प्रभु महालक्ष्मी लाइफको सिइओमा भट्टराईको नियुक्ति स्वीकृत

प्रभु महालक्ष्मी लाइफको सिइओमा भट्टराईको नियुक्ति स्वीकृत


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार यही आषाढ २९ गते हुने निर्णय भइसकेको छ । दुवै कम्पनीका बीचमा २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेष्ठ ३ गते अन्तिम सहमति भएको थियो ।

दुवै सम्झौतामा महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मर्जरपछिको आगामी ४ वर्षको लागि एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त सहमतिलाई प्रभु र महालक्ष्मी लाइफको जेष्ठ २६ गते भएको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका रमेश भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकालदेखिको प्रमुख कार्यकारी अधिकृत थिए । २०३८ सालमा नेपाल बैंक लि.को अधिकृत बाट बैकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् ।

२०५२ मंसिर १५ गते वीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथम पटक भट्टराई संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । त्यसपछि निरन्तर नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतका रुपमा उनले सक्रियता दर्शाउँदै आएका छन् ।