इतिहास
✍ सुनिल उलक

नेपालीले मुस्ताङ भनेर चिनिने तथा तिब्बती भाषामा लो भनेर चिनिने नेपालको हिमाली भू-भागमा १४औ शताव्दीमा नै राज्य स्थापना भएको थियो । यसपछि विभिन्न राजाले शासन चलाए पनि मुस्ताङका राजा एक कविलाका सरदारका रुपमा हुन्थे । मुस्ताङ राज्यको सम्बन्धमा गोरखा राज्य वा उपत्यकाका राजाहरू भन्दा बढी जुम्लाका राजाहरूसँग तथा तिब्बतसँग नजिकको सम्बन्ध हुने गर्दथ्यो ।
पृथ्वीनारायण शाहले १८०१ मा नुवाकोट बिजय गरेपछि गोरखा राज्य बिस्तारको अभियानको शुरुवात भयो । यसपछि बिस्तारै बिभिन्न साना राज्य विजय गर्दै विशाल गोरखा राज्य स्थापना गरे । त्यसपछि बहादुर शाहको नायवीको समयमा पश्चिमतर्फको राज्य बिस्तारको क्रममा वि.सं. १८४६ मा मुस्ताङ पनि नेपाल राज्यमा समाहित हुन पुग्यो । मुस्ताङ राज्य नेपाल राज्यमा समाहित भए पनि राजा वाङ्ग्याल दोर्जेले स्थानिय सांस्कृतिक राजाका रुपमा मान्यता पाइरहे । बि.सं. १८५४ मा राजा वाङ्ग्याल दोर्जेको देहान्त पछि जेठो छोरा क्राठी न्यिङपो राजा बने । वि.सं. १८७२ मा उनले स्वेच्छाले राजाको पद त्याग गरे र उनका एकमात्र छोरा झाम्पा टाल्ड्रुस राजा बने । १८९४ मा उनको देहान्त पछि कुङ्गा नोर्बु राजा बने । उनकै समयमा नेपाल तिब्बतको लडाइ भयो । उनकै शासनकालमा नेपालमा जङ्गबहादुरको उदय पनि भयो । जसले गर्दा मुस्ताङको राजाको कतिपय अधिकारहरू खोसिए ।
वि.सं. १९१४ मा जाम्याङ वाङ्दी राजा बने । तर उनकी आमा अर्थात रानी जीवित नै रहेको हुँदा रानीले नायवी चलाए । वाङ्डी खासै राजाको रुपमा रहन नै पाएनन् । १९२० मा उनको देहान्तपछि उनको माहिला भाइ न्होडुप पलवर राजा बने । उनको राज्यकाल वि.सं. १९५० सम्म रह्यो । वि.सं. १९५० मा न्होडुप पलवरको मृत्यु पछि राजा कुङ्गा नोर्बुका कान्छा छोरा तिरका नाति जाम्याङ पलवर राजा बने । उनको राज्यकाल विसं. १९९२ सम्म रह्यो । उनको देहान्तपछि माहिला छोरा आङ्गुन तेन्जिङ त्रान्दुल राजा बनेका थिए ।
२०१२ सालमा भने राजा आङ्गुन तेन्जिङले राजाको पद त्याग गरे । आफ्ना छोरा आङ्डु न्यिङ्पोलाई राजाको पद सुम्पिएर आफू गुम्बामा गएर बसे । तत्कालिन समयमा आङ्डु न्यिङ्पोलाई नेपाली सेनाले अनरेरी क्याप्टेनको दर्जा दिएको थियो । साथै राजा महेन्द्रको राज्याभिषेकको समय राज्याभिषेक तक्मा पनि प्रदान गरिएको थियो । तर अचानक राजा न्यिङ्पोको २०१५ सालमा निधन भए पछि पून आङ्गुन तेन्जिङ नै राजा बने । २०१७ सालमा देशमा राजा महेन्द्रले पञ्चायती ब्यवस्थाको शुरुवात गरे । आङ्गुन तेन्जिङलाई राजसभामा आमन्त्रण गरियो । नेपाली सेनाको अनरेरी कर्णेलको पद पनि दिइयो ।
२०२१ सालमा राजा आङ्गुन तेन्जिङको निधन पछि आङ्गुन तेन्जिङका कान्छा छोरा जिग्मे दोर्जे त्रान्दुल राजा बने । राजा महेन्द्रले २०२२ साल बैशाख १८ गते मुस्ताङ्गी राजाको सम्मान दिएको लालमोहर नै दिएका थिए । साथै नेपाली सेनाको कर्णेलको मानपदवी तथा राजसभाको सदस्य पनि बनाएका थिए । मुस्ताङ्गी राजाको पद दिए पछि काठमाडौं चाबहिलमा चार रोपनी जग्गा पनि दिएका थिए । साथै सेनामा तालिम दिनुका साथै एउटा स्टेनगन, पाँच वटा थ्री नट थ्री राइफल र एउटा पेस्तोल पनि दिइएको थियो । जन्म कहिले भएको यकिन मिति भन्न नसकिए पनि २०२२ सालमा राजा बन्ने समय चालिस वर्ष पुगेको अनुमान गरेका थिए ।
उनलाई राजाको पद दिइँदासम्म उनको नामका पछाडि विष्ट गाँसिएको थिएन । तर पछि राजा महेन्द्रले मुस्ताङका जनतालाई हिन्दुकरण गर्दै २०२८ सालमा राजा महेन्द्रको शासनकालमा प्रधानमन्त्री कीर्तिनिधि विष्टको समयमा उपल्लो मुस्ताङका कुडाकहरूलाई विष्ट, फाल्चालाई गुरुङ तथा गार्वालाई विश्वकर्मा भनेर लेख्न लगाइयो । यसपछि जिग्मे दोर्जे त्रान्दुल, जिग्मे परवल विष्ट बने ।
६२/६३ को आन्दोलनको सफलतासँगै धेरै कुराको परिवर्तन भयो । नेपालमा राजतन्त्र समाप्त भयो । यसका साथै विभिन्न राजाहरू पनि हटे । राजा नरहे पनि मुस्ताङका जनताका मन मस्तिष्कमा सधै राजाका रुपमा नै रहिरहे । २०७३ पुस १ गते मुस्ताङका जनताका मनमा रहेका राजा जिग्मे परवल विष्टको देहावसान भयो ।
प्रतिक्रिया