देशको माया कसलाई बढी ?

देशको माया कसलाई बढी ?


देश धितो राखेर सेवा-सुविधा लिने नेता र सांसदहरूलाई भन्दा चोक-गल्लीमा भारी बोक्ने भरियालाई बढी छ देशको माया !

✍ अनुसा थापा

नेपालले विदेशलाई तिर्नुपर्ने ऋण बढेकोबढ्यै छ । बाह्य मुलुकसँग लिएको ऋण झण्डै २२ खर्ब पुगिसकेको छ । अहिले एक जना नेपाली नागरिकको थाप्लोमा लगभग ९० हजार रुपैयाँ विदेशी ऋणको भारी छ । विदेशीसँग लिएको ऋण तिर्न नसक्ने अवस्थामा सरकार पुगिसकेको छ । ऋण लिएकोलियै गर्ने र नतिर्ने हो भने नेपाल कालोसूचीमा पर्न बेर लाग्दैन । मुलुकको अस्तित्व पनि नरहन सक्छ । अब मुलुक जोगाउने तीन वटा उपाय बाँकी छ । पहिलो- विदेशीसँग ऋण लिएर सरकारी खर्च धान्ने काम तत्काल बन्द गरौँ । दोस्रो- विदेशी ऋण मिनाहाका लागि पहल गरौँ । तेस्रो- सबैतिरबाट कर उठाऔँ । करबाटै सरकारी खर्च धानौँ । सरकारी खर्च सक्दो कटौती गरौँ ।

सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट संसद्मा पेश गऱ्यो । बजेटमा करको दायरा हेरफेर गरिएको छ । अर्थमन्त्रीले कुनै बस्तुमा कर बढाएका छन् त कुनैमा यथावत नै छ । उनले विभिन्न शीर्षकमा कर बढाएपछि संसद्मा चर्को विरोध भइरहेको छ । अर्थ मन्त्रालयले व्यापारीहरूले तिर्नुपर्ने कर बढाएको छ । व्यापारीहरूलाई कर बढाएको भन्दै सांसदहरू सदनमा कोकोहोलो मच्चाइरहेका छन् ।

सरकारले कर नबढाउने हो भने सरकारी खर्च कसरी धान्ने ? विदेशी ऋण कहाँबाट ल्याएर तिर्ने ? सरकारी खर्च धान्ने एउटा मात्र आयस्रोत कर हो । खर्च धान्नेजति कर नउठ्दा सरकारले विदेशीसँग ऋण लिएर सरकारी कर्मचारी पालिरहेको छ । सांसदहरूलाई तलब खुवाइरहेको छ । कर नै बढाउन नदिने हो देश त ‘गोलखाडी’मा जान्छ । तर, सांसदहरू यति सामान्य कुरा पनि बुझ्दैनन् । व्यापारीहरूले वर्षौंदेखि कर तिरेका छैनन् । उनीहरूबाट कर उठाउनुपर्छ भनेर आवाज उठाउने आँट त यिनीहरूमा छैन । ‘कर उठाउ’ भन्नुको साटो ‘कर किन बढाएको ?’ भन्दै संसद्मा नौटङ्की मात्रै देखाइरहेका छन् ।

हिजो चुनाव लड्ने बेला व्यापारीहरूसँग खाएको त अहिले निकाल्नुपऱ्यो नि, होइन र ? यता, सदनमा पनि ‘दलाल’ पुगेका छन्, अनि मुलुकले कसरी निकास पाउँछ ? कोही शेयर दलाल त कोही घरजग्गा दलाल । यिनीहरूकै दबाबमा आएर सरकारले शेयर र घरजग्गाको कर फिर्ता लिइहाल्यो । मुलुकको अर्थतन्त्र डामाडोल छ । बजारमा पूरै मन्दी छाएको छ । मुलुक आर्थिक सङ्कटमा गएको बेलामा समेत यिनीहरूले तलब भत्ता छोडेका छैनन् । सरकारी गाडी चढि नै रहेका छन् । देशविदेश घुम्ने क्रम पनि जारी नै छ ।

यस्तै, ठेकेदारसँग कमिशन खाने दुष्कर्म पनि रोकिएको छैन । देश जटिल मोडमा छ तर कुनै सांसदले तलब भत्ता लिन्नँ, सेवा-सुविधा चाहिँदैन भनेर भनेका छैनन् । आफूचाहिँ केही नत्याग्ने, भएजति सबै सोहोर्न खोज्ने अनि सरकारले कर बढाउन पाउँदैन भनेर सदनमा चिच्याउने ! यस्ता दोहोरो चरित्र भएका त सांसद छन् देशमा ! उनीहरूलाई सेवासुविधा पनि बढी-बढी चाहिएको छ । सेवासुविधा दिनलाई त राज्यसँग पनि स्रोत हुनुपर्ला नि । ढुकुटी रित्तो छ तर सांसदहरूको माग बढेकोबढ्यै । राज्यले कहाँबाट ल्याएर परिपूर्ति गर्ने ?

राष्ट्रप्रेम भएका सांसदहरू सदनमा कमै छन् । राष्ट्रिय पोशाक लगाउँदैमा राष्ट्रप्रति माया जाग्ने होइन । मुखले जति नै राष्ट्रियताको भाषण ठोके पनि व्यवहारले प्रमाणित गरिहाल्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने घोषणा गरेका छन् । चितवनका जनताले पत्याए भन्दैमा देशभरका जनताले पत्याउँछन् जस्तो लाग्छ ? चुनाव जित्नका लागि जनताको मन जित्नुपर्छ । जो सदनमा उभिएर कहिल्यै जनताको पक्षमा आवाज उठाउँदैन । राष्ट्रका लागि सामान्य सेवासुविधा त्याग गर्न सक्दैन, ऊ राष्ट्रप्रेमी नेता रे !

मुखले भट्याउँदैमा राष्ट्रप्रेमी बनिँदैन, राष्ट्रप्रेम झल्किने काम गर्नुपर्छ । सदनमा धेरै सांसद् त्यस्ता छन् । सबै आफ्नै धोक्रो भर्न आएका हुन् । जनताका लागि न हिजो कोही आए न भोलि आउने आश गर्न सकिन्छ । जो फटाहा कुरा बोल्न सक्छ, स्टन्टबाजी गर्छ जनता पनि उसैको पछि दौडिरहेका छन् । कुरा होइन काम हेरौँ । जनताको लागि केही गर्छु भन्ने भावना बोकेर आएका केही सांसदहरू ‘फटाहा’हरूको कारणले ओझेलमा परेका छन् । हामीलाई विकास चाहिएको छ, आश्वासन होइन । आश्वासन त यहाँ सबैले दिन्छन् तर पूरा पो कसैले गर्दैनन् !

सांसदहरूले लगाएको लोगो राष्ट्रियताको प्रतीक हो । तर, सांसदहरूले राष्ट्र र जनताको हित हुने गरी कुनै काम गरेका छन् त ? छैन । वास्तवमा भन्ने हो भने सांसदहरू उद्योगी-व्यवसायीका झोले हुन् । यिनीहरूले उद्योगी-व्यवसायीको पक्षमा काम गर्छन् । नेताहरूले नेपाललाई ऋणको दलदलमा फसाइदिए । केही वर्षैमा नेपालले तिर्नुपर्ने विदेशी ऋण दोब्बर-तेब्बर भयो । देशमा के-के गर्छु भन्ने रवैयाका साथ नयाँ पार्टीहरू आए । मुलुकमा विकासको मूल फुटाउँछौँ भनेर जनतालाई गुलिया आश्वासन दिए । अहिले आएर सबै छर्लङ्ग भइहाल्यो !

नयाँ र पुराना दलमा कुनै भिन्नता छैन । नयाँले पनि तलब खाए, भत्ता र सेवासुविधा लिए । पूरानाले त लिँदै आएकै थिए । राज्यको ढुकुटीमा पूरानाले मात्र कति राज गर्ने अब हाम्रो पालो भनेर रवि लामिछानेजस्ता आएका हुन् । अमेरिका छोडेर नेपाल फर्किएका उनले टेलिभिजनमा बसेर पूराना दलका नेताहरूलाई बेस्सरी गाली गर्दै आएका थिए । सेवासुविधा लिए, राज्यको ढुकुटीमा मोजमस्ती गरे भनेर घोक्रो सुक्नेगरी चिच्याउने त उनी नै हुन् । उनी आफैं पनि अहिले सांसद छन् । एक महिनाका लागि गृहमन्त्री पनि बने । तर, के नै परिवर्तन गरे त ?

उनी र अन्य नेतामा कुनै फरक देखियो ? आफूले खान नपाएर जलन जलेकाले त त्यसरी चिच्याएका रहेछन् भन्ने त प्रमाणित भइसकेको छ । पहिले आफू सुध्रिनुप¥यो अनि अरुलाई सुधार्न लाग्नुपऱ्यो । अहिलेकै पारा हो भने २०८४ सालमा नेपालले तिर्नुपर्ने विदेशी ऋण ४४ खर्ब पुग्छ । अनि जनताले यिनीहरूलाई छोड्दैनन् । त्यसपछि को पहिलो पार्टी बन्दोरहेछ भन्ने त थाहा भइहाल्छ । यिनीहरूले जति मोजमस्ती गरे, त्यो सबै देश धितो राखेर गरेका हुन् । माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै उस्तै छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, भूपू राष्ट्रपति, प्रधानमन्त्री, सरकारी कर्मचारीलगायत सबैले देशलाई दाउमा राखेका छन् ।

विदेशबाट लिएको ऋण यिनीहरूको सेवासुविधालाई नै ठिक्क भएको छ । भोलि मुलुकमा विदेशी हस्तक्षेप भयो भने यिनीहरूलाई जनताले देशनिकाला गर्छन् । राष्ट्रभन्दा ठूलो केही हो ? धमाधम विदेशीसँग हात फैलाउनुअगाडि सोच्नुपर्दैन । हाम्रोजस्तो अल्पविकसित मुलुकले ऋण लिएर कहाँबाट तिर्ने ? जनताहरूको अवस्था नदेख्ने अनि जे मनलाग्यो त्यही गर्ने ? राज्यशक्तिमा बस्नेहरूको मात्र त देश होइन होला नि ? नेपाल सबै नेपाली जनताको हो । तर, यिनीहरूलाई देश धितो राख्ने अधिकार कसले दियो ? विदेशीसँग लिएको ऋण कहाँ खर्च भयो ? जनतालाई जानकारी छैन, जानकारी चाहियो ।

कतिपय जिल्लामा आज पनि बाटो पुगेको छैन । अस्पताल छैन । पढ्नका लागि पाँच घण्टाको बाटो हिँड्नुपर्छ । दुई छाक खानका लागि धौ-धौ छ । जनताको समस्या ज्युँकोत्युँ छ । उनीहरू हिजो जहाँ थिए, आज पनि त्यहीँ छन् । उनीहरूको जीवनमा कुनै परिवर्तन आएन । जति पनि परिवर्तन आयो, ‘शोषक’हरूको जिन्दगीमा आयो । हिजो पनि जनता उपचार नपाएर मरेका थिए, आज पनि मरिरहेका छन् । जनताको जीवनस्तरमा कुनै सुधार आएको छैन भने उनीहरूको थाप्लोमा यत्रो ऋणचाहिँ किन लाग्यो ? नेता र सरकारी कर्मचारीलाई भन्दा धेरै देशको माया त चोक तथा गल्ली-गल्लीमा भारी बोक्ने भरियालाई छ । उनीहरूले आफ्नो रगत-पसिना बेचेर खाए तर नेता र सरकारी कर्मचारीजस्तो देश बेचेर त खाएनन् । सुकिलामुकिलाहरू देख्दा आज जनतालाई घृणा लागेर आउँछ । गरिब नै भएपनि नेपाली नागरिक हुनुको महत्व भरियालाई बरु थाहा छ ।