‘राणाशासक’मध्ये सर्वाधिक वृद्ध उमेरमा जो ‘श्री ३’ बने

‘राणाशासक’मध्ये सर्वाधिक वृद्ध उमेरमा जो ‘श्री ३’ बने


इतिहास
✍ सुनिल उलक

श्री ३ बन्ने प्रतीक्षा गर्दागर्दै २८ वर्षसम्म लगातार कमाण्डिङ अफिसर पदमा रहेका भीमशम्शेर अन्ततः आफू भन्दा मात्र दुई वर्षले जेठा श्री ३ चन्द्रशम्शेरको ६७ वर्षको उमेरमा देहान्त भएपछि ६५ वर्षको बुढो उमेरमा वि.सं. १९८६ मंसिर १० गते श्री ३ बन्ने सौभाग्य पाएका थिए । राणा श्री ३ हरूमा सम्भवतः सबैभन्दा बढी उमेरमा श्री ३ हुने नै भीमशम्शेर जङ्गबहादुर राणा नै थिए । नेपालको इतिहासमा नै हेर्ने हो भने गिरिजाप्रसाद कोइराला सबैभन्दा बढी उमेरमा प्रधानमन्त्री हुनेमा पर्दछ ।

मुस्किलले ३ वर्ष पनि श्री ३ बन्न नपाएका भीमशम्शेरको कालगतिले नै १९८९ भदौ १७ मा देहान्त भएको थियो । राणा शासकहरूमा सोझो र बुढो प्रधानमन्त्री भीमशम्शेरको ब्याइते रानी कान्छा बडामहारानी थिइन् भने ल्याइतेमा सीता महारानी तथा गुन्जन महारानी थिइन् । सीता महारानीको कथा निकै रोचक छ । जेठी बडामहारानी विमार हुँदा हेरविचार गर्न ल्याइएकी तामाङ केटी थिइन् डीला । भोजपुर सिमपानीकी ब्लोन तामाङ थरकी सीता भने त्यसबेलाको मुर्मी परिवारबाट पनि भाग्यमानीमा परेकी थिइन् । बुढो उमेरमा २४ वर्षकी डीला तामाङसँग विवाह गर्दा भीमशम्शेरले बडामहारानी बनाउने बचन दिएका थिए । खासमा ल्याइतेलाई बडामहारानी बनाउन असम्भव थियो । तर आफै श्री ३ भएपछि कसको के लाग्थ्यो ! जेठी रानीको देहान्त हुनासाथ बडामहारानी बनाइदिए । साथै मुर्मि भोट्या भनिँदै आएकाहरूलाई सम्मानसाथ तामाङ लेख्न पाउने बनाइदिए ।

भीम शम्शेरले सीता महारानीका नाममा दरबार बनाइदिए, जसलाई सीता दरबार भनिन्छ । जहाँ बालमन्दिर रहेको छ । २०७२ को भूकम्पले जर्जर बनेको दरबार पूनःनिर्माणको प्रतीक्षामा छ । साथै विवाहअगाडि नै सीता महारानीबाट जन्मने छोरीलाई युवराज महेन्द्रसँग विवाह गराइ भविष्यको रानी बनाउने बचनसमेत दिएका थिए । राजा त्रिभुवन तैयार पनि भइसकेका थिए तर अचानक वि.सं. १९८९ भदौ १७ गते भीमशम्शेरको नै देहान्त भयो । जुद्ध शम्शेर श्री ३ बने । जुद्धले भीमको छोरी होइन आफ्नो नातिनीको विवाह युवराज महेन्द्रसँग गराइदिए ।

राणाशासकहरूमा दुइ राणा प्रधानमन्त्री भने बाबुछोरा नै श्री ३ बन्ने सौभाग्य पाएका थिए । श्री ३ चन्द्रशम्शेर र उनका छोरा मोहनशम्शेर तथा श्री ३ भीमशम्शेर र उनका छोरा पद्मशम्शेरले श्री ३ बन्ने सौभाग्य पाएका थिए ।

भीमशम्शेरको मृत्युपछि श्री ३ बनेका जुद्धशम्शेरले भने रोलक्रममा फेरबदल गराए । ल्याइते सबैलाई रोलक्रमबाट हटाइदिए । जसले गर्दा भीमशम्शेरको ल्याइते दुई रानी नै अधिकारविहीन बने साथै उनका छोराहरू पनि सर्वस्वमा परे । भीमकी कान्छी रानी भने दरबारकी नर्तकी गुन्जन थिइन् । गुन्जनतर्फका छोराहरू पनि रोलक्रमबाट हटाइएका थिए ।

जुद्धशम्शेरले रोलक्रमबाट श्री ३ हुन लागेका रुद्रशम्शेरको साथै भीमशम्शेरको सीता महारानीतिरका छोरा हिरण्यशम्शेर तथा प्रकाशशम्शेरलाई पनि सर्वस्वसहित निकालेर पठाए । कान्छी गुन्जन रानीतर्फका छोरा रामशम्शेरको साथै अन्य दासीपुत्रहरू पनि निष्काशित भए । साथै युवराज महेन्द्रसँग विवाह हुन लागेका दिव्येश्वरी राज्यलक्ष्मीको पछि भारत धरमपुरका महाराजा राजेन्द्रसिंहसँग तथा पिताम्वरी राज्यलक्ष्मीको पनि नेपालबाहिर नै विवाह भएको थियो ।

देशमा राणाशासनको अन्त्यको लागि यहि सर्वस्वहरणसहित भारतमा निर्वासनमा रहेका हिरण्यशम्शेर र प्रकाशशम्शेरका छोराहरू लागे । नेपाली काङ्ग्रेसलाई आर्थिक सहयोग गरेर देशभित्र विद्रोहको आवाज उठाए । हिरण्यशम्शेरका छोरा सुवर्णशम्शेर तथा प्रकाशशम्शेरका छोरा महावीर शम्शेरले आन्दोलनमा आर्थिक सहयोग गरेर देशमा राणाशासनको अन्त्य गर्न ठूलो भूमिका खेले । प्रकाशशम्शेरका छोरा महावीरशम्शेरले नेपालमा पहिलो हवाइजहाज सेवाको शुरुवात गरेका थिए । हिमालयन एभिएशनको नाममा नेपालमा पहिलो हवाइजहाज डिसी-३ उडेको थियो । पोखरा विमानस्थलमा पहिलो पटक बीपी र गणेशमानसिंहलाई लिएर हिमालयन एभिएसनको विमान नै पोखरा पुगेको थियो ।

धनकुटामा बडाहाकिम बनाएर सर्वस्वहरणसहित निष्काशित भएका हिरण्यशम्शेरको कान्छी रानी ललिता राज्य लक्ष्मीको दरबार ललिता निवास पनि सर्वस्वमा परेको थियो । देशमा प्रजातन्त्र आएपछि राजा त्रिभुवनको समयमा श्री ३ मोहनशम्शेरले फिर्ता गराएका थिए । पछि २०१७ सालमा राजा महेन्द्रबाट फेरि ललिता निवास रहेको जमिन सरकारीकरण भयो । देशले गणतन्त्र पायो तर देशमा प्रजातन्त्र ल्याउन आफ्नो सर्वस्व गुमाएका सुवर्ण सुवर्णशम्शेरका सन्ततीले सुवर्णशम्शेरको रानीको नाममा रहेको ललिता निवासले चर्चेको जमिन फिर्ता पाएन । भूमाफियाको चंगुलमा फसेको यो बहुमुल्य जमिन आज अदालतको मुद्दामा अल्झेको छ ।

यता प्रकाशशम्शेरका छोरा महावीरशम्शेर प्रजातन्त्रपछि विभिन्न मन्त्रालय सम्हाल्दै मन्त्री बनेका थिए, तर पछि कलकत्तामा नै रमे । टाइगर सिनेमा, डलहौजी प्रोपर्टिज, हुमायूँ प्रोपर्टिज, हिमालयन एभिएशन, कलकत्ता क्लव तथा क्लव घण्ण् का मालिक रहेका महावीरको सन्ततीको अहिले पनि कलकत्तामा ठूलो धनराशी लगानी रहेको छ ।

राजा त्रिभुवनको समय बिताउने गरेको ‘क्लब-३००’मा रेष्टुरेन्ट सञ्चालन गरेका बोरिस लुसानोबीच राजा त्रिभुवनको आग्रहमा काठमाडौं आए । रोयल होटलबाट पर्यटन ब्यवसायको शुरुवात गरेका बोरिस नेपालमा पर्यटन ब्यवसायका जनक हुन् ।

यहाँ प्रस्तुत गरिएको तस्बिर श्री ३ भीमशम्शेर तथा भारतका लागि चिनिया कन्सुलर जनरलको हो । चिनिया सरकारले श्री ३ भीमशम्शेरलाई आफ्नो देशको सर्वोच्च पदक ‘टुङ लिङ पिङ मा कुओ काङ वाङ’ तथा चिनिया सेनामा मानार्थ जनरलको पद दिए पछि सो हस्तान्तरण गर्न चिनिया प्रतिनिधि नेपाल आएका थिए । सो भ्रमणमा चिनिया कन्सुलर जनरल आफ्ना श्रीमती तथा छोराको साथ नेपाल भ्रमणमा आएका थिए ।