आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री महत

आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री महत


तस्बिर : रासस

अर्थमन्त्री डा. प्रकाशशरण महतले आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको बताउनुभएको छ ।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा उहाँले अत्यावश्यक वस्तुहरूमा आत्मनिर्भरता बढाउनका लागि यस्ता वस्तुको आयातमा कर बढाइने बताउनुभयो ।

कृषिमा आधारित देश भए पनि कृषि उत्पादन नभएको बताउँदै उहाँले देशको उत्पादन बढाउने उद्देश्यसहित मूल्य अभिवृद्धि कर लागु गरिएको जानकारी दिनुभयो । ‘कृषिलाई उत्पादनमुखी बनाउने र कृषि उत्पादन बढाउने उद्देश्य राखी देशमा आयात हुने वस्तुमा मूल्य अभिवृद्धि कर लगाएका हौँ’, उहाँले भन्नुभयो- ‘आलु र प्याजमा हामी करिब करिब आत्मनिर्भर भइसकेका छौँ, यसले कृषि उत्पादकहरू खुशी हुनुभएको छ ।”

अर्थमन्त्री महतले अहिले स्वार्थ समूह बलियो भएको र सबै ठाउँमै उनीहरूकै पकड रहेको उल्लेख गर्दै आफ्नो उच्च मनोबलका कारण मात्र यो दबाब थेग्न सकेको बताउनुभयो । ‘संसद्मा हुँदै नभएको कुरा आयो, मैले त्यहीअनुसार स्पष्ट कुरा राखेँ’, उहाँले भन्नुभयो- ‘म खुला तस्बिरका रूपमा रहेको छु, त्यसकारण मैले त्यहाँ पनि सांसदहरूलाई बुझाएको छु ।’

नेपाली कांग्रेसका केन्द्रिय प्रवक्तासमेत रहनुभएका नेता महतले कुनै व्यक्तिलाई आरोप लागेकै भरमा दोषी भन्न नमिल्ने बताउनुभयो । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको विषयमा पार्टीका कार्यकर्ताले सोधेको प्रश्नमा उहाँले कानूनको उल्लङ्घन गर्नेको कांग्रेसले कहिल्यै संरक्षण नगर्ने बताउँदै आरोपकै भरमै मात्र कार्यवाही नगर्ने स्पष्ट पार्नुभयो । ‘रिस साँध्ने साधन नबनाइ यसमा निष्पक्ष छानविन हुनपर्छ भन्ने हाम्रो धारणा हो’, उहाँले भन्नुभयो ‘कोही दोषी उम्किनु हुन्न, कोही निर्दोषी फस्नु पनि हुँदैन ।’