आत्ममूल्याङ्कन गर्ने बेला

आत्ममूल्याङ्कन गर्ने बेला


हामीले शिक्षा, भाषा-साहित्य, पत्रकारिता आदि क्षेत्रलाई समेत चोखो राख्न सकेनौँ । हामी विश्वलाई यो दिन सक्छौँ भनेर शिर ठाडो पारेर भन्न सक्ने स्थितिमा रहेनौँ ।
✍ हरि मञ्जुश्री

मुलुकको वर्तमानकालीन समग्रतालाई दृष्टिगत गर्दा हामीले आफ्नो क्षमताप्रति आत्ममूल्याङ्कन गर्नुपर्ने देखिइसकेको छ । हामीले राम्रो र नराम्रो, ठीक र बेठीक, सत्य र असत्य अनि न्याय र अन्याय छुट्याउनसमेत जानेका छैनौँ कि भन्ने कुरालाई लिएर आफूलाई आफैंले जाँच्न थाल्ने हो भने हामी त्यस परीक्षणमा अनुत्तीर्ण हुने सङ्केत देखापरिसकेको छ ।

हामी नेपालीका वर्तमान क्रियाकलाप र राजनीतिको आडमा भइरहेका गतिविधिहरू देख्ता के लाग्छ भने हामीले आफूलाई चिन्न सकेनौँ, आफ्नो वरिपरिका मान्छेहरूको मनस्थिति र आफ्नो वरिपरिको परिस्थितिलाई बुझ्न सकेनौँ, आम जनसमुदायको भावनालाई थाहा पाउन सकेनौँ अनि आफ्ना छिमेकी मुलुकहरूको र टाढाका मुलुकहरूको स्वार्थलाई पनि बुझ्न सकेनौँ । त्यसैले हामी कहिले जातिका नाउँमा, कहिले धर्मका नाउँमा, कहिले भाषाका नाउँमा, कहिले सम्प्रदायका नाउँमा व्यर्थैको विवाद गरिरहेका छौँ ।

हामी हरेक पक्षमा राजनीतिलाई जोडिरहेका छौँ । शिक्षा, स्वास्थ्य, प्रशासन, व्यवस्थापन, ऊर्जा, सञ्चार, भाषा, कला, साहित्य, उद्योग–व्यवसाय आदिमा पनि हामीले जानेर वा नजानेर राजनीतिलाई प्रवेश गराइसकेका छौँ । राष्ट्रिय स्वार्थबाट तल झरेर हामी पार्टीगत स्वार्थ, समूहगत स्वार्थ, धार्मिक स्वार्थ, साम्प्रदायिक स्वार्थ, भाषिक स्वार्थ, लिङ्गीय स्वार्थ, जातीय स्वार्थ आदि हुँदै व्यक्तिगत स्वार्थमा झरिसकेका छौँ । राष्ट्र र राष्ट्रिय गौरव अब हाम्रा लागि कुनै महत्वका रहेनन् । पुँजीका लागि हामी आफूले बेच्न सक्ने जुनसुकै कुरा पनि बेच्ने भएका छौँ । आफ्नो इतिहास, आफ्नो गौरवगाथा, आफ्नो प्राकृतिक सम्पत्ति र आफ्नो अस्मितासमेत बिक्री गर्न हामीलाई लाज लाग्न छोडिसकेको छ । पैसा पाए भने नेपालीहरू जस्तोसुकै पवित्र वस्तुलाई पनि बिगार्छन् र जुनसुकै खराब काम गर्न पनि हिचकिचाउँदैनन् भन्ने कुरा विश्वले देख्न थालिसकेको छ । त्यसैले यस मुलुकलाई र मुलुकका वासिन्दालाई वशवर्ती बनाउन कसैले चाह्यो भने उसको आकाङ्क्षा पूर्ति हुन अब गाह्रो छैन ।

यस्तो स्थिति हेर्दा लाग्छ– विभिन्न क्षेत्रका हाम्रा गुरुहरूले हामीलाई असल संस्कार दिएनन् या हामीले असल संस्कार लिन सकेनौँ, हाम्रा राजनेताहरूले राजनीतिलाई ठीक ढङ्गमा हिँडाउन सकेनन् या उनीहरूले चाहेअनुसार हामी हिँड्न सकेनौँ, हाम्रा मार्गदर्शकहरूले अरूको प्रभाव या प्रलोभनमा परेर हामीलाई सही मार्गदर्शन गराउन सकेनन् या हामीले नै उनीहरूको मार्गदर्शन ग्रहण गर्न सकेनौँ । राजनीतिलाई अराजनीति बनाउनुलाई नै राजनीति देख्ने हाम्रो दृष्टिदोषले गर्दा पो हामी यस्तो स्थितिमा आइपुगेका हौँ कि ?

विश्वमा हाम्रो मुलुक कुन क्षेत्रमा बलियो रहेछ भनेर हामीले हेर्ने हो भने हामीलाई त्यस्तो क्षेत्र भेट्न गाह्रो पर्छ । हामीले शिक्षा, भाषा-साहित्य, पत्रकारिता आदि क्षेत्रलाई समेत चोखो राख्न सकेनौँ । हामी विश्वलाई यो दिन सक्छौँ भनेर शिर ठाडो पारेर भन्न सक्ने स्थितिमा रहेनौँ । हाम्रै मुलुकका लागि आवश्यक पर्ने जनशक्ति हामी विदेश पठाइरहेका छौँ । अराजनीतिक राजनीतिले गर्दा बौद्धिक वर्गमा पनि पलायन र चरम निराशाको अभिव्यक्ति आउन थालिसकेको छ । नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, अर्थसम्पन्न, प्रत्येक क्षेत्रमा विकसित र गौरवशाली मुलुक देख्न चाहने हरेक नेपालीका लागि यो ज्यादै पीडाको विषय हो ।

हामीले हाम्रो मुलुकलाई यस्तै बनाउन चाहेका हौँ त ? पक्कै होइन । हामीले अवश्य पनि राम्रो गर्न चाहेका हौँ, तर हाम्रा क्रियाकलापहरूका कारणबाट परिणामचाहिँ नराम्रो निस्किरहेको छ । त्यसैले हाम्रा क्रियाकलापप्रति अब हामीले नै मूल्याङ्कन गर्नुपर्ने बेला भइसकेको छ ।