काङ्ग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवम् सांसद आरजु राणा देउवाबारे अनेकौँ प्रश्न उठ्न थालेपछि उनी त्रस्त बनेकी छन् । भुटानी शरणार्थी प्रकरणमा आरजुको समेत नाम जोडिएर आएपछि उनको गिरफ्तारी हुने चर्चा चलेको थियो र, उनले सञ्चारमाध्यममार्फत सफाइ दिँदै आएकी थिइन् । अहिले पनि आरजुको त्रास समाप्त भएको छैन र, सम्भवतः नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको कमाण्ड सम्हालुन्जेलसम्म उनी निर्धक्कसँग निदाउन सक्दिनन् । आफू कुनैपनि बेला पक्राउ पर्नसक्ने भएपछि आरजुले पति शेरबहादुर देउवामार्फत प्रचण्डसँग गुहार लगाएकी छन् ।
यसक्रममा गत साता जापानबाट नेपाल फर्किएलगत्तै आरजु आफ्ना पति देउवालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् । उनले आफ्नो बारेमा भ्रम सिर्जना हुनेगरी एउटा अडियो रेकर्ड सार्वजनिक गरिएको र गत बैशाखमा आफूले दिएको उजुरीमाथि प्रहरीले कुनै कारबाही नगरेको भनी प्रधानमन्त्रीसँग गुनासो गरेकी थिइन् । आफ्ना पतिलाई साक्षी राखेर राणाले आफ्नो उजुरी सम्बन्धमा प्रधानमन्त्रीलाई आइजीपीसँग कुरा गर्न लगाएको बुझिएको छ । त्यस अवसरमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत बोलाइएको बताइन्छ ।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कुनै सन्देश शर्मा नामक ब्यक्तिसँग आफ्नो सम्वाद भएको भनी सार्वजनिक गरिएको अडियो रेकर्डबारे स्पष्ट गरिदिन र आफू पक्राउ नपर्ने ग्यारेण्टी गर्न प्रधानमन्त्रीसँग आरजुले आग्रह गरेकी थिइन् । शेरबहादुर देउवाले समेत आइजिपीसँग कुरा गरिदिन भनेपछि प्रचण्डले आइजीपीसँग कुरा गरेको र, त्यसपछि प्रहरीले एक जानकारी पत्र आरजुसम्म पुर्याएको थियो । उक्त पत्र आरजु आफैले सार्वजनिक गरेको बताइन्छ ।

प्रतिक्रिया