काङ्ग्रेसमा भावी नेताको सवाल

काङ्ग्रेसमा भावी नेताको सवाल


जसरी देउवाले कोइरालाविरुद्ध विद्रोह बोले, अब देउवाविरुद्ध त्योभन्दा सशक्त र ठूलो विद्रोह चाहिन्छ । देउवाले त आफ्ना लागि गरेका रहेछन् । तर, अबको विद्रोह पार्टी र देशका लागि हुनुपर्दछ/हुनेछ, नत्र काङ्ग्रेस नरहने पक्का छ ।
✍ राजेश ढुंगाना

यतिखेर फेरि एकपटक नेपालको ‘अहिलेसम्म’कै सबैभन्दा ठूलो राजनीतिक दल तर नेतृत्व र नेतृत्वकै कारणले सबैभन्दा लथालिङ्ग राजनीतिक दल नेपाली काङ्ग्रेसमा रूपान्तरणको चर्चा चलेको छ । कसैलाई आक्षेप र अपमान होइन, आधा दर्जन रूपान्तरणकर्ताहरूको वशमा अब काङ्ग्रेस रूपान्तरित हुन सम्भव छैन । उनीहरूले समय र श्रम नखर्चेकै बेस !

नरहरि आचार्यले सबैभन्दा पहिले काङ्ग्रेसमा रूपान्तरणको प्रश्न उठाउनुभएको हो । तर उहाँ स्वयंमा ‘मज्जाले’ रूपान्तरित हुन सक्नुभएन । अर्थात्, नेतृत्वलाई छाड्न पनि सक्नुभएन, समात्न पनि सक्नुभएन । अहिलेका रूपान्तरणकर्ताहरूको हालत त त्यो भन्दा पनि खराब छ । न कुनै खाका छ न कुनै आकार । कहाँदेखि कहाँसम्मको यात्रा हो यो ? जनता र कार्यकर्ताको यो यक्षप्रश्नको उत्तर नदिए उनीहरू स्वयम् अलमलमा रहेको पुष्टि हुन्छ ।

रूपान्तरणको अभियान कहाँसम्म जान्छ ? अन्तिम चरण के हो ? स्वयम् आफैंमा स्पष्ट नभइ अब काङ्ग्रेसको रूपान्तरण त के रूपान्तरणकर्ताहरूको रुपान्तरण पनि सम्भव छैन ! कार्यकर्ता निराश र हतास छन् । पक्का हो, वर्तमान नेतृत्वले अब यसलाई चिर्न सम्भव छैन । ऊ आफैंमा पूराका पूरा कुहिइसकेको छ ! कार्यकर्ता र आम प्रजातन्त्रवादी जनतामा छाएको हतासा र निराशा काङ्ग्रेसका लागि डरमर्दाे छ । कार्यकर्ता रोइरहेका छन् । चिच्याइरहेका छन् तर नेतृत्वको एकल दृष्टि सत्तामा छ । त्यो पनि देशका लागि होइन दलका लागि मात्रै पनि होइन । केवल आफू र आफ्नाहरूको निहीत स्वार्थका लागि । अब त कुनै लज्जाबोध छैन कि केवल सम्पत्ति आर्जन नेतृत्वको अर्जुनदृष्टि भएको छ ।

नेतृत्वले काङ्ग्रेस कार्यकर्ता रोएको पटक्कै देखेको छैन । किनभने उ भदौमा आँखा फुटेको गोरु हो, जसले सदैव हरियाली मात्र देख्तछ । त्यो पनि सत्ताको हरियाली ! यस्तोमा मार्गचित्रविहीन रूपान्तरणको अभियान स्वयंमा वर्तमान नेतृत्वका लागि शक्ति आर्जन हुन पुग्ने सम्भावना र खतरा बन्न सक्छ । हो, नेतृत्व सच्चिएन भने उनीहरूको अन्तिम प्रहार के हो ? तर नेतृत्व सच्चिने त प्रश्न नै छैन । बरु अझ ‘बिग्रने’ छ । यस्तोमा उनीहरूको कदम के ? पहिले त्यो स्पष्ट हुनुप¥यो ।

म्याँउ-म्याँउ गरेर वा नेतृत्वलाई कन्याइ टोपलेर अब न नेतृत्व सुध्रने छ न त काङ्ग्रेस नै सप्रनेवाला छ । काङ्ग्रेस कार्यकर्ताले यो बुझिसकेका छन् । त्यसैले उनीहरू कि त विद्रोहको मुडमा छन् । कि त पलायनको सङ्घारमा अर्थात् कसैले विद्रोहको वाणी बोलिदेला भन्ने आशमा छन् । होइन भने पलायन । तनहुँको उपनिवार्चिनको परिणाम यसैको सङ्केत हो । प्रारम्भ हो । यो पलायन सितिमिति अभियानले रोक्न र थाम्न सक्तैन । विद्रोह नै चाहिन्छ । विद्रोह विकल्पहीन विकल्प हो । त्यो पनि ठोस र मूर्तरूपको विद्रोह ।

जसरी देउवाले कोइरालाविरुद्ध विद्रोह बोले, अब देउवाविरुद्ध त्योभन्दा सशक्त र ठूलो विद्रोह चाहिन्छ । देउवाले त आफ्ना लागि गरेका रहेछन् । तर, अबको विद्रोह पार्टी र देशका लागि हुनुपर्दछ/हुनेछ, नत्र काङ्ग्रेस नरहने पक्का छ । अब रह्यो कुरा-यो साहस र तागत देखाउन सक्छ कसैले काङ्ग्रेसमा ? प्रश्न यहिँनेर गाँठो परेको छ ! अब म्याँउ-म्याँउ काङ्ग्रेसका लागि, काङ्ग्रेसको जीवनका लागि काम छैन । म्याँउ-म्याँउ गरेर आधा मरिसकेको काङ्ग्रेसलाई पूरै मर्नबाट भगवानले पनि बचाउन सक्तैनन् ।

विद्रोह बोल्ने सम्भावना यतिबेला गगनमा देखिएको छ । उनले त्यो हिम्मत र साहस गरे भने रोइरहेका कार्यकर्ताले उनको साथ दिनेछन् । गर्ने हो थप हिम्मत ? नत्र उनी पनि कार्यकर्ताको आँसुमा बग्नेछन् !

गगनलाई अग्रिम शुभकामना छ र, विश्वप्रकाशलाई आह्वान- तिमी पछि परिसक्यौ, अब गगनलाई साथ देउ र, जोडी बनाएर कि काङ्ग्रेस बचाऊ कि आफू पनि ‘मर’ !

विद्रोह बोल्दा काङ्ग्रेसले एउटा चुनाव हार्ला (त्यो पनि हार्दैन) तर जीवन हार्दैन । अहिलेको नेतृत्वका विरुद्ध युद्धघोष नै मात्र काङ्ग्रेसको विकल्प हो नत्र अर्काे अधिवेशमा पनि कुनै ‘सानो’ देउवा काङ्ग्रेसको प्राविधिक नेतृत्वमा आएको टुलुटुलु हेर्नुबाहेक गगनका लागि समेत कुनै विकल्प हुने छैन । तर अहिले विद्रोह बोल्ने ठिक समय आएको छ । जसले प्रहार गर्छ त्यो नै नेता हुने छ र, काङ्ग्रेसको पनि मृत्यु हुनेछैन ।