सहकारी ठगहरूको हर्कतले लोकतन्त्र बदनाम !

सहकारी ठगहरूको हर्कतले लोकतन्त्र बदनाम !


नेपाली समाजमा नकारात्मकता यति धेरै वृद्धि हुँदैछ कि मानिसहरू ‘सबै चोर हुन्’, ‘राज्य प्रणालीमा रहेका पूरै अपराधी र ठग हुन्’ भन्ने भाष्य, सोच तथा ‘आम आवाज’ बन्दैछ, बनाइँदैछ । सहकारीका ठूला ठग र अपराधीहरूका ठगी धन्दा र गम्भीर अपराध एवम् भ्रष्ट हर्कतका कारण लोकतन्त्र बदनाम हुँदैछ । यही कारण लोकतान्त्रिक/गणतान्त्रिक राजनीतिक प्रणाली तथा सार्वजनिक मुद्दाप्रति मानिसहरूलाई सकारात्मक उर्जा दिन सकिएन । उद्देश्यहीन, दिशाहीन, लक्ष्यहीन र दृष्टिकोणविहीन नकारात्मक आक्रोश वा आगोले सबैको नास गर्ने बाहेक केही गर्दैन । अतिवाद र नकारात्मकता जहिल्यै घातक हुन्छ । विश्व इतिहासमा पनि अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति र व्यवहार, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका राजनीतिमा प्रवेश गर्दाका उग्रखाले अभिव्यक्तिहरू, युक्रेनका राष्ट्रपति झिलिनोस्कीका उग्रराष्ट्रवादी अभिव्यक्ति आदिले उनीहरूलाई मात्र सकेन तिनका पार्टी र मुलुकमा समेत भाँजो पा ऱ्यो ।

नेपालमा रवि लामिछाने जस्ता सहकारी ठगीमा संलग्न भएका अराजक हुर्दुङ्गाले गणतन्त्रमा हिलो छ्याप्दै धमिलो पार्दैछन् । नकारात्मक आगोद्वारा अन्य व्यक्ति, संस्था, प्रणाली र निकायलाई झोस्न खोज्ने नकारात्मक ज्वाला प्रत्येकको प्रगतिको बाधक भएर आएको देखिन्छ । अर्काेतर्फ ‘कान्तिपुर भनेको लोकतन्त्र हो’ भन्ने भाष्य स्थापित गर्न खोजियो । यो कुरा पनि अतिवादी धारणा रह्यो । यसले निजी हित, आफ्नो स्वार्थबाहेक सबैलाई नकार्ने प्रवृत्ति समाजमा ह्वात्तै बढाएको छ ।

सूचना प्रवाह गर्ने सार्वजनिक सञ्चारमाध्यम लोकतन्त्रमा अत्यावश्यक क्षेत्र हुन् । तर सस्तो, छिटो र बढी प्रचार गर्दै धेरै कमाउने सोचका कारण अनेकखाले हर्कत र गलत प्रवृत्तिले बढावा पाएको छ । साथै सामाजिक सञ्जालको दूरुपयोग अति धेरै बढेको छ । युट्युबरका झुट्टा र फट्याइँपूर्ण हर्कतले समाज भ्रमित मात्र बनेका छैनन् राज्यसत्ता, नेता, सरकार, प्रणाली जतापनि जसले जस्तोसुकै अराजक, गैरकानुनी आक्षेप लगाउन पाउने जस्तो वातावरण निर्माण गरियो, गरिँदैछ । समाजमा गलत हल्ला, कूप्रचार, अनावश्यक हल्ला, झुट्टा प्रचार र अफवाह फैलाएर नीहित स्वार्थ सिद्ध गर्ने तत्व बढेका देखिन्छन् । ‘रवि लामिछाने प्रवृत्ति’ बढ्नुमा यही सोच हाबी भयो । आफूबाहेक सबैलाई ‘चोर’ र ‘निकम्मा’ भन्ने, देखाउने प्रवृत्ति यिनले नै बढाएका हुन् । सहकारी ठगी, गैरकानुनी हर्कत, धन्दा गर्ने, भ्रष्टाचार र लुट मच्चाउने अनि लुक्न र छोपिन राजनीतिक दल र सत्ताको जामा पहिरने प्रवृत्तिले गणतन्त्र बदनाम र धमिलो बन्नेमात्र हो ।

आफू पानीमाथिको ओभानो भएर ‘सच्चा र चोखो’ देखाउँदै ‘ठूलो बन्ने’ प्रवृत्ति बढ्यो । सहकारी र विभिन्न खालका ठग र अपराधी नै राजनीतिक नेतृत्व गर्ने र तिनै व्यक्ति ‘नेता’ बन्न पुग्दा मुलुकको लोकतान्त्रिक प्रणाली जनताको होइन यिनै ठगको व्यवस्था जस्तो पो भइदियो । ठग र अपराधी आफैँ अरुलाई अराजक, अशिष्ट र गैरकानुनी आक्षेप लगाउने प्रवृत्ति बढ्दै गएकाले गणतन्त्र चोरको व्यवस्था जस्तो बनाइयो । सञ्चार माध्यमको नाममा, दल र पार्टीको नाममा, सत्ता र शक्तिको नाममा ठग, अपराधी र राजश्वमारालाई नै सलाम गर्दै जानु पर्ने हो भने गणतन्त्रको औचित्यमाथि नै प्रश्नचिन्ह उठ्न पुग्दछ । ठूला स्वर गर्ने अपराधीलाई सबैतिरबाट बहिस्कार गर्ने र कानुन अनुसार सजाय गर्नु पर्नेमा उल्टै सलाम गर्नु पर्ने अवस्था आउाु आजको खतरनाक चुनौती हो ।

देशमा सहकारी ठग, अपराधी र अनेकौँ अवैध धन्दाबाट सम्पत्ति आर्जन गरिरहेकाहरू नै ठूला र चर्का स्वर गर्दै आफूलाई चोखो देखाउन खोज्दैछन् । राज्यसत्ता र नेतालाई सजिलै लगाइने आरोप ‘चोर, ‘अपराधी’ र ‘ठग’ जस्ता शब्द उनैले बेच्दै आए । सहकारी अन्य पेशाका ठगहरू राज्यसत्तामा पुगेका छन् । आफूलाई स्वतन्त्र भन्ने रवि लामिछानेले गरेको हर्कत देख्दा दुनियाँलाई लाज लाग्ने अवस्था बन्दैछ । अपराधी र ठगहरूले लोकतान्त्रिक राज्य प्रणाली, राजनीतिक नेतृत्व तथा सिङ्गो संवैधानिक-राजनीतिक विधिलाई पूरै धमिलो बनाउँदैछन् । आखिर किन र कसरी त्यस्तो विकृतपूर्ण संस्कृति मौलायो ? हाम्रो समाज र प्रणाली हामीले कस्तो बनाउँदैछौँ ? लोकतन्त्रमा राजनीतिक दललाई प्रजातन्त्रका खम्बा समान मानिन्छ । दलमार्फत जनताका राजनीतिक, सामाजिक र सार्वजनिक मुद्दा, सरोकार तथा हितमा आवाज उठाइन्छन् । यहाँ त दलका नाममा ठूला कुरा गर्न अपराधी नै नेता भइटोपलेको देखियो ।

वास्तवमा लोकतन्त्रको विकल्प ज्यादा लोकतन्त्र हो । समावेशी र समुन्नत लोकतन्त्र हो । सामाजिक न्यायमा आधारित लोकतन्त्र हो । लोकतन्त्रमा जनता र नागरिकका चाहना तीव्र रूपले प्रकट हुन्छन् । जुन स्वभाविकै हो । लोकतन्त्रमा प्रत्येकलाई आफ्ना आवश्यकता र हितमा बोल्ने, माग गर्ने र आवाज उठाउने हक एवम् अधिकार हुन्छ, छ । तर आफ्ना आवाज उठाउने र माग गर्ने नाममा देशका ठग, राजश्वमारा र अपराधीहरू नै चर्का कुरा गर्दैछन् । अराजक र अमर्यादित शैलीमा गाली-गलौजपूर्ण भाषाशैलीको व्यापक प्रयोग हुँदै आएको देखिन्छ । आखिर किन यस्ता संस्कृति र संस्कारको वृद्धि हुँदैछन् ? किन कुनै व्यक्ति र निकायप्रति अराजक आक्षेप/आरोप लगाइन्छन् ? त्यतिमात्र होइन कतिपय सन्दर्भमा राजनीतिक नेतृत्व र राज्यप्रणालीप्रति गैरकानुनी तथा फौजदारी प्रकृतिका गम्भीर खालका दूषित आगो ओकल्ने प्रवृत्ति बढ्दै गएका देखिन्छन् । विगतमा डा. बाबुराम भट्राईले प्रचण्डलाई करोडौँ-अर्बौं खाएको आरोप लगाए । हालै पनि उनले प्रचण्डको नातिनीको विवाहमा अर्ब खर्च गरेको भने । भ्रष्टाचार, अवैध धन्दा र हर्कत गर्ने ठूला भनिएका माछा साँढे भएर हिँडेका छन् । सामान्य नागरिकलाई चाहिँ कानुन लाग्ने, ठूला भने बच्ने प्रवृत्ति सर्वत्र देखिँदा लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्यापिँदै गएको छ । भ्रष्ट र सहकारी ठग नेता बन्दा लोकतन्त्र बदनाम भएको हो । ठूला सहकारीका ठग, अपराधी, करमारा, राजश्वमारादेखि अनेकौँ धन्दाबाट अकुत कमाउनेहरू चर्काे स्वर गर्दै सानसँग उल्टो लोकतन्त्रमाथि धावा बोल्दैछन् ।

राजनीतिक स्वतन्त्रताको दूरुपयोग गर्ने र आफूलाई मन नपरेको जो-कसैलाई जस्तोसुकै प्रकृतिको गम्भीर आरोप-आक्षेप लगाउने संस्कृति बढ्दै गएको छ । लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त भएका राजनीतिक स्वतन्त्रतालाई गलत अर्थमा बुझ्दा यस्ता कुसंस्कार बढेको हो । प्रत्येकले अधिकारै अधिकारको बारेमा चर्का कुरा गर्ने तर आफ्ना आधारभूत दायित्व पूरा नगर्ने प्रवृत्ति बढ्दै गएका कारण प्रणाली धमिलो बन्यो । युरोपका देशहरूका शासन प्रणाली हेर्ने हो भने अधिकारका साथै प्रत्येकले आफ्ना दायित्व पूरा गर्ने गरेको देखिन्छ । समाजवादी चीनको शासन प्रणाली मूल रुपमा दायित्वमा बढी निर्भर रहेको छ । नेपालमा चाहिँ स्वतन्त्रताको उपयोग गर्ने नाममा ठग र अपराधीहरूको नै ठूला स्वर देखिन्छन् । यो लाजमर्दाे कुरा हो ।

त्यसको अतिरिक्त आधुनिक, पढेका र नवयुवा भनिएका ठूलो जमातचाहिँ राजनीति, राजनीतिक प्रणाली, देश, राजनीतिक नेतृत्व र शासन सत्ता सञ्चालन एवम् प्रणालीप्रति अनदेखा वा बेमतलवी बन्दैछन् । समाजलाई अग्रगति दिने र दिशानिर्देश गर्ने भनेको राजनीतिक नेतृत्व, सरकार तथा नागरिक समाजका अगुवा आदिले हो । घर परिवार, स्कुल-कलेज मानिसको पहिलो पाठशाला हुन् । त्यहीँबाट मानिसले नैतिकता, असल आचरण र संस्कार सिक्दछ । त्यही आधारभूत इकाइ भ्रष्ट र प्रदूषित भयो, बनाइयो । ठूला भनिएका अपराधी, भ्रष्ट र ठगका स्वर सुनिने, इमान्दार नागरिकका आवाज दबाइने गरिँदा लोकतान्त्रिक गणतन्त्र धमिलो हुन थाल्यो ।

राजनीतिक नेतृत्वमा रहेका नेता आफै भ्रष्ट, अनैतिक, मूल्यहीन, अविश्वासी र पतीत भइदिए भने त्यसको दूष्प्रभाव समाजमा पर्ने हुन्छ । नव पार्टी खोल्दै आफूलाई नेता र देशनिर्माण गर्न आएको भन्ने रवि जस्ता फन्टुस गफाडीले प्रणाली बदनाम र धमिलो बनाएका हुन् । राजनीतिमा मूल्य र नैतिकताको संस्कृति ध्वस्त हुँदा त्यसको कुप्रभावले समाजमा अराजकता फैलिँदैछ । यही कारण लोकतान्त्रिक गणतन्त्र बदनाम बन्दै आएको देखिन्छ । लोकतन्त्र सङ्लो पारेर सफा गर्ने हो भने बदनाम, सहकारी ठग र आपराधिक क्रियामा संलग्न भएका भनि दुनिँयाले देखेका पात्रलाई दुधमा हामफाल्दै गरेका झिँङ्गा झिकेजस्तो गरी टिपेर भुँइमा फ्याटफ्याटी पछार्नु अत्यावश्यक भइसकेको छ । लोकतन्त्र बदनाम हुनबाट जोगाउने यही उपाय हो ।