‘समाजवादी मोर्चा’: वैचारिक र संगठनात्मक गम्भीर सङ्कट टार्ने निरर्थक प्रयास

‘समाजवादी मोर्चा’: वैचारिक र संगठनात्मक गम्भीर सङ्कट टार्ने निरर्थक प्रयास


यो मोर्चाको अस्तित्व वर्षामा देखिने पानीको फोकाको भन्दा बढी हुने छैन । आफ्नो विचार र सिद्धान्तमा अडिन नसक्ने र आफ्नो पार्टीको राम्रो सङ्गठन तथा ब्यवस्थापन गर्न/गराउन नसकेका असफल एवम् आलोचित नेताहरूबाट समाजवादी मोर्चाको संयोजन भएकाले यसबाट आशा र भरोसा गर्ने कुनै आधार छैन ।
✍ डा. केशव देवकोटा

माओवादी केन्द्रलगायतका चार दलले समाजवादी मोर्चा नामको नयाँ मोर्चा गठन गरेपछि यसबारे नेपालको राष्ट्रिय राजनीतिमा विभिन्न कोणबाट बहस शुरु भएको छ । खासमा यो मोर्चा निहित उद्देश्यले गठन भएकाले यसलाई अन्य विभिन्न कोणबाट टीकाटिप्पणी र बहस गरिरहनुको कुनै अर्थ छैन । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष चाहना र पहलमा यो मोर्चा गठन भएको हो । त्यसैले यो मोर्चा गठनमा उहाँकै भनाइ आधिकारिक र महत्वपूर्ण हुन्छ ।

दाहालले स्पष्ट शब्दमै ‘०६३ को परिवर्तनका उपलब्धि भनिएका कुराहरू उल्ट्याउने प्रयास भएकाले त्यसको रक्षाका लागि यो मोर्चा बनाउनु परेको’ बताउनुभएको छ । उहाँले त यो मोर्चा गठन गर्नु एउटा युद्धकै घोषणा भएको दाबी पनि गर्नुभएको छ । ०६३ को राजनीतिक परिवर्तनका उपलब्धि भनिएका सङ्घीयता, जातीय समावेशी, समानुपातिक निर्वाचन प्रणाली, धर्मनिरपेक्षता र गणतन्त्र खासमा संयुक्त राष्ट्रसंघको नीतिअनुसारका कुरा हुन् । संयुक्त राष्ट्रसंघ अमेरिकालगायतका शक्तिराष्ट्रहरूको प्रभावमा रहेको छ । नेपालका माओवादी केन्द्रलगायतका केही दल राष्ट्रसंघको प्रभावमा रहेका छन् । यसरी घुमाउरो पाराले उनीहरू अमेरिकालगायतका पश्चिमा राष्ट्रनिकट पुगेका हुन् । ०६३ को उपलब्धि भनिएकामध्ये धर्मनिरपेक्षता र गणतन्त्रबाहेक अरु कम्युनिष्ट पार्टीका एजेण्डा नै होइनन् । सङ्घीयता, जातीय समावेशी र समानुपातिक निर्वाचन प्रणालीले गणतन्त्रलाई समेत विकृत बनाउँदै लगेर सङ्कटतर्फ धकेलेका छन् भने धर्मनिरपेक्षताको आडमा क्रिष्चियन गतिविधिलाई खुलेआम अगाडि बढाउने प्रयास गरिएको छ ।

०६३ को राजनीतिक परिवर्तनका उपलब्धि जोगाउन भन्दै नेकांसहितको सत्ता गठबन्धन बनाउँदा पनि उक्त उपलब्धिको संरक्षण नहुने भएपछि यो समाजवादी मोर्चा बनाइएको देखिन्छ । ०६२ पछि माओवादी जसरी सशस्त्र जनयुद्धबाट शान्तिपूर्ण जनआन्दोलनमा झरेको थियो, अहिले पनि त्यसैगरी नेकांसहितको सत्ता-गठबन्धनभित्रैबाट चार दलको उप-गठबन्धनमा झरेको छ । जसका कारण यो कदम ‘पुष्पकमल दाहालको बहादुरीका साथ पछिहटाइ’ हो भनेर सबैले बुझ्नु पर्दछ ।

०६३ का उपलब्धि भनिएका कुराहरू पश्चिमा राष्ट्रको सौजन्यमा प्राप्त भएकाले ती असफल भइसकेका छन् । अब कुनैपनि शक्तिले त्यसलाई बिनासंशोधन र परिमार्जन यथावतरूपमा टिकाउन सक्ने अवस्था छैन । भन्दा ०६३ को उपलब्धिको रक्षाका लागि चार पार्टीको समाजवादी मोर्चा बनाइएको भनिएपनि खासमा यो मोर्चा चार पार्टीमा देखिएको वैचारिक र संगठनात्मक गम्भीर सङ्कटलाई टार्नका लागि बनाइएको स्पष्ट छ । किनकि माओवादी केन्द्र नाममात्रको माओवादी हो । यसले ०७५ जेठ ३ गते नै औपचारिकरूपमा माओवाद परित्याग गरेर अनौपचारिकरूपमा अवसरवादलाई अपनाइसकेको अवस्था छ । सो पार्टीका अध्यक्ष दाहालको अस्थिर विचार र ब्यवहार तथा दक्षिणपन्थी राजनीतिक रुझानका कारण पार्टी विचारमा सुन्य र संगठनका हिसाबले अलगथलग भइसकेको छ । दाहालले एकीकृत समाजवादीलगायतका दलहरूसँग पार्टी एकता गर्ने प्रयास गर्दा असम्भव भएपछि मोर्चामा झर्नुपरेको हो ।

त्यसैगरी एकीकृत समाजवादी र जसपा पनि विचारविहीन र संगठनात्मकरूपमा कमजोर अवस्थामा रहेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पनि वैचारिक र संगठनात्मकरूपमा कमजोर भएकै कारण माओवादी केन्द्रनिकट बन्दै समाजवादी मोर्चाको बैशाखी टेक्न आइपुगेको हो । यो पछिल्लो परिघटनाले चन्द समूह अब सदाका लागि लोप हुने सङ्केत देखिएको छ । समाजवादी मोर्चाका रचनाकार प्रयोगवादी नेता डा. बाबुराम भट्टराई भएको कुरा जगजाहेर छ । जसले यसअघि नेपालको राजनीतिमा सङ्घीयतालगायतका प्रावधानहरूको प्रयोग गर्नुभएको थियो । जुन केही वर्षमै असफल भएको छ भने पछिल्लो समयमा उहाँले समाजवादी मोर्चाका नाममा सङ्घीयता र जातीय समावेशी पक्षधरहरूलाई संगठित गर्न खोज्दा उहाँ आफै सो मोर्चाबाहिर पुग्नुपरेको छ ।

कथित ‘समाजवादी मोर्चा’ गठन गरेर माओवादी केन्द्रलाई केही फाइदा होला तर एकीकृत समाजवादी र जसपाका लागि यसले कुनै संगठनात्मक र राजनीतिक लाभ दिनेवाला छैन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको चाहिँ संसदीय राजनीतिमा प्रवेशको यो एउटा बहाना हो । असार ४ मा समाजवादी मोर्चा गठन भएको भएपनि नभएपनि चन्द समूह माओवादी केन्द्रमा बिलय हुने अन्तिम तयारीमा थियो । यो समाजवादी केन्द्रको गठनले चन्द समूहको अस्तित्व समाप्त हुने, माओवादी केन्द्र र एकीकृत समाजवादी थप विभाजित हुने देखिएको छ । जसपाका लागि भने यो मोर्चाको गठनले तराईमा राजनीति गर्नका लागि थप कठिन अवस्था सिर्जना हुने देखिन्छ ।

माओवादी केन्द्रको विशेष दबाबमा समाजवादी केन्द्र गठन भएपनि नेपाली काङ्ग्रेस र एमालेजस्ता पार्टीलाई खासै असर पर्ने देखिएको छैन । बरु यस परिघटनाले उक्त दुई पार्टीलाई थप नजिक्याउन मद्दत गर्ने देखिन्छ । खासमा यो समाजवादी मोर्चा जनपक्षीय राजनीतिक परिवर्तनलाई रोक्नका लागि गठन भएको हो । त्यसैले यो मोर्चाको गठनले क्रान्तिकारी कम्युनिष्ट पार्टीलगायतलाई केही हदसम्म दबाब सिर्जना गर्ने देखिएको छ । अबको अवस्थामा दिल्लीमा भएको १२बुँदे सहमति र ०६३ को परिवर्तनको नाम लिइरहनुको पनि कुनै अर्थ छैन । चार दलले गठन गरेको मोर्चा जनताको पक्षमा रहँदैन, यो प्रगतिशील र वामपन्थी दुवै होइन । किनकि यो यथास्थितिको संरक्षणका लागि गठन भएको स्पष्ट छ । १२बुँदे समझदारीमा हस्ताक्षर गरेका दलहरूका बीचमा फाटो भइसकेको छ । हालसम्म आउँदा विस्तृत शान्तिसम्झौता र ०७२ को संविधान अर्थहीन र परिवर्तनका बाधक सावित भइसकेका छन् । त्यसैले समाजवादी मोर्चामा परिवर्तनका पक्षधर, विभिन्न आन्दोलन र बलिदानबाट अस्तित्वमा आएका पार्टी र नेताहरू आकर्षित हुने कुनै सम्भावना छैन । ०६३ को परिवर्तनले हजारौँ शहीदको अपमान गरेको छ । बेपत्ता र क्रान्तिकारीहरूको त्याग, तपस्या र बलिदानलाई उपेक्षा गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले मोर्चाको घोषणा कार्यक्रममा स्पष्टरूपमै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफूहरूमा लागेको धूलोमैलो सफा गर्न मद्धत पुग्ने बताइसक्नुभएको छ । यो मार्चाले सम्पूर्ण देशभक्त र समाजवादी शक्तिलाई एकतावद्ध गराउन सक्तैन । किनकि, मोर्चाको घोषणापत्रमै देशमा अझ अराजकता बढाउने कुराहरू उल्लेख गरिएका छन् । जातीय र क्षेत्रीय विभाजन चर्काउने कुराहरू छन् । यो मोर्चा परिवर्तनकारी शक्तिलाई एकतावद्ध बनाउन नभएर छिन्नभिन्न बनाउन उद्यत देखिएको छ । मोर्चामा सामेल भएका दलहरूमा चरम सङ्कीर्णता देखिन्छ । यो मार्चाले समाजवाद निर्माणको वातावरण बिगार्ने, देशमा सुशासन स्थापित हुन नदिने, राष्ट्रिय राजनीतिमा विकृति र विसंगतिहरू बढाउने देखिएको छ । मोर्चा आफैमा परिवर्तनविरोधी पश्चगामी भएका कारण त्यसमा अन्य दलहरू सहभागी हुने कुनै सम्भावना छैन ।

खासमा समाजवादी मोर्चा माओवादी केन्द्रका अध्यक्षको सत्ता टिकाउने चालबाजी मोर्चामात्र हुने सो मोर्चाभित्रकै कतिपय नेताहरूले आशंका पनि ब्यक्त गरिसकेको अवस्था छ । कतिपय नेताले ०६३ पछि देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको बताएका छन् । नेपालको स्वाधीनता र नेपाली जनताको अधिकारका लागि नयाँ सङ्घर्ष/लडाइँ अगाडि बढाउनुपर्ने आवाज पनि मोर्चाभित्रैबाट उठेको छ । त्यसैले यो मोर्चाको अस्तित्व वर्षामा देखिने पानीको फोकाको भन्दा बढी हुने छैन । आफ्नो विचार र सिद्धान्तमा अडिन नसक्ने र आफ्नो पार्टीको राम्रो सङ्गठन तथा ब्यवस्थापन गर्न/गराउन नसकेका असफल एवम् आलोचित नेताहरूबाट समाजवादी मोर्चाको संयोजन भएकाले यसबाट आशा र भरोसा गर्ने कुनै आधार छैन ।