सन्दर्भ : जङ्गबहादुरको २०७औँ जन्मजयन्ती
✍ सुनिल उलक

आज जङ्गबहादुरको २०७औं जन्मजयन्ती । कतिले जङ्गलाई नायक सम्झनुहोला, कतिले खलनायक सम्झनुहोला । तर, उनका केही योगदान छन्, जसले गर्दा उनलाई सदैव सम्झनै पर्दछ । देशलाई समय-समयमा यस्ता ब्यक्तित्वहरूको खाँचो पनि हुन्छ । तसर्थ देशमा जङ्गेहरूको जन्म समय-समयमा हुनैपर्दछ । जङ्गबहादुर त्यस बेलाको राजनीतिक खिचातानीले जन्माएको एउटा ब्यक्तित्व थियो, जुन समयको आवश्यकता पनि थियो । म जङ्गलाई मान्दछु । हामीले पूज्ने भगवानहरू नै सय प्रतिशत गुणले भरिएका थिएनन् भने जङ्गमा हामी किन अपेक्षा गर्नु ? उनमा पनि केही अवगुणहरू अवश्य थिए ।
जङ्गका अनेक कथाहरू इतिहासमा धेरै नै पढ्न पाइन्छ । उनका जीवनका शुरुवाती रवाफी समय, भीमसेन थापाको पतनसँगै जागीर गुमाउनु साथै सर्वस्वहरणले गरिवीले आक्रान्त अवस्थापछि पागलतुल्य युवराज सुरेन्द्रबाट विभिन्न कार्य गर्न बाध्य बनाएको अवस्था तथा कोतपर्वपछि राज्यका सर्वेसर्वा बन्दै श्री ३ सम्म बन्न सफल हुनुका अनगिन्ती कथा हामीले पढिरहेका नै छौँ । तर आज म केही भिन्न विषयवस्तु लिएर आएको छु । निकै कम पढ्न पाइने यी विषयवस्तु इतिहासमा निकै रुचि राख्नेहरूले पढिसक्नुभएको पनि होला, तर धेरैलाई जानकारी नहुन सक्छ ।

जङ्गबहादुर राणाको जन्म वि.सं. १८७४ असार ७ गते बुधबारका दिन भएको थियो । उनको जन्मकुण्डली यहाँ राखेको छु, जसका अनुसार उनको जन्म असार शुक्लपक्ष चतुर्थी बुधबारको दिन ३७ घडी २४ पलामा भएको भन्ने देखिन्छ । बोलीचाली भाषाअनुसार रातिको ८ बजेर २ मिनेट जाँदा हुन आउँछ । उनको जन्मनक्षत्र अश्लेषा हो । जन्मराशि कर्कट हो । अश्लेषा नक्षत्रको पहिलो चरणमा जन्म भएको हुँदा उनको चिनाको नाम ‘डी’बाट शुरु हुनुपर्ने हो । तसर्थ कुण्डलीअनुसारको नाम भने वीरनरसिंह हुन सक्दैन । उनको नाम अरु नै हुनुपर्छ । तर यसको उल्लेख कतै गरेको पाइँदैन ।
हुन त यससम्बन्धी सही जानकारी ज्योतिष विज्ञानका ज्ञाताहरूले नै दिन सक्नुहोला । म गलत हुन पनि सक्छु । जेहोस्, ज्योतिष विज्ञानले पक्कै पनि साँच्चैको इतिहासको प्रख्यात जङ्ग बन्नुको कारण उनको चिनामा भएको कुन ग्रहको प्रभावले भनेर निर्क्योल गर्न सक्ला ।
शायद जङ्गे नजन्मेको भए नेपालमा एकआपसको दाउपेचले अंग्रेजको प्रभाव अझ बढ्न सक्थ्यो । जङ्ग हेर्दा दुब्लो-पातलो भए पनि आँटिलो भने पक्कै हो । मानिस हेर्दा केही गर्न सक्ला जस्ता पनि थिएनन्, तर उनमा हिम्मत थियो, जोश थियो । उनको साहसका कथाहरू भने यादगार नै हुनेछ ।

सानै उमेरमा विवाह भएका जङ्गबहादुरले शायद राम्ररी पढ्न पाएनन् होला । तर, आफू प्रधानमन्त्री भएपछि पढ्न र लेख्न सिकेको आभास हुन्छ । उनका हरेक चिट्ठीहरूमा एउटै छापवाला हस्ताक्षर देख्न सकिन्छ । पुरुषोत्तम शम्शेरले अनपढ र गवाँर थिए भनी लेखेको भए पनि उनले कनीकुथी अक्षर पढ्न र लेख्न सिकेको देखिन्छ । उनका अक्षर बाङ्गाटिङ्गा भए पनि बुझ्न भने सकिने नै थिए ।
जङ्गका छोटो जीवनी यहाँ उल्लेख गर्न चाहन्छु ।
सैनिक परिवारमा जन्मेका वीरनरसिंहले पढ्न भने धेरै पाएनन् । तर मुर्ख र जिराहा थिए, त्यसैले उनका मामा माथवरसिंह थापाले उनलाई जङ्गे भनेर बोलाउथे । पछि उनी यही नामले नै प्रख्यात भए । केवल ११ वर्षको उमेरमा वि.सं. १८८५ बैशाख २१ मा विवाह भयो । विवाहको केही समयमा नै बाबुको साथमा धनकुटा पुगे । त्यसपछि डडेलधुरा पुगे । यही क्रममा घोडा चढेर विभिन्न करतुत गर्न सिपालु हुँदै गए ।
भण्डारखाल पर्वपछि मामा भीमसेन थापाले सत्ता पाएको सुनेका जङ्गबहादुर पनि सत्ताको स्वाद चाख्न चाहन्थे । तर १८९४ मा भीमसेन थापाको पतन भएपछि पाण्डेहरूले थापा मात्र होइन जङ्गको परिवारलाई पनि लखेटे । यसरी हरतरहबाट दुखित भएका जङ्गबहादुर जुवाको लतमा फँसे । तर चारैतिरबाट दुःखले घेरिएकोलाई केहीले पनि साथ दिँदैन भनिन्छ । जङ्गेलाई पनि त्यस्तै भयो । उनले जुवामा धेरै हारे तर तिर्ने रकम थिएन । यस्तैमा राँगोब्यापारी धनसुन्दर साहुले रू ११०० सापट दिएकोले ऋण तिरे । विरक्तिएर बनारस पुगेका उनले त्यहाँ पनि जागीर पाएनन् । फेरि काठमाडौं पर्किए, यता श्रीमतीको सुत्केरी ब्यथाले मृत्यु भएको खबर पाए । साली विवाहको लागि माग्न गएका उनलाई ससुराले बचन लगाएर फर्काए । दुःखी भएका उनले नन्दकुमारीसँग दोश्रो विवाह गरे । दाइजोमा ल्याएको पैसाले धनसुन्दरको ऋण तिरे । नन्दकुमारीसँगको विवाहपछि उनको भाग्य चम्कियो ।
वि.सं. १९०३ भदौ ३१ मा गगनसिंहको हत्या गरेका उनले सोही राति कोतमा आमहत्याको अवस्था सिर्जना गरी सत्ता पाए । यसरी सत्तामा पुगेका जङ्गबहादुर पूर्णरूपमा सर्वेसर्वा भए । यसरी राजकाजमा शक्तिशाली बनेका जङ्गबहादुरले वि.सं. १९०३ असोज २ गते राजा राजेन्द्रबाट लालमोहर पाइ मुख्तियार बनेका थिए भने वि.सं. १९१३ साउन १८ बाट भने कास्की र लमजुङका श्री ३ महाराज बनेका थिए ।

देशको प्रधानमन्त्री बनेका जङ्ग १९०७ जेठ १५ मा लण्डन पुगे । भदौ ७ मा पेरिस पुगे । राष्ट्रपति लुइस नेपोलियन बोनापार्टसँग भेट गरे । जङ्गबहादुर स्वदेश फर्कंदा यूरोपको काइदा कानुनको साथमा त्यहाँ रहेका ठूला–ठूला महलका सिर्जना पनि हेरेर आए । यसर्थ नेपालमा ठूला ठूला दरबारहरू बनाउन लगाए ।
वि.सं. १९१० मा जङ्गबहादुरले पहिलो पटक नेपालको जनगणना लिएका थिए । ऐतिहासिक दस्तावेज निकै नौलो थियो । वि.सं. १९११ मा नेपालको पहिलो ऐन बनाए । कानुनी रूपले यी ऐनको त्यति महत्व नहोला तर उनको प्रयासलाई मान्नुपर्छ ।
१९१३ सावन १९ देखि १९१४ असार १६ सम्म करिव एक वर्ष भाइहरूलाई अख्तियारी दिए । पछि पञ्जाछापसहित श्री ३ पाएपछि आफै सत्तामा फर्किए ।
वि.सं. १९२५ चैत्र २६ गते अट्कोनारायणमा ठूलो आगलागी भयो । साहु धर्मनारायणको घर जलेर ध्वस्त भयो । आगलागी १३ महिनासम्म भइरह्यो । जङ्गले साहु धर्मनारायणलाई लाखौँ सहयोग गरे । घर बनाउन र पछि भोटको ब्यापार गर्न पनि सघाए ।
वि.सं. १९२६ सालबाट नेपालको नक्सा बनाउन शुरू गरिएको १९३२ मा पूरा भयो ।
१८७७ फेब्रुअरी २५ अर्थात् वि.सं. १९३३ फागुन १६ आइतबार द्वादशी शुक्लपक्षको दिन जङ्गबहादुरको पत्थरघट्टामा बागमती किनारमा मृत्यु भयो । शिकारमा निस्किएका उनको मृत्यु इतिहासमा विभिन्न कोणले लेखिएको छ । खैर ! उनको मृत्युपछि जङ्गको शवलाई चार दिनसम्म तेलमा डुबाएर राखिएको थियो । मृत्युको चौथो दिन जङ्गको दाहसंस्कार भएको थियो ।
जङ्गले जस्तोसुकै ठूलो सफलता हासिल गरे तापनि उनका सन्ततिले भने यसको फाइदा लिन पाएनन् । यो दुर्भाग्यपूर्ण थियो । जङ्गले सत्तामा पुग्न अन्यको हत्या गरे, आफन्तको गरेनन् । तर जङ्गको अवसानको ९ वर्षपछि जङ्गको आफ्नै भाइ धीरशम्शेरको जेठो छोरा वीरशम्शेरले आफ्नै ठूलोबुबा श्री ३ रणोद्वीपको हत्या गरि सर्वेसर्वा भए, जङ्गका सन्तति कतिपयलाई निर्वासनमा रहन बाध्य बनाए भने कतिको हत्या गरेर सत्ता आफ्नै सत्रभाइभित्र बनाए । यस षड्यन्त्रका सुत्रधार अरु थिएनन्, जङ्गले नै धर्मपुत्र बनाएर हुर्काएका वीरशम्शेर थिए । तर यी धीरका सन्तानले जङ्गको नाम बेच्दै आफ्नो नामको पछाडि जङ्गबहादुर राणा झुन्ड्याए ।
प्रतिक्रिया