भोजपुर नगरपालिका-१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकको छर्रा लागेर भोजपुर-१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिएका छन् ।
घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेर ढाकछोपको प्रयत्न गरेका थिए । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गएराति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘घटना २२ गते रातिको भन्ने बुझिएको छ’, प्रहरी प्रमुख थापाले भनेका छन्, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । हामीलाई सूचना आएलगत्तै ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ । थप अनुसन्धान जारी छ ।’
मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया