दुई करोड तेत्तीस लाखको लागूऔषधसहित विदेशी र नेपाली गरी १० जना पक्राउ

दुई करोड तेत्तीस लाखको लागूऔषधसहित विदेशी र नेपाली गरी १० जना पक्राउ


प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागूऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि असार १७ सम्म गरेको लागूऔषधविरुद्धको आठ वटा अपरेसनमा उनीहरूलाई पक्राउ गरी ठूलो परिमाणको लागूऔषध बरामद गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँचजना विदेशी छन् भने पाँचजना नेपाली रहेका छन् । उनीहरूका साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त लागूऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिकहरू डेभिड मिनाडो, मार्टिन शेर्ना र पवल वेष्र्ट रहेका छन् । उनीहरूमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।