बेथितिउपरका घोत्ल्याइँ !

बेथितिउपरका घोत्ल्याइँ !


दलहरूको हविगत नि त्यस्तै हो । जहानियाँ शासनको विरुद्ध लडियो, पञ्चायती व्यवस्थाको विरुद्ध लडियो भन्छन् । आखिर के लछारपाटो लायो र ? जनता परिणाम खोज्दो छ, इतिहास मात्र बखानेर केही हुने छैन । भगवानले भ्रष्टहरू मासुन्- मेरो यही कामना ।
✍ बलराम उपाध्याय सिलवाल

मंगलाचरणः – मुखमा सरस्वतीको बास होस्, सत्य बाहेक मिथ्या नबोलूँ ।

जदौ । प्राचीन तथा मध्यकालमा पाठशालाहरूको न्यूनताले आम रङ्क शिक्षाको न्यानो घामबाट वञ्चित रहे । अशिक्षित भए नि बुद्धिवर्कत त क्रियाशील गरेकै हुन् । टिस्टादेखि गढवालतक आङ्ल-सैक्सनसित जुधेर भक्ति थापा, बलभद्र कुँवर जस्ता वीरहरूले जीवनोत्सर्ग गरेर नेपाल बचाएकै हुन् । इतिहास बिर्सुवाहरूको पतन निश्चित छ ।

अहिलेका गैतरामे नेताहरूको (पढालेखा?!) गिदी धमिराले खायो कि क्या हो ?! पृथ्वीनारायणको दिव्योपदेशको एकांश कार्यान्वयन नगर्दा छन् । आयात घटाउने निर्यात बढाउने र भ्रष्टहरूलाई सख्त कारवाही गर्ने सन्दर्भ विपरीत देखिँदो छ । दलीय सर्खारहरूले आफ्नो हनुमान/झोलेहरूलाई बजेट घिचाएर लगभग सत्तरी हजार ऋण हरेक नेपालीको थाप्लोमा बजार्दो छ । सर्खार भन्या त अभिभावक हो नि ! यसले आफ्नो जनतालाई समृद्ध तुल्याउनुपर्ने, रोजगार दिनुपर्ने र संरक्षण गर्नुपर्ने हो । यहाँ त सर्खार जनताउपर पूर्वाग्रही/दुराग्रही पो हुँदो छ । सर्खार सर्खार जस्तो छैन । कुशासन, भ्रष्टाचार, बेथिति र अराजकतादि संसदीय व्यवस्थाको नजरानाहरू ।

दलहरूको मेनिफेस्टोमा जेसुकै लेखिए नि यिनीहरूको स्पष्ट आर्थिक, सामाजिक, देशीय र परराष्ट्रिय नीति छैन । त्यसैले त यी कुहिराको कौवा जस्ता छन् । यिनीहरूले रहलपहल संस्थान/कलकारखानाहरू निजीकरणको नाउँमा मनपर्दी ढङ्गले कौडीको भाउमा दलाल पुँजीपतिलाई बेचे । यिनीहरूले अरू मुलुकहरूसित सन्तुलित परराष्ट्र नीति अँठ्याउन नसकेकै हो ।

जता मल्कु उतै ढल्कु ! कहिले चीनसित त कहिले भारतसित चोचोमोचो बढाउने, असंलग्न नीति र समदुरी सम्बन्ध चिलिमच्वाँट । यहाँको संसद् त जनतामारा ?! जनताको हित नगर्दो । भारतेली तर्कारीको बिख नजाँच्दो, नेपालीजनलाई बिखालु तर्कारी खुवाउँदो, स्वदेशी उद्दमीहरूलाई धरासायी पार्दो । यहाँका शासक/मन्त्री/सांसदहरूले लसुन प्याजको आयातमा समेत व्यापारीसित कमिसन घिच्दा छन्; स्वदेशी उत्पादनलाई निरुत्साहित गर्दा छन् । रेमिटेन्सको लोभमा जनतालाई रोजगार नदिएर परदेश पठाउँदो । परदेशमा नेपालीको रुवावासी । स्वर्ग जस्तो जन्मभूमिलाई नरकमय तुल्याउँदो । भारतले नक्कली नैनीताल र सिद्धार्थनगरलाई सक्कली बनाएर डलर तान्दो छ । हाम्रोमा चैँ सक्कली राराताल र लुम्बिनीबाट फाइदा लिन नसक्दो छ । सभ्य र सभ्यताबारे थाहा छैन । अर्कोलाई अपमानित गर्नुमा आफ्नो पुरुषार्थ ठान्दो छ ।

संसदीय सुनुवाइ समितिले प्रहरी, न्यायमुर्ति, कर्मचारी र राजदूतहरूलाई दलीय/पथभ्रष्ट बनाउँदो छ ?! संवैधानिक निकायहरू अपाहिजिएका छन् । उतिबेला सर्वोच्च अड्डाले प्रधानमन्त्रीलाई समेत (गिरिजाप्रसादलाई टनकपुरको मुद्दामा हराएको) काबुमा राख्ने सामथ्र्य राख्थ्यो । शक्ति पृथकीकरण मजबुत थियो । अहिले त आफ्नो स्वार्थमा आँच आउनेबित्तिकै प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने भनेर तर्साउँदा छन्- दलीय टाउकेहरू एकमेठ भएर ।

शेरबहादुरको सभापतित्वमा नेपाली काङ्ग्रेस टुस्सियो । आउँदो दश वर्षमा काङ्ग्रेसीको शीला खोज्नुपर्ने हुन्छ । कमिस्टे–काङग्रेसीको शासनमा नातावाद, कृपावाद, दण्डहीनता र कानुनी राज्यको अपमान बढेको तितो सत्य स्वीकारणीय छ । इसाई नेताहरूले इसाईकरण गरेको जगजाहेरै छ । स्वास्नीको शासन भयावह हुन्छ । लिङ्कनलाई बुथले नमारेको भए त्यसको केही वर्षभित्रै उनी भ्रष्ट राष्ट्रपति कहलिन्थे रे स्वास्नीको मेकअपको खर्चको कारणले – भन्छन् अमेरिकालीहरू । दलहरूले संसदीय व्यवस्था कायम राख्ने हो भने आफू सच्चिनुपर्छ; भ्रष्टाचार न्यूनीकरण गर्नुपर्छ र सुशासन अपनाउनुपर्छ, अन्यथा यसको विरुद्धमा कुनै दिन कुदेता भएमा अचम्म नमाने हुन्छ ।

अल्पबुद्धिकहरूको गिदीमा गोबर हुन्छ । नकारात्मकता बाहेक सकारात्मकता सोच्नै सकोइन । सज्जनको खोइरो काढ्दो, दुर्जनलाई सर्काउँदो । दुर्जनसित कुसङ्गत गर्दिनँ, सज्जनसित सत्सङ्ग गर्छु भन्न त पाउनुपर्ने हो क्यार, तर यहाँ त गंगा उल्टो बहन्छ क्यारे । नेता यति/उति वर्ष कारागार बसेँ, मेरो यथोचित मूल्याङ्कन भएन भनेर जिद्दी कस्छ । उहाँ भने ऊ मान्छे मारेर ज्यानमाराको सजाय भोगेको हुन्छ । तातो न छारोको गर्व गर्दोरहेछ । दलहरूको हविगत नि त्यस्तै हो । जहानियाँ शासनको विरुद्ध लडियो, पञ्चायती व्यवस्थाको विरुद्ध लडियो भन्छन् । आखिर के लछारपाटो लायो र ? जनता परिणाम खोज्दो छ, इतिहास मात्र बखानेर केही हुने छैन । भगवानले भ्रष्टहरू मासुन्- मेरो यही कामना । बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।