✍ सुनिल उलक

फागुन १६, १९३३ मा जङ्गबहादुरको मृत्युपछि प्रधानमन्त्री तथा श्री ३ बनेका रणोद्वीपसिंह कुँवरलाई उनकै भतिजा अर्थात् भाइ धीरशम्शेरका छोराहरूले हत्या गरि सत्ता खोसे । केवल निसन्तान काका रणोद्वीपको मात्र हत्या गरेनन् जङ्गबहादुरका सन्तान कसैलाई पनि बाँकी राखेनन् । जङ्गका खलक कोही काटिए, कोही भागे । त्यसपछि एकलौटी रूपमा धीरका सत्र भाइ छोरामा सत्ता पुग्यो । काकाको हत्या गरी सत्तामा पुगेका वीरशम्शेरले पनि मृत्युपर्यन्त श्री ३ महाराजा तथा प्रधानमन्त्री बने । तर उनको मृत्युपछि श्री ३ बनेका देव शम्शेरलाई भने भाइ चन्द्रशम्शेरले टिक्न दिएनन् । निकै सोझा देव शम्शेरलाई सत्ताच्युत गरी चन्द्रशम्शेर श्री ३ महाराज तथा प्रधानमन्त्री बने ।
चन्द्रशम्शेर सात महिनाको गर्भमा नै जन्मेको हुँदा सानैदेखि ज्यान खासै बढेको थिएन । जसले गर्दा जङ्बहादुरले उनलाई फिस्टे भनेर बोलाउँथे, जसले गर्दा दरबारभित्र उनको नाम नै फिस्टे रहेको थियो । श्री ३ महाराज बनेपछि पनि फिस्टे महाराजले चिनिने गर्दथे । केही रिसाहा स्वभावका चन्द्रको बारेमा अर्को प्रख्यात कहावत नै बनेको थियो- ‘चन्द्रे हाँस्यो कि नास्यो’ ! सितिमिति नहाँस्ने चन्द्र हाँसे भने केही बित्यास हुने भयो भनेर सोच्दथे ।
नेपालको विकासका कुरा गर्ने हो भने चन्द्रशम्शेरको शासनकालमा धेरै कुरा भएका थिए । त्रिचन्द्र कलेजको स्थापना, त्रिचन्द्र सैनिक अस्पतालको स्थापना, टोखा क्षयरोग अस्पतालको स्थापना, सिंहदरबार बैद्यखानाको स्थापना, नेपालको पहिलो जलविद्यूत् फर्पिङ जलविद्यूतको स्थापना, चन्द्रनहर, चुरिया सुरुङ मार्ग, रोपवे, रेलवे, सतिप्रथा अन्त्य, दासप्रथा अन्त्य आदि प्रमुख हुन् ।
राणाकालमा शिकार-कुटनीति निकै प्रचलित थियो । बेलायतीहरूलाई कुनै कुरामा खुशी बनाउनु पऱ्यो भने शिकारको निम्तो पठाउँथे । जङ्गबहादुरको शासनकालमा त्यतिबेलाका प्रिन्स अफ वेल्स (पछि राजा एडवर्ड सातौँ) शिकारको लागि १९३२ फागुन १० गते पश्चिम नेपालको वनवासा आएका थिए । चन्द्रशम्शेरकै शासनकालमा एडवर्ड सातौँका छोरा राजा जर्ज पाँचौ वि.सं. १९६८ पुस ३ गते आएका थिए । यसको दश वर्षपछि चन्द्रशम्शेरकै शासनकालमा फेरि एडवर्ड सातौँका नाति तथा राजा जर्ज पाँचौका छोरा प्रिन्स अफ वेल्स एडवर्ड जो पछि राजा एडवर्ड आठौँ भए पनि आए । एडवर्ड आठौँ राजा बनेको एक वर्ष पनि नहुँदै प्रेमिकाको कारण राजगद्दी त्यागेर अमेरिका गएर बसे । प्रेमिकाको लागि राज्य त्याग्ने एक सच्चा प्रेमी राजाको स्थान उनले बनाए । जो राजकुमार रहँदै नेपालमा शिकारको लागि आएका थिए ।
श्री ३ महाराजाबाट भारतका भाइसरायलाई माघको महिना शिकारको लागि उपयुक्त हुने भन्दै भारतको बैरगनिया हुँदै नेपाल प्रवेश गरी पत्थरघट्टा बागमती नदीवरपर शिकार गराउने सोचिएको थियो । तर पछि भिखना ठोरी हुँदै प्रवेश गरेर चितवनमा नारायणी नदीवरपर शिकार गराउने तय भयो । प्रिन्स एडवर्डको यात्रा भारत र नेपालपछि जापान पनि तय भएको हुँदा नेपालमा शिकारको समय भने छोट्याइएको थियो । केवल आठ दिन मात्र नेपालमा रहने मिति तय भएको सूचना नेपालको प्रधानमन्त्रीलाई असारमा मात्र पठाइएको थियो । वि.सं. १९७८ मंसिर २९ गतेदेखि पुस ७ गतेसम्म नेपालमा शिकारको लागि समय तय गरिएको हुँदा पर्याप्त तैयारी गर्न नपाएको जानकारी शिकारको प्रबन्धको जिम्मा लगाइएका श्री ३ का छोरा केशर शम्शेरले जानकारी गराएका थिए । राजकुमारको शिकार अवधि उनका बुबा र बाजेले गरेको शिकारभन्दा निकै छोटो रहेको हुँदा पर्याप्त शिकार हुन नसक्नेमा नेपालका अफिसरहरू चिन्तित थिए । साथै समय छोटो हुँदा क्याम्पहरू पनि अस्थाइ रूपले टेन्टहरूबाट मात्र बनाइएको थियो । जबकि उनका बुबा आँउदा कसरामा पक्की भवनहरू नै बनाइएका थिए ।
प्रिन्स एडवर्डको भारतीय उपमहाद्वीप तथा जापानको भ्रमण कार्यक्रम करिब ८ महिना लामो थियो । भारतमा मात्र करिब ४ महिनाको कार्यक्रम थियो । १९७८ कार्तिक १० मा बेलायतको पोर्टस्माउथबाट विदेश भ्रमणको लागि निस्केका उनी विशेष रूपले प्रथम विश्वयुद्धमा भारतीय सैनिक जवानहरूले गरेको सहयोगको लागि राजा जर्ज पाँचौको तर्फबाट धन्यवाद दिन आएका थिए । उनको साथ फोटोग्राफर पिन्डी ल्युल पनि आएका थिए ।
प्रिन्सको आगमनभन्दा एक महिनाअगाडिदेखि जंगलमा प्रवेश बन्द गराइएको थियो । सैनिक जवानहरूले प्रिन्सको शिकारस्थल सुरक्षित रूपमा घेरेर बसेका थिए । अन्य बाहिरी जनावरहरूको पनि अनावश्यक प्रवेश गर्न तथा जंगलभित्र सुरक्षित जनावरलाई बाहिर निस्कन नमिल्ने गरी घेरेर राखिएको थियो । मध्यरातमा पनि गोलीको आवाजले सतर्क बनाएर राखिएको हुन्थ्यो । जंगलभित्र तीन वटा क्याम्प बनाइएको थियो । नदीकिनारको समथर भागमा शाही क्याम्प, त्यसको पारी जंगलनजिकै कर्मचारी तथा नौकरचाकरहरूको लागि क्याम्प बनाइएको थियो भने केही उचाइमा पत्रकारहरूको लागि क्याम्प बनाइएको थियो ।
क्याम्पभित्र कार्वन आर्क ल्याम्पहरूबाट उज्यालो बनाइएको थियो । शाही क्याम्पको बाहिर बँगैचा बनाइएको थियो । कुर्ची टेबल राखेर सजाइएको थियो । क्याम्पको भित्र जमिनमा चितुवाको छाला गाँसेर कार्पेट झैँ ओछ्याइएको थियो । प्रिन्सको विशेष टेवल शिकारका चिनोहरूले नै बनाइएको थियो । गैँडाको खुर, गैँडाको सिङ तथा गैँडाको छालाबाट बनाइएको थियो । त्यति मात्र नभएर रद्दीकागज फाल्ने भाँडोसमेत गैँडाको खुट्टाको तल्लो जोर्नी हाडबाट बनाइएको थियो । डाइनिङ टेबलको बीचमा प्रिन्सको बाजे, बुबा तथा अन्य पाहुनाहरू शिकार गर्दाको तस्बिरहरूको एलबमले सजाइएको थियो । क्याम्पमा हुलाक तथा टेलिफोनसमेतको ब्यवस्था गरिएको थियो । छाला प्रशोधनको लागि भने क्याम्पदेखि झण्डै एक कोश टाढा ब्यवस्था गरिएको थियो । जहाँ शिकार भएका हरेक जनावरहरूको छाला निकाल्ने तथा सफा गरेर सुकाउने काम हुन्थ्यो । यसको लागि विशेष तालिमप्राप्त विशेषज्ञ भारतबाट नै ल्याइएको थियो । बम्बे न्याचुरल हिस्ट्री सोसाइटीसँग आवद्ध एन.ए. बाप्टिस्टा तथा उसको सहायकको रूपमा रावजी कनेरा (भारतीय) लाई विशेषरूपले छालाको प्रशोधनको लागि ल्याइए पनि अन्य कामको सहयोगीको रूपमा भने नेपालीहरू नै राखिएको थियो ।

प्रिन्सको आगमनको अघिल्लो साँझ सबै ब्यबस्था तथा क्याम्पको निरीक्षण बेलायती अफिसर तथा नेपाली विशिष्ट अफिसरहरूले गरेका थिए । सबै निरीक्षणपछि ब्यवस्थापन देखेर अंग्रेज अफिसरहरूले खुशी ब्यक्त गरेका थिए । शिकारको सम्पूर्ण ब्यवस्थापनको प्रमुखका रूपमा श्री ३ का छोरा केशर शम्शेर खटाइएका थिए ।
पहिलो दिन- १९७८ को मंसिर २९ को बिहान क्याम्पमा प्रिन्सको आगमन हुन लागेको खबर पुग्यो । सबै आ-आफ्ना ठाउँमा तैयार अवस्थामा रहे । ठिक ९ बजे क्याम्पमा गाडीको आवाज सुनिन थाल्यो । बेलायती क्रसले कम्पनीको फेटन कारमा प्रिन्स सबैभन्दा अगाडि थिए । यसपछि पनि अन्य अफिसरका गाडीको लहर क्याम्प प्रवेश गऱ्यो ।
कारबाट जोधपुरी ब्रिच (घुँडादेखि तल कस्सिएको) खाकी पाइन्ट, शिकारी कोट तथा साम्भरको छालाको जुत्ता लगाएको २६ वर्षे ठिटो प्रिन्स झरे । एकैछिन परिचय गर्न लागे त्यसपछि फेरि गाडीमा नै चढेर शिकारको तैयारी स्थलतिर हिँडे । सरस्वती खोलानजिकै बनाइएको शिकार क्याम्पमा पुगेपछि प्रिन्स सजिएको हौदा भएको हात्तीमा चढे । यो हात्ती त्यही थियो जुन हात्तीमा चढेर उनका बुबा राजा जर्ज पाँचौ दश वर्षअगाडि शिकार खेल्न आउँदा चढेका थिए । त्यसपछि पालैसँग अन्य पाहुनाहरू पनि अन्य हात्तीमा चढे । अन्य विशिष्टहरूमा अर्ल अफ क्रोमर (एभलिन बेयरिङ), एडमिरल सर लायनल हाल्सी, कर्णेल वार्गन, लर्ड लुइस माउन्टवेटन, क्या. (अनरेरी) पियर्स ले, ब्रुस अगिल्भी तथा बर्नार्ड सि. एलिसन थिए । यता नेपाल सरकारको तर्फबाट जनरल केशर शम्शेर खटिएका थिए ।
सबै मिलेर शिकारको लागि निस्किए । हात्तीको लश्करपछाडि सैनिक तथा मजदुरहरूको भिड नै थियो । विशाल खोला सुकेर सानो भएको थियो । गर्मीले हात्तीहरू पनि आत्तिएका थिए । सम्पूर्ण शिकारको लागि करिव ७०० हात्ती ल्याइएको थियो । कतिपय तालिमप्राप्त हात्ती भारतीय जमिन्दारहरूको पनि ल्याइएको थियो ।
शिकारीको लाम जंगलभित्र घेरा पार्दै अघि बढ्न थाल्यो । बिस्तारै घेरा कस्दै पनि लगिएको थियो । यस्तैमा जंगलभित्र सऱ्याकसुरुकको आवाज सुनियो । शिकारको नाइके केशर शम्शेरले माहुतेहरूलाई हात्तीको घेरा कस्न लगाए । प्रिन्स पनि तैयारी अवस्थामा बसे । बाघ नदेखिए पनि बाघ नजिकै भएको सबैले अनुमान गर्न थालिसकेका थिए । त्यस्तैमा भाग्दै गरेको मृग देख्नासाथ सबैले ‘बाघ… बाघ’ भनेर कराउन थाले । नभन्दै पाटे बाघ देखियो । अग्लो घाँसको बीच पहेँलो रङ देखियो । फेरि एकैछिनमा हरायो । एकैछिनपछि रुखको पछाडि बाघ देखियो । चारैतिरबाट घेरिइसकेको हुँदा बाघ भाग्ने ठाउँ नै थिएन । बाघ गुर्राउँदै बाहिर देखियो । यस्तैमा प्रिन्सले गोली हानिहाले । अरु दुई गोलीको आवाज पनि आयो । बाघ घाइते भइसकेको थियो । आवाज आउन छोडिसकेको थियो, तर बाघ देखिएको थिएन । पछि बाघ खोजेर निकालियो । त्यसै दिन अरु तीनवटा बाघ पनि अन्य टोलीले मारेका थिए । यसरी प्रिन्सको गोलीबाट पहिलो बाघको शिकार भयो ।
त्यस रात खुशियालीका साथ डिनरको आयोजना गरिएको थियो । डिनरमा बेलायती मेनु तैयार गरिएको थियो । डिनरको मेनुको सबैभन्दा माथि जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी लेखिएको राष्ट्रिय चिन्ह अंकित थियो । तर तल खानेकुराको नाम सबै विदेशी थिए । मेनु फ्रान्सेली भाषामा लेखिएको थियो । मेनु हेर्दा यस्तो लाग्थ्यो नेपालको महाराजाले बेलायती प्रिन्स अफ वेल्सको स्वागतको लागि कुनै पनि किसिमको कमि हुन दिएको छैन । जंगलको बीचमा मानविय सभ्यताहरू कोशौँ टाढा एकान्त ठाँउमा पनि यसरी तैयारी गर्नु भनेको सानो मेहनत थिएन ।
मारिएका बाघहरूको राति नै छाला तार्ने तथा सफा गर्ने काम गरिएको थियो । भोलिपल्ट उज्यालोमा छाला सुकाउन सजिलोको लागि नै रातारात सबै काम गरिएको थियो ।
दोश्रो दिन – मंसिर ३० गतेको दिन गैंडाको शिकार गर्नको लागि तय गरिएको थियो । बिहान ६ बजे नै उठेर प्रिन्स तथा टिमहरूले पोलो खेलेका थिए । बिहान दश बजे नै शिकारको लागि निस्कने भनिएको भए पनि अघिल्लो दिनको थकाइले सबै ढिला मात्र तैयार भए । करिब ३२ किमी टाढा हालको माडी क्षेत्रतिर गैंडा शिकारको लागि मचान बाँधिएको थियो । एकातर्फ समथर खेतमा पहेलै तोरी फुलिरहेको थियो । अर्को तर्फ खोला थियो । मचान नजिकसम्म प्रिन्स तथा बिशिष्टहरूको गाडी लग्नको लागि बाटो बनाइएको थियो । मचान बाँधिएको ठाउँमा सबै जम्मा हुँदा दिउँसोको १ बजेको थियो । जसले गर्दा दिउसोको लन्चपछि मात्र शिकार खेल्न तैयार भए । गैंडाको एक हुल देखियो । प्रिन्सले ठम्याउन नै सकेनन् । माउन्टवेटनले हानेको गोली गैंडालाई लाग्यो । घायल गैंडा भाग्दै गयो । मृत गैंडा निकै दिन पछि मात्र नेपाली सैनिकहरूले भेटाएको थियो । अर्को गैंडा पनि गोलीबाट घायल मात्र भयो, मार्न सकेन । दोश्रो दिन थकानले चुर भएका शिकारीहरू रित्तो हात फर्किए । फर्कंदा बाटोमा भेटिएको एउटा सुंगुर मारेर चित्त बुझाए ।
तेश्रो दिन – प्रिन्सको गोलीले घायल बाघलाई क्याप्टेन पियर्सले तथा माउन्टवेटनको गोलीले मारे । यसपछि गैंडाको शिकारको प्रयास भयो । यस पटक पनि घायल गैडा जंगलमा भागेको केही दिनपछि मात्र नेपाली सेनाले मृत भेट्टायो । राति क्याम्प फर्कनुअगाडि एडमिरल हेल्सीले पनि बाघको शिकार गर्न सफल भयो ।
चौथो दिन – बिहानै प्रिन्स अन्य अफसरहरूसँग केही बेर फुटबल खेले । बिहानै क्याप्टेन पोयन्डर र क्याप्टेन डुड्लेले एउटा पोथी गैडाको शिकार गरे । पछि गैंडाको छाला निकाल्दा थाहा भयो गैंडा गर्भवती रहेछ । पेटमा नहुर्किएको सानो बच्चा भेटियो । त्यसदिन क्याप्टेन पोयन्डरले अर्को एक गैंडा पनि मार्न सफल भए । अन्तमा ठोरी नजिकै अर्को एक बघिनी मार्न सफल भयो । यस दिन भने सबैभन्दा बढी शिकार गर्न सफल भए ।
पाँचौ दिन १९७८ पुस ४ को दिन आइतबार परेको थियो तसर्थ छुट्टी लिए । यस दिन कुनै शिकार नगर्ने हुँदा सबै आराम गर्न थाले । यसै दिन महाराजा चन्द्रशम्शेरले बिशिष्ट पाहुनाहरूको लागि उपहारहरू लिएर आएका थिए । महाराजाले उपहार दिन चाँदीले मोडिएको खुकुरीहरू पनि लिएर आएका थिए । साथै प्रिन्सको लागि बिभिन्न जिउँदो जनावरहरू तथा पक्षिहरू पनि ल्याएका थिए । खुकुरी अफसरहरूको लागि थियो भने जनावरहरू तथा पक्षीहरू भने प्रिन्सको लागि थियो । श्री ३ महाराज चन्द्र शम्शेरले नेपाल सरकारको तर्फबाट प्रिन्स एडवर्डलाई उपहारमा दिइएका जनावरहरूमा एउटा हात्तीको छावा, एउटा गैडाको केटो, दुइवटा चितुवाको छाउरो, दुइवटा हिमाली कालो भालु, एउटा कालो चितुवा, एउटा धर्कै चितुवा, एउटा बाघ, तिब्बती फ्याउरो, हिमाली फ्याउरो, दुइवटा जरायो, एउटा थार, तीन वटा कस्तुरी मृग, केही भिन्न जातका भेडाहरू, दुइवटा भोटे कुकुर, चारवटा कुकुरको छाउरा, एउटा सुन गोहोरो, केही अजिंगर तथा अन्य किसिम किसिमका चराहरूमा नेपाली कालिज, सेतो कलगी भएको कालिज, मुनाल, चीर, फोक्रास, चकोर, तित्रा, हरियो परेवा, खैरो पखेटा भएको ढुकुर, बाज, मयुर पठाइएको थियो । यि जनावर तथा पक्षिहरू सबै कलकत्ता पठाइयो । केही दिन कलकत्ता जुलोजिकल गार्डेनमा राखेपछि त्यहाँबाट रिजेन्टस पार्कमा रहेको लण्डन जुलोजिकल गार्डेनमा पठाइएको थियो ।
छैठौ दिन – प्रिन्सले एउटा गैडा मार्न सफल भयो । बिहानै गैडा मार्न सफल भएको हुँदा दिनभर राम्रो हुनेमा बिश्वस्त थिए, तर त्यस्तो भएन । माउन्टवेटन चढेको हात्ती बिहानै उत्तेजित हुन थाल्यो । लर्ड लुइस चढेको हात्तीले अर्को हात्तीलाई आक्रमण गरेर जंगल तर्फ भाग्यो । पछि माहुतेले काबुमा ल्याए । त्यसै दिन शिकारमा पार्सिभल ल्याण्डनलाई पनि भेटे । नेपाली अफसरहरूसंग शिकारमा आएका उनले पनि त्यस दिन एउटा गैडा मार्न सफल भएको थियो । पर्सिभल श्री ३ चन्द्रले बेलायतबाट नेपालको इतिहास लेख्न बोलाइएका लेखक थिए । उनले ‘नेपाल’ शीर्षकमा पुस्तक लेखेका छन् ।
बेलायतीहरूका लागि नेपालीहरूका केही प्रचलनहरू अनौठो लागेको थियो । नेपालीहरूले बाघ मरेपछि उसको रगतलाई पातमा लिएर बाघकै जुंगाले रगत छर्केको तथा वनदेवताको लागि रगत चढाएको देख्दा अनौठो मानेर हेरेका थिए । यसरी रगत चढाउदा मृत आत्माले सुख पाउने तथा अर्को जन्म खुशियाली पूर्ण हुन्छ भन्थे । उता मरेको जनावरहरूको छाला सुकाउने ठाँउमा गाँउलेहरू बाघको खुर, जुंगा तथा बोसो लिन आउँथे । उनिहरूले यि सबै औषधीको काम आउँछ भन्थे । त्यसै दिन दिउसो अर्को एक बाघ घेरामा परेको सुनेपछि शिकारीहरू पुगे । निकै घण्टाको मेहनत पछि मार्न सफल भयो, त्यो बघिनी रहेछ ।
सातौ दिन – एउटा चितुवा र एउटा भालु मार्न सफल भए । आठौ दिनको बिहानै प्रिन्सले एउटा गोमन साँप मारे । यो दिन प्रिन्सको शिकारको अन्तिम दिन थियो । दिनमा अर्को एक बाघको शिकार गर्न सक्षम भए । शिकारबाट फर्कदा साँझको ६ बजिसकेको थियो । फर्किने बेला भइसकेको हुँदा सबै हतारमा थिए । सबैले बिदावारी लिन थाले प्रिन्सको रेल ठिक साढे छ बजे छुट्नुपर्ने थियो । तसर्थ प्रिन्स हतारमा पुगिसकेका थिए । यता श्री ३ महाराजा तथा छोरा केशर शम्शेर पनि भिखना ठोरी पुगिसकेका थिए । प्रिन्सको ट्रेन ठिक समयमा नै छुट्यो । यसरी प्रिन्स अफ वेल्स एडवर्डको नेपालको शिकार पनि सकियो ।

प्रिन्स अफ वेल्सको नेपालको शिकार यात्राको करिव २ वर्ष पछि नेपाल र बेलायत बिच एउटा अर्को सम्झौता भयो । जसका अनुसार बेलायत र नेपालले एक अर्काको शान्ती तथा मैत्री कायम राख्ने । साथै आन्तरिक र बाह्य स्वतन्त्रताको सम्मान गर्ने । सुगौली सन्धि लगायत १८७२ यताका अन्य सन्धि र सम्झौताहरूलाई यस सन्धिले खारेज हुने । नेपाल सरकारले बिदेशबाट मगाएका सामानमा भारतीय बन्दरगाहमा कुनै पनि किसिमको भन्सार नलाग्ने आदि बुँदाहरू उल्लेख गरिएको थियो । तर पछि मोहनशम्शेरको समयमा हतार हतार स्वतन्त्र भइसकेको भारतले सन १९५० को सन्धि गरेर यसमा भएका बुँदाहरूलाई निस्तेज पारिदिए ।
भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमको गहिराईमा डुबिसकेपछि जायज/नाजायज, धर्म/अधर्म, पाप/पुण्य वा सत्य/असत्य सबै त्यागेको हुन्छ । उसको अगाडी केवल उसको प्रेमी वा प्रेमिका मात्र हुने गर्छ । जसको लागी उसले संसार बिर्सेको हुन्छ । यो केवल कथा कहानीको पात्रमा मात्र होइन वास्तविक जीवनमा पनि हुने गर्छ ।
यस्तै कथा नेपालमा शिकार खेल्न आएका प्रिन्स अफ वेल्सको पनि छ । युवराज छदै बिबाहित युवतीसंग विवाह गरेका युवराज एडवर्ड १६ वर्षे बैबाहिक जीवन पछि एउटी अर्की विवाहित महिलाको प्रेममा फस्दछ । अमेरिकामा जन्मेका वेलिस सिम्पसनको साथ बसिरहेका युवराज वि.सं. १९९२ माघ ७ मा बुबा राजा जर्ज पाँचौंको मृत्युपछि राजा एडवर्ड आठौँ बने । उनले वेलिस सिम्पसनसंग नै बिबाहको सोच बनाए ।
राजा बनेपछि उप्रतिको विरोधको भावहरू बढ्दै गयो । अमेरिकी नागरिक रहेकी वेलिस सिम्पसनलाई रानी स्विकार्न धेरैले चाहेका थिएनन् । उनले बिभिन्न कानुनहरू बनाउदै आफूलाई शक्तिवान बनाउने सोच बनाउन थाले । तर यसले झन उल्टो असर गर्यो । वेलिस सिम्पसन माथी जर्मनको जासुस भएको आरोप पनि लाग्यो ।
अन्तमा राजा एडवर्ड आठौ सामु अप्ठेरो परिस्थिति सिर्जना भयो । कि उनले वेलिसलाई त्याग्ने वा विवाह गर्ने र राज्य त्याग्ने वा मन्त्रिमण्डलको राजीनामा पछि सिर्जिने समस्यालाई झेल्ने । धेरै सोच पछि उनले आफ्नी प्रेमिकालाई त्याग्न नसक्ने निर्णय गरे ।
अन्तत वि.सं. १९९३ मंसिर २५ गतेको बिहान १० बजे उनले राजगद्दी त्यागेको घोषणा गर्दै राजीनामा बुझाए । सो पत्रमा तीन जना भाइहरूले पनि साक्षीको रुपमा हस्ताक्षर गरेका थिए । यस पछि उनका भाई अल्बर्ट राजा जर्ज छैठौ बने । जो एलिजाबेथ द्वितियका बाबु हुन् ।
राज्य त्यागेपछि एडवर्ड ड्युक अफ विन्डसरको रुपमा आफ्नो जीवन बिताउन लागे । यसको केही समय पछि जेठ २१, १९९४ मा एडवर्डले वेलिससंग विवाह गरे । उनको विवाहको केही समय पछि नै आफ्नै भाइ राजा जर्ज छैठौले उनको राजकिय सम्मानहरू सबै खोसे । यसपछि उनले देश छोडेर फ्रान्स गए । पछि आफ्नो सम्पूर्ण जीवन अमेरिकाको मियामीनजिकैको सानो टापु बाहामाजमा बिताए । त्यही उनको २०२९ जेठ १५ मा निधन भयो ।
अहिले प्रिन्स हैरीसँग विवाह बन्धनमा बाँधिएर राजपरिवारको सदस्य बनेकी मेगन मर्केल पनि अमेरिकी नागरिक हुन् । उनको नियति पनि वेलिसको जस्तै हुने प्रचुर सम्भावना छ ।
प्रतिक्रिया