्यक्तिहरूले आफ्नो दुर्दशाको फाइदा उठाउँदै ओह्रालो लागेको मृगलाई झैं खेद्न खोज्छन्, सकेको गर्छन्, त्यस्ता अनेक अप्रिय कुराहरूको अनुभव गर्ने अवसर पनि हो यो । केही समय पीडा अवश्य हुन्छ तर अन्तत: यस्ता अनुभवले मानिसलाई परिष्कृत र परिपक्व भने बनाउँछ । को आफ्नो, को नजिक, को टाढा, को राम्रो, को परपीडकजस्ता कुराहरू महसुस गर्न सकिन्छ । त्यसैले जेपीको राजनीति सकिएको नभई जीवनसँगसँगै उनको राजनीतिले परिपक्व रूपमा अगाडि बढ्ने अवसर पाएको छ भन्न सकिन्छ ।