✍ ज्ञानमणि भुर्तेल
व्यङ्ग्य लेख्ने भन्दैमा सधैं मजाक लेख्नु ठिक हैन ! कहिलेकाहीँ गम्भीर हुनुपनि जरुरी छ ! आज उठान गरिएको विषय निकै गम्भीर छ ।
उखान अंकल !
मेरो प्रिय अंकल ! प्रगाढ मित्रता ! नाता केलाउँदै जाने हो भने तेह्रदिनेभित्रै पर्न बेर छैन ! बानी-ब्यहोरा समेत मिल्दोजुल्दो ! उहाँ मुहफट आफू कलमफट ! उता छुचुन्द्रे बाणिसर्जक, यता छुचुन्द्रे अक्षरसर्जक ! उहाँ जेल बस्दा चालीस किलो आफू पनि काठमाडौं बस्दा लगभग त्यति नै ! उहाँ प्रधानमन्त्री भएपछि सरकारी रासनले फुलेर बेलुनजस्तो भ’को, आफू झापा फिर्तीपछि ५६ केजीसम्म पुगेको ! सुख्ती काट्दा ५२ तिर झरिएला !! एउटा कुरो चैँ अलि मिलेन – उहाँले जनताको करबाट सञ्चित राज्यकोषबाट किड्नी झुण्ड्याउनुभो, मैले चैँ आफ्नै कोषबाट भर्खरै पित्तको ढुङ्गो बिसर्जन गरेँ ! कतैबाट दान-दातब्य प्राप्त भएन ! फेसबुकमा ‘गेट विल सुन…’चैँ निकै आयो !
बाटो अल्मलिए जस्तो भो ! अब मूल पुराणतिरै लागौँ होला ! उहाँसँग प्रत्यक्ष भेट नभए तापनि मेरो अन्नदाता हो ! खुराकदाता हो ! उहाँ मेरा लागि निरन्तर खुराक पस्किरहनुहुन्छ ! टिभिमा उहाँको मुहारसहितको … बाणी सुन्दा होस् या छापामा पढ्दा होस्, गतिलो खुराक प्राप्त हुन्छ ! छुचुन्द्राले चामलको बोरा भेटेझैँ आनन्द लाग्छ !
हिजो अनौठो संयोग जुऱ्यो- सपनीमा जम्काभेट भो, त्यो पनि कन्काइ डिलमा ! म पनि त्यतै पुगेको रैछु ! फिस्स हाँस्दै हात मिलाउनुभो ! बोल्ने मेलो निकाल्दै सोधेँ- ओहो ! तपाईं पनि मर्निङवाक गर्नुहुन्छ ? ‘काङ्ग्रेसजस्तो अल्छे हो र ? सधैं गर्छु नि !’ कत्ति न आफू मर्निङवाके भएर सोधेको अंकलले त उल्टि पियर पो देखाइदिए ! ‘काङ्ग्रेस जस्तो अल्छे’ विभुषणले दाहिने मुटु चसक्क भएपनि फिस्स हाँसेर दर्द निवारण गरियो ! हिँड्दै गर्दा एउटा खोला तर्नुपर्ने भो ! उहाँको गफअनुसारको पानी जहाज त हैन तर एउटा काठको डुङ्गा छेउ लामो बाँस बोकेर दुई भुसतिघ्रे पाइलट उभिएका थिए ! हतार गरेर चढ्न खोज्दा अंकल धर्मराउनु भो ! पाइलटले हतेरेर चढाए !! मलाई चैँ भुसतिघ्रेले बोकेरै लोड गरे ! कन्चन पानी तर बहाव तीब्र ! डुबिएला र उत्रिएलाको त्रासबीच सकुशल अवतरण गराए !
बाटो काट्ने मेलो त गर्नैपऱ्यो ! कुरो निकालेँ- गज्जब गर्नु भो है ! जंगली अंकललाई फ्याट्टै प्रधानपन्च बनाइदिनु भो ! ‘प्रधानपञ्च हैन हौ ! प्रधानमन्त्री हो क्या !’ मेरो पेट हल्का चिमोट्नु भो ! चिरेकै ठाउँमा परेछ ! मुख बिगारेको देखेपछि छुद्राई ओकल्नुभो- यस्ता लिखुरे काङ्ग्रेस ! यति चिमोट्दा नि आत्तिने ? नाथे अप्रेसन ! ओठ लेप्राउनुभो ! ‘लु चिमोट मलाई ! जति चिमोटेपनी मेरा किड्नी हल्लिँदैनन !’ दौरा उचालेर भुँडी देखाउँदै चुनौती थप्नुभो !
भो ! जति चिमोटेपनि तपाईं जस्तो थेत्तरालाई केही हुने हैन क्यारे ! मैले पनि नहलमाथि दहल हान्दिएँ !! बनाउन खोजेको त प्रधानमन्त्री नै हो नि ! बेहोरा प्रधानपञ्चको देखाइहाले जंगलीले ! आफ्नै भुँडी ठटाउँदै ‘धोखेबाज हौ तिमी…’ गुनगुनाउनुभो ! अंकलको मुड तातेको देखेर चाकडी चढाइयो- तपाईं त मन्त्री/प्रधानमन्त्री बनाउन सक्ने झापाली कुमाइ ! लौ न मलाई पनि उपप्रधानमन्त्री बनाइदिनुस् ! खाली नै छ क्यारे !
अंकल रन्किनुभो ! ‘खाँचो लाग्या छ ! अरु बेला उखान अंकल भन्दै ब्यंग्य कस्ने अहिले चाकडी गरेर हुन्छ ? भन्नू नि आफ्नै भाउजुलाई ! डाडुपुन्यौ उनकै हातमा छ अहिले ! ‘आफैं हाँगा खुस्केको बाँदर भएका छौ ! गफ मात्रै चर्का…’ किल्किलेमा आईसकेको वाणी मुस्किलले रोकें !’ तिमिलाई बनाउनु र आफ्नै जिउमा काउछो दल्नु एकै हो ! मेरै सुरुवाल तान्छौ’ !
‘घन्टीलाई बनाउनु भो त ! अस्तिसम्म तपाईंकै नाकको डाँँडी भत्काउँछु भन्थ्यो ! हिजो तपाईंकै घोकेबाजको पाउ पुज्न पुग्यो ! लिङदेन पनि तपाईंकै बिरुवा हो क्यारे ! राजावादी भनेर कुर्लिएपनि तपाईंले नै जोगाइदिएको पिउसो हो ! उसलाई पनि बनाउनु भो ! जे जस्तो भए नि म त झापाली हो नि ! झापाली-झापाली एक हौँ भन्ने नारा लाउँदा हुन्न र ? ‘ उखान अंकलले जवाफ फर्काउनुभो- भाँच्छु भनेर चिच्याएर मात्रै हुन्छ ? रालोबिनाको घन्टी जति हल्लिए नि आवाज आउँदैन ! उ रालो फुस्केको घन्टा हो घन्टी हैन अब ! लिङदेन पनि अब लेनदेन भैसको ! कता राजा ? कता वादी ? सबै गफाडी !!
गफ चल्दैथियो ! अलार्मले सपनी भत्काइदियो ! पाँच बजिसकेको रैछ ! खोला तरेको सपनाको फल राम्रो हुन्छ तर त्यसपछि निदाउनु हुन्न अनि कसैलाई पनि भन्नुहुन्न भन्ने प्राचीन कथन अनुसरण गर्दै आँखामा पानी छ्यापेर जिउ तन्काइयो !
के चैँ फल प्राप्त होला त ? कौतुहल भो ! तत्कालै निरासाले घेऱ्यो – प्रधानमन्त्री जंगली अंकललाई दिएपछि आफैं हाँगा खुस्केको बाँदर भएका छन् ! दिन सक्ने हैनन् ! दिने भनेको उखान मात्रै हो ! राष्ट्रपति कागतीबाजे ! उपराष्ट्रपति धर्तिपुत्र ! सभामुख÷उपसभामुख सबै प्याक ! एकाध मन्त्री/उपप्रधानमन्त्री खाली भएपनि हेडसरसँग कुरै मिल्दैन ! भेटघाटमा सामान्य जय नेपाल भए तापनि राष्ट्रिय भाउजुको फरियाले बेरिएका उनको खासै हैसियत छैन ! दिनै सक्दैनन् ! भाउजू त झन ल्याइते नेता ! मैले जेलमा उसबेलाका पञ्चायती अहिलेका वरिष्ठ काङ्ग्रेस पुलिसको डण्डा खाँदै गर्दा हुँदा उनी समुन्द्रपारि डिस्को नाच्दै बियर तन्काउँदै थिइन् !! चिन्ने कुरै भएन ! दिने कुरो त लंका-पलंका !! फल चैँ के होला त ? व्यापक मस्तिष्क मन्थन चल्दैथियो !
भाइ ईश्वर भट्टराईको फोन आयो ! दाजु ! ‘पशुपतिनगरबाट फर्किदैछु ! बिर्तामोडमा चिया गफ गरौँ !’ आफू भयानक सपनीफल कुरेर बसेको मान्छे ! चियाको निम्तो पो आउँछ ! चारआलि आएपछि फेरि फोन आयो – गणपति बेकरिमा भेटौँ ! गणपति बेकरिमा सेताम्मे तालुमा कालो दलेर युवा देखिन खोज्ने दुई छ्द्मभेषीको मिलन भो !
‘दाइ ! कफी पार्टी चलाउँ है ? ‘ईश्वरको प्रस्तावमा विश्वासको मत हालियो ! मयुरको प्वाँख आकार बनेको कफि आयो ! स-साना कागजका बोरामा चिनी ! जति हालेपनी हुने ! तीन पोका हालेर घोटियो ! तीन पोका हाल्दा पनि हल्का तितो नै थियो ! घर आएर चर्चा गर्दा मालुम भो – क्यापाचिनो भन्दारैछन् ! सगसगै डल्ले कुकिज पनि चपाईयो ! सपनीको फल कफिमै टर्ने त्रास र निकै ठूलो फलप्राप्तिको आशले ईश्वर सग सपनी चर्चा गरिएन ! गोरेले सुन लुकाएझैं लुकाईयो !! हाउडे गफ गर्दै कप रित्याइयो ! मेरो संगतले हो या उखान अंकलकै पार्टीको चल्लो भएर हो ? उ पनि हाउडे गफ दिन सिपालु छ ! हाउडे प्रतियोगिताकै क्रममा बिर्तामोडको एउटा धुर्त ब्यापारीको चर्चा गर्दैगर्दा भाइ बोल्यो – ‘दाइ ! त्यो जालिको चर्चा एकछिन गरेर सकिन्न ! अहिले लाई हाफटाईम ! बैगुनधुरा आउनुस ! दुई चार सेते शहीद बनाउँला ! अगेनोको डिलमा खुकुरीमा मह मिसाएर तन्कासनसँगै सन्ध्याकालिन आरती गर्दै गफिउँला ! यसरी मजा आएन ! अहिलेलाई बाई-बाई ! भाइ बैगुनधुरा तन्कियो ! आफू पनि गुँड पसियो !
घर पुगेर निकैबेर घोत्लिएँ –
यत्रो ठूलो गफाडी राजनेतासँगको नौका बिहार र खोलातराइ जस्तो उत्तम सपनाको फल एउटा झिल्के कफि र बैगुनधुरा पुगेर सेतेका टुक्रा टोक्दै तितो झोल तन्काउने उधारो निम्तो मात्रै हो त ? हैन ! निकै ठुलो फल प्राप्त हुन्छ तर सपना कसैलाई भन्नू चैँ हुन्न !
अझै पनि आश मरेको छैन –
कथमकदाचित राष्ट्रिय भाउजू/जंगली अंकल/काङ्ग्रेस हेडसर लगायत राष्ट्रिय खुस्केटहरूको खोपडी अझै खुस्क्यो र ‘सरकारमा एकाध छुचुन्द्रे पनि आवश्यक देखिएकाले राष्ट्रिय हित खातिर झापाली छुचुन्द्रेलाई उपप्रधानमन्त्री त दिनैपर्छ’ भन्ने उल्टा बुद्धि पस्यो भने त सपनिफल काफल भैगो नि ! यहि आशले पनि बैगुनधुरा यात्रा हाललाई स्थगित राख्दै सपना पनि गोप्य नै राखेको छु ! कतै कहेको छैन ! हेरौँ ! मन्त्रिमण्डल हाउसफुल नहुन्जेल आस्गको त्यान्द्रो छोड्नु पनि भएन !
त्यसपछि पनि सपनिफल गोलखाडी गए ईश्वरको बोइलर खुकुरी विथ हनी त छँदैछ ! चौबिस क्यारेट ब्राह्मण परियो ! कुखुरा चपाए पनि खुकुरी तन्काए पनि जात जाने हैन क्यारे ! जातले पाएको किन छोड्नु ? हैन त !
तर उचित फल प्राप्त नहुन्जेल सपना चैँ ज्यान गए कसैलाई भनिन्न !!
प्रतिक्रिया