ब्रह्माण्ड संरचनामा अङ्क ८ को महत्त्व

ब्रह्माण्ड संरचनामा अङ्क ८ को महत्त्व


✍ नारायण घिमिरे, पीएचडी

हाम्रो ब्रह्माण्ड गोलाकार छ । तपाईं गोलाकार बस्तुको संरचनाबारे जान्न चाहनुहुन्छ भने अङ्क ८ को विशेष महत्त्वबारे जान्न आवश्यक छ । किनकि गोलाकार बस्तुको परिधिको लम्बाई जान्न त्यसको सूत्रमा प्रयोग हुने पाई (π) को अर्थ र परिणाम जान्न जरुरी हुन्छ । जुन π=२२/७ हुन्छ । त्यसको अर्थ के हो भने कुनै पनि सर्कललाई जब तपाईं सात बराबर भागमा विभाजन गर्न सक्नुहुन्छ । सात भागका हरेक भागले एक चरणलाई जनाउने गर्दछ ।

जब तपाईं कुनै पनि कार्य एक चरणमा सुरु गर्नुहुन्छ त्यो सम्पूर्ण सात चरणमा पूरा हुने गर्दछ । उक्त विभाजनमा हरेक ८औँ चरणले तपाईंलाई तपाइको सुरुको चरणमा लैजान्छ । यसरी हरेक कुराको अन्त्य त्यसको नयाँ चरणको सुरुवातसँगै जोडिएको हुन्छ भन्ने कुरा वैदिक समयमा पत्ता लागेको थियो । त्यसैले तपाईंको जीवनको चोलाको परिधि वा यात्रा जस्तोसुकै लामो भए पनि यसलाई सात चरणमा विभाजन गर्न सकिन्छ । सातौँ चरण सकिएपछि तपाई फेरि नयाँ चोलामा प्रवेश गर्नुहुन्छ । त्यसै विवाहको मण्डपमा हामी सात वटा सर्कल बनाउने गर्दछौँ । ७ जीवनको चरणको लागि सात फेरो लिएर बन्धनमा बाँधिने गर्दछौँ ।

८औँ चरणमा पुग्दा तपाईं त्यस चोलाको सबै बन्धनबाट मुक्त भएर नयाँ चोलामा जानुहुन्छ । हाम्रो आत्माको विकासको क्रम पनि यस्तै हुने वैदिक अवधारणा भेटिन्छ । तपाईंको जीवनको सात चरण पूरा हुने क्रममा जीवनको निर्माण (उत्पत्ति) र अन्तिम ध्वंश (सातौँ चरण) समेत गरी मूलतः आठ प्रक्रिया भूमिकामा देखिन्छ । त्यसको लागि हरेक चरणमा आठ मुख्य शक्तिहरूको नै भूमिका रहने गर्दछ ।

वैदिक अवधारणामा आधारित कथाहरूमा भगवान् कृष्णलाई भगवान् विष्णुको पूर्ण अवतार भन्दै कृष्णको मुख्य आठ पत्नीहरू रहेको भनिन्छ । जहाँ आठ पत्नीहरूले उल्लेखित हरेक चरणमा भूमिका खेल्ने आठ मुख्य शक्तिहरूको प्रतिनिधित्व गर्दछ । शक्ति आफैमा नारीरूपी हुने हुँदा यसलाई पुरुष नभनेर पत्नी भनिएको हो । जुन यसप्रकारको छ ।

१) श्री/लक्ष्मी/पुष्टि -भाग्य, समृद्धि, कल्याण । २) भू/क्षमा/या-करुणा । ३) शान्ति/निद्रा-सन्तुष्टि । ४) कान्ति-सुन्दरता । ५) सरस्वती/मति/मेध-शिक्षा, ज्ञान, बुद्धि । ६) धृति/प्रीति/ श्रद्धा- सहनशीलता, प्रेम, मैत्री, मायालु, पूजा, आराधना । ७) तुष्टि/रति/स्मृति-आनन्द । ८) विजया- विजय ।

आठ प्रकृति शक्ति गुणयुक्त कृष्णको पत्नीलाई राधा-रानी समेत भनिन्छ । सारमा लिँदा भने कृष्णका मुख्य दुई पत्नी वा दुई शक्तिको श्रोतबारे चर्चा हुन्छ । ती हुन् रुक्मिणी र सत्यभामा । जसले इड़ा (प्रकृति, नारी गुण) र पिंगला (पुरुष) दुई नाडी अर्थात् द्वैतवाद सिद्धान्तको प्रतिनिधित्व गर्दछ । कृष्ण आफै भने अद्वैत अर्थात् ब्रह्मा नाडी भएको मानिन्छ ।

कृष्ण भगवान् विष्णुको आठौँ अवतारको रुपमा देवकीका आठौँ छोराको रूपमा अष्टमीमा जन्मिए । स्पेस-टाइम (काल)-दिशाको नियन्त्रणमा आठ पुरुष र आठ नारी गरी १६ शक्तिको प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ । हरेक जीवको कर्म दश दिशाभित्र (आठ भौगोलिक दिशा तथा तल-माथि) निर्देशित हुने गर्दछ । वैदिक कथाहरूमा हरेक दिशामा संलग्न हुने आठ देवी शक्तिहरू र माथि तथा तलको दिशाको प्रतिनिधित्व गर्ने राधा शक्तिलाई उनको रानीको रूपमा चित्रित गरिने गरिएको छ ।

योगको पक्षबाट हुने आध्यात्मिक व्याख्या अनुसार ८ पत्नीहरू भनेर तीन प्रमुख नाडीहरू (इड़ा, पिंगला र सुषुम्ना – बायाँ, दायाँ, र मध्य) जसले शरीरमा जीवन र जीवनको शक्ति दिन्छ तथा प्रकृतिका पाँच तत्त्व निर्मित पाँच प्राणहरूको क्षेत्रलाई जनाउने गर्दछ । भक्ति परम्परा अनुसार आठ रानीहरू भनेर भक्तिको आठ रूपहरू श्रवण, कीर्तन, स्मरण, पद सेवा, अर्चना, वन्दना, दास्य, साख्य मार्फतको समर्पण, भक्तिको अन्तिम रूप र आत्मा-निवेदन हो ।