सप्तरीका विपन्न परिवारलाई एलपीजी ग्यासचुलो र सिलिन्डर हस्तान्तरण

सप्तरीका विपन्न परिवारलाई एलपीजी ग्यासचुलो र सिलिन्डर हस्तान्तरण


भारतका महावाणिज्यदूत नितेश कुमार र नेपाल-भारत महिला मैत्री समाजका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य श्रीमती चन्दा चौधरीद्वारा सप्तरी जिल्लाको तिरहुत गाउँपालिकामा विपन्न परिवारलाई २७५ थान एलपीजी ग्यास चुल्हो, सिलिन्डर र अन्य सामान संयुक्तरूपमा हस्तान्तरण गरिएको छ ।

सर्लाही, रौतहट र सप्तरी जिल्लाका विपन्न परिवारलाई भारत सरकारद्वारा कुल तीन हजार सेट ग्यासचुलो र १४.२ केजी सिलिन्डरका साथै नियामक तथा पाइपलगायतका अन्य सामान उपहारस्वरुप प्रदान गरिएको हो । यस्तै, सर्लाही जिल्लाको कौदेना नगरपालिकामा यसअघि करिब पाँच सय सेट ग्यासचुलो वितरण गरिएको थियो ।

सो अवसरमा तिरहुत गाउँपालिका अध्यक्ष विजय यादव, सप्तरीका एसपी नरेन्द्र कार्की, नेपाल–भारत महिला मैत्री समाजका उपाध्यक्ष राधा कायस्थ, सरोकारवाला नागरिक, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा सामाजिक-आर्थिक जाति गणना सूचीबाट विपन्न परिवारको पहिचान गरिएको सम्बद्ध पक्षको भनाइ छ । सामग्री वितरण प्रक्रियाका लागि समाज कल्याण परिषद्लाई पनि जोडिएको जनाइएको छ । यसका लागि भारत सरकारले नेपाली रुपैयाँ दुई करोड चार लाख उनान्सय हजार स्वीकृत गरेको छ ।

भारतका महावाणिज्यदूत नितेश कुमारले लाभार्थीहरूलाई बधाई दिँदै परम्परागत खाना पकाउने इन्धनको प्रयोगले ग्रामीण महिलाको स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने बताउनुभयो । एलपीजी ग्यास चुलो र सिलिन्डर उपहारले नेपाललाई भारतको निरन्तर समर्थन रहेको झल्काउने उहाँको धारणा थियो ।

नेपाल-भारत महिला मैत्री समाजका अध्यक्ष श्रीमती चन्दा चौधरीले महिलाको विकासमा निरन्तर सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिनुभयो । यी एलपीजी ग्यास चुल्हो, ग्यास सिलिन्डर र सामानहरूको वितरणले खाना पकाउने परम्परागत इन्धन जस्तै दाउरा, कोइला, गोबरको केक, आदिको प्रयोगलाई प्रतिस्थापन गर्नेछ जसले भारी धुवाँ उत्पादन गर्दछ र स्वास्थ्यमा खतरा निम्त्याउँछ भन्ने धारणा उहाँले राख्नुभयो ।