तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक : मन्त्री बस्नेत

तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक : मन्त्री बस्नेत


photo: rss

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले २०७२ सालको विकासकारी भूकम्पपछि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको चीनसँगको तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक रहेको बताउनुभएको छ । भोटेकोशी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन बिहीबार उद्घाटन गर्दै मन्त्री बस्नेतले उक्त नाका खुलाउन सरकारले चीनलाई आश्वस्त पार्नसक्नुपर्ने बताउनुभयो ।

‘हामीले लामो समयदेखि पहल गर्दा पनि तातोपानी नाका सहज रुपमा सञ्चालन हुन सकेको छैन । नाका खुलाउन सरकारले कूटनीतिक ढङ्गले चीन सरकारलाई विश्वस्त गर्न सक्नुपर्छ, राजनीतिक तहमा कुरा भइरहेको छ । तर सुरक्षाको विषयलाई लिएर रोकिएको हामीले बुझेका छौँ’– उहाँले भन्नुभयो ।

भूकम्पअघि चीनसँगको मुख्य व्यापारिक नाका रहेको तातोपानी त्यसयता बन्दप्राय छ । नाका बन्द हुँदा उक्त क्षेत्रका बासिन्दाको जनजीवनमा त्यसको असर देखिएको उहाँको भनाइ छ । ‘नाका सञ्चालन नहुँदा जनताले दुःख पाएका छन् । बस्ती मसानजस्तो भएको छ । यहाँ वैकल्पिक उद्यम व्यवसायका लागि अरु विकल्प पनि छैनन्’, मन्त्री बस्नेतले भन्नुभयो ।

सडकलगायत पूर्वाधार निर्माणमा गुणस्तरीय काम हुन नसकेको र वर्षान्तमा हुने बजेट खर्च पनि रोक्न नसकिएको मन्त्री बस्नेतले बताउनुभयो । ‘प्राविधिक सल्लाहविना सडक संरचना बनाउँदा पहिरोको जोखिम बढेको छ । गुणस्तर निरीक्षणको काम पनि प्रभावकारी छैन । सडक, पुल बनाउँदा गुणस्तर पुर्याइएको छ वा छैन भनेर निरीक्षण गर्ने काम पनि निष्पक्ष रुपमा हुन सकेको छैन’ भन्दै उहाँले हतारमा काम गरेर आर्थिक वर्षको अन्त्यमा भुक्तानी गर्ने प्रवृत्ति रोक्न नसकिएको पनिस्वीकार्नुभयो ।

नागरिकलाई आधारभूत तहको शिक्षा र स्वास्थ्य सुविधाको प्रत्याभूति गराउन सरकारले पहल गरिरहेको र आर्थिक रुपमा विपन्नलाई यस्तो सुविधाको ग्यारेन्टी सरकारले गर्ने मन्त्री बस्नेतको दाबी छ । ‘आर्थिक रुपमा कमजोर र विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन अस्पतालले १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिनुपर्ने व्यवस्था सरकारले कडाइका साथ कार्यान्वयन गरिरहेको छ । अबको तीन महिनाभित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा ठूलै परिवर्तन गर्छौँ’, उहाँले भन्नुभयो ।

चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयका लागि न्यून बजेटका बाबजुद पनि राम्रो नतिजा निकाल्ने गरि काम गरिरहेको स्वास्थ्यमन्त्री बस्नेतले बताउनुभयो । भोटेकोशी गाउँपालिकाकाले कक्षा १२ सम्मको पढाइ निःशुल्क गरेकोमा उक्त कदम सराहनीय रहेको पनि उहाँको भनाइ छ ।

नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले नागरिकलाइ सेवा प्रवाहमा थप सहजता आउने विस्वास व्यक्त गर्नुभयो । “नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नु हाम्रो पहिलोे कर्तव्य हो । अब पालिकाबाट हुने सेवा प्रवाहमा सहजता आउनेछ र प्रशासनिक झन्झट कम हुने विश्वास छ”, उहाँले भन्नुभयो । गाउँपालिका अध्यक्ष शेर्पाले पनि तातोपानी नाका सहज रुपमा सञ्चालनमा आउन नसक्दा त्यहाँको व्यावसायिक गतिविधि ठप्प भएको र मानिसहरु पलायन हुनुपरेको बताउनुभयो ।

विसं २०७२ सालको भूकम्पका कारण तातोपानी नाकाको चीनतर्फको क्षेत्र खासा बजार पनि निकै प्रभावित भएको थियो । अहिले उक्त बजार पूर्णरुपमा बन्द छ । चीनले त्यहाँबाट बस्तीसमेत हटाइसकेको छ । भौगर्भिक अध्ययनपछि उक्त क्षेत्र मानव बसोबासका हिसाबले असुरक्षित देखिएको भन्दै चीनले बस्ती सारेको हो । अहिले त्यहाँ चिनीयाँ सुरक्षाकर्मीको क्याम्प मात्र रहेको छ । चीनतर्फको भन्सार कार्यालयसमेत हटिसकेको छ ।

खासा क्षेत्रमा बजार बसाउन भौतिक संरचना निर्माण र सडक सञ्जाल निर्माणमा चीनले चाँसो देखाएको छैन । नेपालका लागि चीनसँगको व्यापारमा रसुवागढी भन्सार भन्दा तातोपानीबाट सामान आयात गर्दा ढुवानी भाडा सस्तो हुने र पूर्वाधारका हिसाबलेसमेत त्यहाँ उपयुक्त भएपनि चीनको बेवास्ताका कारण त्यहाँबाट हुने व्यापार खुम्चिँदै गएको छ । हाल तातोपानी नाकाबाट स्याउ, खुद्रा सामान, जलविद्युत् आयोजनाका मेसिनलगायत सामान फाट्टफुट्ट रुपमा मात्रै आइरहेको र नेपालबाट हुने निर्यात भने ठप्प भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदयसिंह विष्टले जानकारी दिनुभयो ।