यात्रामा निस्केको सिपाही

यात्रामा निस्केको सिपाही


-माधव तिमल्सिना रसुवाली कवि
आजको
समयको बिल्कुल नयाँ चालमा
निस्केको छ एउटा सिपाही
युद्घमोर्चामा नयाँ सोच लिएर
लाग्छ उसको जोशमा
वीरताको आकाश चुम्ने
सुनौलो सपना छ,
उसको आँखामा
सदियौँदेखि अन्धकारमा रुमलिएका
उज्यालो भेट्टाउने दृष्टि छ,
उसको पाइलामा
शिखर छुने चाल छ,
अनवरत छ ऊ
र, मोर्चामा
बिल्कुल नयाँ अनुहार पनि होइन ऊ
उसले यस्ता धेरै मोर्चा
परिवर्तनको बारुद बनेर
छिचोलिसकेको छ
आऊ स्वागत गरूँ उसलाई
सुनौलो यो समयको
भिन्न प्रभातीमा,
नरोकियोस् उसका पाइला
र, उसले रोजेको लक्ष्यलाई
फराकिलो अनि सजिलो तुल्याइदिऊँ
यात्रा निस्केको सिपाहीलाई
दिऊँ यही शुभकामना !