भ्रष्टाचारविरूद्ध सतिसालझैँ उभिन्छु : प्रधानमन्त्री

भ्रष्टाचारविरूद्ध सतिसालझैँ उभिन्छु : प्रधानमन्त्री


तस्बिर : रासस

प्रधानमन्त्री प्रचण्डले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताउनुभएको छ ।

आज कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले सरकारको सङ्कल्पबाट भ्रष्टहरू तर्सिएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ । यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला, थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ ।’

पछिल्लो समय माओवादी शक्तिहरुबीचको एकताको राम्रो आधार बन्दै गइरहेको उल्लेख गर्दै उहाँले वृहत कम्युनिष्ट एकतासहित अगाडि बढिने बताउनुभयो । ‘२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौँ तर, पार्टी एकताबद्ध हुनसकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो’, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘फेरि एउटा नयाँ परिस्थिति बनेको छ । माओवादी शक्तिबीच एकताको राम्रो आधार बन्दैछ । पार्टी एकता संयोजन समिति बनाइन्छ र वृहत एकतासहित अगाडि बढिन्छ ।’

वर्तमान सरकारले जन चाहनाअनुसार आफ्नो काम कारबाही अगाडि बढाएको जनाउँदै उहाँले राम्रा काम गर्न थालेपछि सरकारलाई अप्ठ्यारोमा पार्ने षड्यन्त्र सुरु गरिएको बताउनुभयो ।

‘घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियोे’, उहाँले भन्नुभयो, ‘यो आफैँमा वर्गसङ्घर्ष हो । वर्गसङ्घर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो । २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरी परिणाम दिनुपर्छ, दिन्छौँ ।’

सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफू जहिले पनि समर्पित हुने दृढता व्यक्त गर्दै उहाँले सरकारलाई असफल पार्ने तत्वलाई जनताले तह लगाउने बताउनुभयो ।

‘इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन । भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त र हैरान भएका छन्’, उहाँले भन्नुभयो, ‘तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौँ । सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्र छन् । तर, तिनीहरूलाई जनताले नै ठीक पार्छन् ।’