बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य आकासियो

बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य आकासियो


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा जिल्लाको मुख्य बजार सदरमुकाममा दैनिक उपभोग्य बस्तुको मुल्य एकाएक आकासिएको छ । दैनिक उपभोग्य बस्तुमा अप्रत्यासित बजार मूल्य बढेपछि कम आम्दानी भएका, गरिब विपन्न तथा दैनिक ज्याला मजदुरी गरी खाने वर्गका जनताहरू सबैभन्दा बढी मार्का परेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रक्षेपणलगत्तै कृषिजन्य घरेलु स्थानीय उत्पादन तथा किरानालगायत चिजबस्तुमा वृद्धि भएको बजार भाउले बजारका उपलब्ध निर्माण सामग्री, लुगाकपडा, भाँडावर्तनसहित अन्य बस्तुमा पनि असर परेको स्थानीय बताउँछन् ।

बजारमा दुई महिनाअघि रु. ४० मा पाइने माटो चामल अहिले रु ६०, ६० मा पाइने मसिनो चामल अहिले ७५ र ९० मा प्रतिकिलो पाइने चिनी अहिले रु. १०५ देखि ११०, दालहनमा १५ प्रतिशतले र तरकारीमा तेब्बर मूल्य भएको छ भने खानेतेल लगायत अन्य किरानामा पनि मूल्य हेरफेरसहित मूल्य वृद्धि भएको स्थानीय व्यापारीको भनाइ छ ।

एकातिर वर्षात लागेसँगै बजारमा आउने ताजा तरकारी आलु, टमाटर, बैगन, भेडेखुर्सानी, प्याज र हरियो तरकारीको उत्पादन प्रभावित भएपछि तरकारीको मूल्य वृद्धि भएको छ भने अर्कोतिर सदरमुकाममा सडक बिस्तारका नाममा भइरहेको तोडफोडले दैनिक उपभोग्य बस्तुको मूल्य पनि वृद्धि भएको उपभोक्ताको भनाइ छ ।

बजारमा चामलको मूल्य ५० प्रतिशत र चिनी, दालहन लगायत अन्य दैनिक उपभोगका चिजबस्तुहरू पनि १५ देखि २५ प्रतिशतले वृद्धि भए पनि नियमनकारी निकायको प्रभाबकारी अनुगमन तथा नियन्त्रणमा सरोकारवाला निकायको ध्यान नगएको स्थानीय उपभोक्ताको गुनासो रहेको छ ।

प्रत्येक वर्षको बजेट भाषणसँगै वृद्धि हुने बजारभाउ बिशेष कारण नभइ उत्पादक उद्योग, ठूला व्यापारी तथा बिचौलियाहरुका कारण अस्वभाविक रुपले मूल्य वृद्धि हुने गरेको मात्र नभइ बस्तुसामग्रीको फरक फरक मूल्य राखेर बिलिङ पनि गर्ने गरेको खरिदकर्ता व्यवसायीहरु बताउँछन् ।

तरकारी उत्पादनमा सुदूरपश्चिमको अग्रणी मानिने डडेल्धुरा जिल्लामा सबै भन्दा बढी ताजा तरकारीमा र दैनिक उपभोग्य बस्तुमा अप्रत्यासित बजार मूल्य बढेपछि कम आम्दानी भएका, गरिब विपन्न तथा दैनिक ज्याला मजदुरी गरि खाने बर्गका जनतालाई अत्यन्त मर्का परेको छ ।