पूर्वराजाको त्रास !-सुमित्रा अर्याल

पूर्वराजाको त्रास !-सुमित्रा अर्याल


एउटा धार्मिक कार्यक्रममा सहभागी हुन गएका पूर्वराजा ज्ञानेन्द्र शाहले पत्रकारहरूसमक्ष ‘राष्ट्रियता, प्रजातन्त्र र सर्वसाधारण जनताको सुरक्षा जोखिममा परेको’ बताए । उनले आफूले यी कुरा पहिलेदेखि उठाउँदै आएको तर अहिले यिनै कुरा जोखिममा रहेको पनि स्पष्ट पारे । यसैगरी राजनीतिक दलका नेताले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह नगरेको कारण शान्ति र संविधानको कार्यभार पूरा गर्न नसकेकोतर्फ सङ्केत गर्दै आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न र कुनै पनि काम राष्ट्रलाई अगाडि सारेर गर्न सुझाव समेत दिए । त्यसो भएमा मुलुकमा शान्ति र स्थिरतका कायम हुने धारणा उनको थियो । यसैगरी देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्ने क्रममा उनले ‘नेपाल नै नरहने हो भने नेपाली कहाँ रहने’ भन्ने प्रश्न गर्दै त्यसका लागि नेपाली जनता एकआपसमा मिलेर अगाडि बढ्न आग्रह गरे । राष्ट्र र राष्ट्रियताका लागि सबै राष्ट्रवादी एक हुनुपर्ने र राष्ट्रको हालत नाजुक बन्दै गएकाले सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो ।
पूर्वराजाका यिनै अभिव्यक्तिप्रति खासगरी सत्तासीनहरूबाट असन्तुष्टि जनाइएको छ । सम्भवतः यिनै अभिव्यक्ति र पूर्वमा पूर्वराजाको स्वागतमा देखिएको तामझामलाई लिएर प्रधानमन्त्री स्वयम्ले ‘राजावादीहरू शान्ति स्थापना र संविधान निर्माणमा बाधा पुर्‍याउन सक्रिय रहेको’ अर्थ लगाए । उनको शब्दमा भन्नुपर्दा इतिहासका पानामा विलीन हुन लागेको राजतन्त्र अझै ज्युँदै भएको आभास मात्र नभई पुनः राजतन्त्रको त्राससमेत देखिएको छ ।
यस्तै वरिष्ठ मन्त्रीहरूले पूर्वराजाको धारणालाई ‘राजनीतिक अभिव्यक्ति’ भन्दै असन्तुष्टि जनाएका छन् र कतिपयले यसलाई ‘अनावश्यक चासो’ र ‘धमिलो पानीमा माछा मार्ने प्रयास’ भनेका छन् । तर, पूर्वराजाका अभिव्यक्तिमा मुलुकको यथार्थ प्रतिविम्बित छन् र सत्ता हाँक्नेहरूको गैरजिम्मेवारीका कारण उनको यस्तो अभिव्यक्ति आएका हुँदा यसका लागि उनीहरू नै जिम्मेवार हुनुपर्छ भन्ने दर्बिलो अडान देखिन्छ । वास्तवमा आफ्ना धारणा व्यक्त गर्ने अधिकार एक नागरिकको रूपमा पूर्वराजालाई पनि छ र उनका विचारलाई कति महत्त्व दिने भन्ने कुराचाहिँ नेताहरूले आफैं विचार गर्नुपर्ने विषय हो ।
वास्तवमै यदि दलका नेता जिम्मेवार भइदिएका भए, सहमति र सहकार्यको राग अलाप्नेहरू सत्ता स्वार्थमा नलागेका भए र देश र जनताकाप्रतिको आफ्नो दायित्व्ा महसुस गरेका भए यतिन्जेल मुलुक समृद्धिको बाटोमा धेरै अघि बढिसकेको हुन्थ्यो । तर, त्यसो नहुँदा राजतन्त्रको अन्त्यपछि पनि मुलुक जहाँको त्यहीँ छ, उन्नति होइन अवनतितर्फ उन्मुख छ । जनताको जीवन कष्टकर हुँदै गएको छ । अराजकता र दण्डहीनता बढेको छ । अकल्पनीय अपराधको शृङ्खला जारी छ । नागरिकका पीडामाथि पीडा थपिँदै छन्, अनि अर्थतन्त्र जर्जर हुँदै गएको छ । तर, यसप्रति न सत्तासीनहरू गम्भीर छन् न प्रमुख राजनीतिक दल । कोही सत्ता हत्याउने योजना र कोही सत्ता नछाड्ने जालझेल र षड्यन्त्रमा मस्त छन्, अनि यस्तो मौका पाउँदा पूर्वराजाले यस्ता अभिव्यक्ति दिनुलाई कसरी अस्वाभाविक वा षड्यन्त्र ठान्ने ?
डराउनुपर्ने आमजनतासँग हो । तर, नेपाली जनता यति सोझासीधा छन् कि यिनै नेताप्रति आशावादी छन्, यिनकै विश्वास र भरोसा उनीहरूलाई छ । यसैले जनता हेपिएका, अपमानित भइरहेका छन् । थुुप्रै गुनासो हुँदाहुँदै पनि जनता सहेर बस्छन् जसले यी नेताहरूलाई बहानाबाजी गरेर आफ्नो आयु आफैं बढाउन सहज भएको छ । जनतासँग तिनलाई कत्ति डर छैन । तर, जब आफैंबाट सत्ताच्युत गरिएका राजाले केही अभिव्यक्ति दिन्छन् तब त्यसले उनीहरूलाई त्रसित बनाउँछ ।
तर, यसरी त्रसित हुनुभन्दा आफ्ना जिम्मेवारी पूरा गर्नेतर्फ लाग्नु बुद्धिमानी हुने हो । जनताभन्दा ठूलो अर्को कुनै शक्ति नहुने सन्दर्भमा पूर्वराजाका अभिव्यक्तिको विरोधमा समय खर्चनुभन्दा आफ्नो काँधमाथिको जिम्मेवारी कसरी पूरा गर्ने भन्ने कुरामा गम्भीर हुनसके मुलुकले निकास पाउने र विरोधको कुनै ठाउँ नरहने हुँदा यसलाई सकारात्मक रूपमा लिनुको साटो आफूहरूलाई श्रीपेचबिनाका नयाँ राजाका रूपमा स्थापित गर्ने दुस्साहस गरिरहेकाहरूले विरोध गर्नु लज्जास्पद हो । देश र जनताप्रतिको जिम्मेवारी बुझेर कर्मप्रति तल्लीन भए कसैले किन औंला ठड्याउँछन् र ?
जो कसैको पनि विरोध गर्न जथाभावी अभिव्यक्ति दिन सजिलो हुन्छ तर गरिपुर्‍याउन कठिन हुन्छ । हिजो सङ्घीयताको कुरा गर्नेहरू नै अहिले आफ्ना जिल्ला र क्षेत्र टुक्र्याउन पाइँदैन भनेर अखण्ड जिल्ला र क्षेत्रको नाममा किन कर्ुलंदै छन् ? के तिनले साँच्चै सङ्घीयता चाहेका हुन् वा सत्तामा हालिमुहाली ? आफैं स्पष्ट भएको कुरा हो । यस्तै विगतमा सस्तो लोकप्रियताका लागि सोचविचार नगरी जथाभावी बाँडिएका आश्वासनका कारण अहिले आफूलाई क्रान्तिकारी भन्नेहरू नै असफल ठहरिइरहेका छन् । के यसको आत्मसमीक्षा गर्नुपर्दैन ?
यर्सथ दलका नेताहरूले पूर्वराजाका अभिव्यक्तिलाई नकारात्मक र षड्यन्त्रको रूपमा लिने होइन आफूहरूलाई दिएको चुनौतीको रूपमा लिनुपर्छ । नेताहरूका नालायकीका कारण मुलुक अघि बढ्न नसकेको यथार्थलाई उनले यसरी अभिव्यक्त गरेका हुन् । यर्सथ नेताहरूले इमानदार ढङ्गमा अघि बढ्ने र परस्पर सहमति कायम गर्दै मुलुकलाई निकास दिनेतर्फ लाग्नुपर्छ । यसो भए उनीहरूलाई जनताको साथ रहिरहनेछ र जनताभन्दा ठूलो शक्ति अर्को नहुने हुँदा फालिएका राजाका अभिव्यक्तिबाट त्रसित र भयभीत भई उनका धारणबारे टीकाटिप्पणी गरिरहनुपर्ने अवस्था नै आउने छैन । वास्तविकता अभिव्यक्त गर्दा त्यसलाई आक्षेप वा षड्यन्त्र ठान्ने होइन जनतासँग गरेका वाचा पूरा गर्न प्रतिबद्ध भई लाग्ने अठोट र प्रतिबद्धता जनाउन सक्नुपर्छ । त्यसो हुन सके षड्यन्त्र नै गरिए पनि त्यसको कुनै अर्थ र औचित्य रहनेछैन ।
[email protected]