तस्बिर : रासस
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताएका छन् । उच्च ओहोदाका व्यक्तिलाई आफ्नो उपचार स्वदेशमै गर्न अनुरोध गरिने मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।
उच्च ओहोदाका व्यक्ति उपचारविज्ञ चिकित्सकबाट गराउन मन्त्रालयले प्राविधिक व्यवस्था मिलाउने जानकारी दिँदै मन्त्री बस्नेतले विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचार गर्दा सरकारी ढुकुटी पनि जोगिने र चिकित्सकमाथि विश्वास पनि हुने भनाइ राखे ।
पैसा हुनेले बाहिर गएर उपचार गर्ने, नहुनेले नगर्नेबीचको खाडल पनि पुरिन आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘यहाँ राम्रा विशेषज्ञ सेवा दिने चिकित्सकहरू धेरै हुनुहुन्छ । राम्रा चिकित्सक छायाँमा पर्नुभएको छ, राष्ट्रको ढुकुटी पनि बर्बाद नहोस् । पैसा हुनेले सामान्य रोगका लागि पनि उपचार गर्नका लागि बाहिर गएर उपचार गर्न जान नपरोस् भन्नका लागि स्वदेशमा नै उपचारको व्यवस्था मिलाउने छौँ ।’
मन्त्री बस्नेतले कुनै शीर्ष नेतालाई केही उपचारमा गर्नुपरे विशेषज्ञ सेवासहितको चिकित्सकको समूह रोग पहिचान गर्ने र उक्त रोगका उपचार स्वदेशमा गर्न सकिन्छ÷सकिँदैन भन्ने निक्र्यौल गर्नेसमेत बताए । ‘चिकित्सकको समूहले के रोग हो भन्ने थाहा पाइसकेपछि रोगको उपचार यही हुन्छ भने स्वदेश गर्ने व्यवस्था गरिनेछ, जनुसुकै नेता तथा उच्च ओहोदाका व्यक्ति बिरामी पर्नुभयो भने हामी पनि सम्पर्कमा गर्छौँ’– उनले भने ।
नेता बिरामी पर्ने बित्तिकै एयर एम्बुलेन्स नै लिएर जाने प्रचलन रहेको स्वीकार गर्दै मन्त्री बस्नेतले आफू आइसकेपछि १६ वटा केन्द्रीय अस्पतालका तीन हजार पाँच सय २३ सामान्य शय्या विपन्नका लागि निःशुल्क गरिएको जानकारी गराए । कुनै पनि नेपालीले पैसाको अभावमा उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ आफूले वीर अस्पतालबाट सात सय शय्या विपन्नका लागि निःशुल्क गराएको मन्त्री बस्नेतको भनाइ थियो ।
अस्पतालको उपकरण खरिद प्रक्रियामा हुने अनियमितता रोक्न विज्ञ समूह गठन गरी काम भइरहेको जानकारी दिनुका साथै उनले क्यालेन्डर बनाएर स्वास्थ्य क्षेत्रमा योगदान गरेका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने पनि बताए ।
प्रतिक्रिया