इतिहास
✍ सुनिल उलक

विश्वभर बच्चाहरूको प्यारो हुँदै आएको कतिपय कार्टुन फिल्मका निर्माता कम्पनी वाल्ट डिज्नी प्रोडक्सनले सन् २०१४ मा एउटा फिल्म बनाएको थियो- As dreamers do (स्वप्नदर्शीको रूपमा) । यस फिल्ममा वाल्ट डिज्नी प्रोडक्शनका स्वप्नदर्शी वाल्टर डिज्नीको जीवनी देखाइएको थियो । स्वप्नदर्शी सबैका सपना पूरा हुदैनन्, तर वाल्टरको सपना भने पूरा भएको थियो । उनको यो सपना साकार गर्न एक महिलाको ठूलो भूमिका थियो । सन् १९०१ मा जन्मेका वाल्टर डिज्नीको जीवनको महत्वपूर्ण महिला आण्टी मार्गरेथ वाल्टर थिइन् ।
वाल्टरका बुबाको नजिकका भाइ रवर्ट डिज्नीकी श्रीमती थिइन् मार्गरेथ । सधैं घरका भित्तामा चित्र कोरिरहने वाल्टरलाई पहिलोपटक आण्टी मार्गरेथले कापी र रङ्गीचङ्गी कलमहरू उपहारमा ल्याइदिइन् । यही कागजमा उनी विभिन्न चित्रहरू कोर्थे र म्यागी आण्टीलाई दिने गर्दथे । आण्टी सधैं उनलाई चित्र कोरिरहन प्रेरित गरिरहन्थिन् । सबैलाई सधै हँसाइरहने स्वभावकी आण्टी मार्गरेथले वाल्टरको जीवनलाई पनि अति खुशी बनाइदिएकी थिइन् । यसरी विभिन्न चित्र कागजमा कोरिरहने वाल्टरले एक दिन आफ्नो छिमेकी डाक्टर शेरवुडको घोडा रुपर्टको तस्बिर कोर्दा अंकल शेरवुड अति नै खुशी भएर चित्रलाई आफ्नो घरको भित्तामा सजाउने भन्दै सो चित्रको मुल्य तिरे । आफ्नो कलाको पनि मुल्य पाउँदा उनि अति नै खुशी भए । उनको जीवनको त्यो पहिलो कमाइ थियो । उनले थाहा पाए- आफूले कोर्ने चित्र पनि बिक्दोरहेछ । यही नै उनको जीवनको पहिलो सफलता थियो । यसरी उनलाई आफ्नो सपना साकार हुने आशा जागेको थियो ।
धेरै वर्षपछि फ्रान्सको यात्राबाट फर्केपछि वाल्टरले कलाकारिताको जागिर पाए । एउटा विज्ञापन कम्पनीमा चित्र कोरेबापत उनलाई मासिक ५० डलर दिइने भयो । यति खुशी भए कि यो खुशीको समाचार सबैभन्दा पहिले उनको आण्टी मार्गरेथलाई सुनाउन आतुर भए । हतार-हतार आण्टीलाई भेट्न पुगे, उनि चिच्याउँदै आण्टीको कोठातर्फ दौडिए, र भने- ‘आण्टी, तिनीहरूले मलाई चित्र कोरेबापत पैसा दिने भनेको छ, आण्टी तिनीहरूले मलाई चित्र कोरेबापत पैसा दिने भनेको छ !’ तर कोठामा सन्नाटा छाएको थियो । कोठाको खाटमा आण्टी सुतिरहेकी थिइन् । निकै कमजोर र बिरामी आण्टीले उसको कुनै पनि आवाज सुन्न सक्दिनथिन् । तथापि, बन्द आँखाबीच पनि शायद आण्टीले आफ्नो भतिजाको आवाज थाहा पाइन् । बिस्तारै हातले इसारा गरेर नजिक बोलाएजस्तो लाग्यो वाल्टरलाई । नजिक गएर एकैछिन बसे । उनको सपनाको एक प्रेरणा जसलाई खुशीको समाचार सुनाउन आतुर हुँदा सुनिदिने कान र खुशीले अट्टहास गर्ने आण्टी असक्त थिइन् । यसको केही दिनपछि आण्टीको न्यूमोनियाको कारणले देहान्त भयो ।
सपनाको यात्रामा लागिरहेका वाल्टरले २८ वर्षको उमेरमा मिकी माउसको सिर्जना गरेका थिए । मिकी माउस पनि नोभेम्बर १२, १९२८ मा १०० वर्ष पुग्दैछ । यसरी आफ्नो सपनाको यात्रामा लाग्दै अन्ततः उनले आफ्नो ठूलो सपना ‘डिज्नीलैण्ड’ बनाए । वि.सं. २०१२ को साउन २ (१९५५ जुलाई १७) मा डिज्नीलैण्डको उद्घाटन भब्य रूपमा गरिएको थियो । उनको एउटा सपना पूरा भएपछि अमेरिका भ्रमणमा आउने हरेक राजा, राष्ट्रपति वा उच्चपदस्थ अधिकारीहरूलाई वाल्ट डिज्नी आफै सहभागी भएर आफ्नो डिज्नीलैण्ड घुमाउँथे । सबै विशिष्टहरूलाई घुमाउने वाल्टरले कुनै विशिष्ट पाहुनालाई चाहिँ घुमाउन अस्विकार पनि गरेका थिए ।
सोवियत संघका राष्ट्रपति निकिता ख्रुश्चेभको १९ सेप्टेम्बर १९५९ मा भएको अमेरिका भ्रमणको समय ख्रुश्चेभ आफैले डिज्नीलैण्ड घुम्ने चाहना राखेका थिए, तर उनले चाहना राख्दाराख्दै पनि वाल्ट डिज्नीले घुम्ने अनुमति नै दिएनन् । यसबाट ख्रुश्चेभ निकै रुष्ट भएका थिए ।
यस घटनाको ९ महिनापछि नेपालका राजा महेन्द्र लामो छुट्टी मनाउन अमेरिका पुगेका थिए । मेक्सिको र क्यानाडासहित उत्तर अमेरिकाको २०१७ बैशाख १३ गते देखि जेठ १९ सम्म करिव ३८ दिनको भ्रमणमा थिए । यस बीच जेठ ३ देखि ५ सम्म मेक्सिको तथा जेठ १२ देखि १५ सम्म क्यानाडा भ्रमणमा रहेका थिए । बाँकी समय अमेरिकाकै विभिन्न राज्यको भ्रमण राजा महेन्द्रले गरेका थिए । नेपालमा प्रजातान्त्रिक सरकारको गठन भएको हुँदा विश्व राजनीतिको अध्ययनको लागि राजा महेन्द्र निकै फुर्सदिला थिए ।
अमेरिका भ्रमणको अवसरमा राजा महेन्द्रलाई पनि वाल्ट डिज्नीले आफ्नो डिज्नीलैण्ड घुम्न निम्तो दिएका थिए । राजा महेन्द्र र रानी रत्न लस एन्जेल्स पुगेदेखि नै वाल्टर साथमा थिए । राजा महेन्द्र, रानी रत्नको साथ डिज्नीलैण्ड पुग्दा वाल्टर तथा लिलियन डिज्नीले राजा महेन्द्रलाई सम्पूर्ण डिज्नीलैण्डको अवलोकन गराएका थिए । त्यसै अवसरमा खिचिएको प्रस्तुत तस्बिरमा राजा महेन्द्र, रानी रत्न, वाल्टर तथा लिलियनलाई देख्न सकिन्छ ।
वाल्टरको सपना त्यहीँ रोकिएन । सपनाले विशाल स्वरुप लिँदै गयो । आज विश्वका प्रमुख ६ शहरमा डिज्नीलैण्डले बच्चा बुढा सबैलाई मनोरञ्जन दिइरहेको छ । साथै वाल्ट डिज्नी कम्पनीले सयौँ फिल्महरू पनि बनाइसकेको छ ।
केवल २२ वर्षको उमेरमा वाल्टरले आफ्ना दाजु रोयसँग मिलेर स्थापना गरेको डिज्नी ब्रडर्स कार्टुन स्टुडियो आज विशाल वाल्ट डिज्नी कम्पनी भइसकेको छ । यसरी ठूलो सपना साकार गर्ने वाल्टरले उमेर भने लामो पाएनन् । केवल ६५ वर्षको उमेरमा फोक्सोको क्यान्सरका कारण वि.सं. २०२३ मंसिर ३० (१९६६ डिसेम्वर १५) मा वाल्टरको देहावसान भयो ।
यति विशाल सपना साकार गर्ने वाल्ट डिज्नीको कूल पुँजी अहिले १६३ अर्ब डलर पुगेको छ । जबकि सन् २०२१ मा ३४७ अर्ब डलरसम्म पुगेको थियो । डिज्नी कम्पनीसँग अहिले डिज्नी इन्टर्टेन्मेन्ट (जसले चलचित्र निर्माण र वितरण गर्छ), टेलिभिजन च्यानल इएसपिएन (जसले खेलकुदसम्बन्धी कार्यक्रमहरू टेलिभिजनमा प्रसारण गर्दछ) तथा डिज्नी पार्क (विश्वको पाँच प्रमुख स्थानमा रहेको डिज्नील्याण्ड) रहेको छ ।
प्रतिक्रिया